४ वैशाख २०८१ मंगलबार
राजनीति

‘पार्टी एकीकरण छिट्टै’

 काठमाडौं – नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूले निकट भविश्यमै पार्टी एकता हुने बताएका छन् । दुवै दलका सांसदलाई संसद् भवन नयाँ बानेश्वरमा शनिबार संयुक्त प्रशिक्षण दिँदै शीर्ष नेताहरूले पार्टी एकता र मुलुकको आर्थिक समृद्धिका पक्षमा लाग्न सांसदहरूलाई निर्देशन दिएका हुन्।

सुशासन, विकास, समृद्धि र स्थिरताका लागि नयाँ युगतर्फको यात्रामा सामेल हुन आफ्ना सांसदलाई उनीहरूले निर्देशन दिएका छन् । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सांसदलाई सरुवा÷बढुवाको फाइल बोकेर नहिँड्न आग्रह गर्दै आर्थिक विकास र सुशासनमा केन्द्रित हुन निर्देशन दिए। 

‘सरुवा बढुवाका फाइल बोकेर हिँड्ने सांसदको काम होइन,’ ओलीलाई उद्धृत गर्दै सांसद सूर्य पाठकले भने, ‘तपाईंहरू जनताका विकास निर्माणका फाइल बोकेर आउनुहोस्।’   

‘सरुवा बढुवाका फाइल बोकेर हिँड्ने सांसदको काम होइन । तपाईंहरू जनताका विकास निर्माणका फाइल बोकेर आउनुहोस् । अब हामीले अल्पविकसित हुने अवस्थाबाट मुलुकलाई माथि उठाउन दृढ मनोबलका साथ काम गर्नुपर्छ।’ 

एमाले र माओवादीबीच पार्टी एकता हुने कुरामा आशंका नगर्न निर्देशन दिँदै ओलीले छिट्टै दुई दलबीच एकता प्रक्रिया टुंगो लाग्ने धारणा राखेका थिए । पार्टी एकताबिरुद्ध हुने कुनै गतिविधि र धारणा नराख्नसमेत सांसदहरूलाई निर्देशन दिँदै ओलीले भने, ‘दुवै पार्टी एकता हुने अन्तिम बिन्दुमा पुगेको छ । जनतालाई शक्तिशाली र एकताबद्ध बनाई विकासका काम अघि बढाउन दुई पार्टी एकता गर्न लागिएको हो।’

आर्थिक विकास र प्रशस्त सम्भावना भएर पनि मुलुक गरिबी र पछौटेपनबाट आक्रान्त रहेको जनाउँदै ओलीले भने, ‘अब हामीले अल्पविकसित हुने अवस्थाबाट मुलुकलाई माथि उठाउन दृढ मनोबलका साथ काम गर्नुपर्छ।’ 

औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने जनाउँदै ओलीले त्यसमा अनावश्यक झमेला र बहस आवश्यक नरहेको धारणा राखेका थिए।

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले र माओवादी प्राविधिकरूपमा दुई पार्टी रहे पनि आगामी दुई महिनाभित्र एकता प्रक्रिया टुंगोमा पुग्ने दाबी गरे  । एउटै थालमा खाइसकेको र एउटै खाटमा सुतेको चर्चा गर्दै दाहालले भने, ‘प्राविधिकरूपमा दुईवटा देखिए पनि त्यसको छिट्टै अन्त्य हुन्छ । एकीकृत पार्टीका लागि सबै तयार हुनुस्।’

दुई फरकफरक पार्टीको एउटै साझा घोषणापत्र र उम्मेदवार दिएर जनतालाई एकताबद्ध गर्न सकेको तर्क गर्दै दाहालले राष्ट्रिय पुँजीको विकास गर्दै वैज्ञानिक समाजवादको यात्रामा मुलुकलाई अघि बढाउने बताए । जनताको सेवक बन्ने संकल्प गर्न सांसदलाई निर्देशन दिँदै दाहालले भने, ‘हिजोका तीतो अनुभवलाई बदल्दै जनताको मालिक होइन, सेवक बन्ने अठोट लिनुपर्दछ।’

सुशासन र समृद्धिको देशमा खडेरी लागेको सुनाउँदै दाहालले भने, ‘यसका लागि गहिरो संकल्प र दृढताका साथ नयाँ ढंगले अघि बढनु जरुरी छ ।’ वाम गठबन्धन नयाँ समाज बनाउने वैज्ञानिक भएको बताँउदै दाहालले दुई दल मिल्दा देश सय वर्ष अगाडि पुग्ने धारणा राखे।  

कार्यक्रममा संविधानसभाका तत्कालीन सभाध्यक्ष तथा एमाले नेता सुवाचन्द्र नेम्बाङसहितले प्रशिक्षण दिएका थिए। संघीय संसद्को गरिमा जोगाउन र जनताको पक्षमा उभिन आफ्ना सांसदहरूलाई आग्रह गरेका थिए। 

अदालतले हस्तक्षेप गर्‍यो 
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यको मनोनयनमा सर्वोच्च अदालतले सरकारको काममा हस्तक्षेप गरेको आरोप लगाएका छन् । एमाले र माओवादी सांसदहरूको संयुक्त प्रशिक्षणलाई सम्बोधन गर्दै एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सरकारले नियुक्त गरेका राष्ट्रियसभा सदस्यलाई रोक्ने अदालतको काम लोकतान्त्रिक नभएको जिकिर गरेका हुन्। 

‘सरकारले सिफारिस गर्‍यो, राष्ट्रपतिले संविधानसम्वत ढंगले मनोनित गर्नुभयो,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै सहभागी एक सांसदले भने, ‘यसमा अदालतले किन इन्टरटेन्मेन्ट गर्नुपर्‍यो ? यो अदालतले निर्णय गर्नुपर्ने विषय नै होइन ।’
सरकारलाई निर्णय गर्ने र त्यसलाई सच्च्याउने अधिकार भएको उनले तर्क गरे । ‘सरकारले निर्णय गर्छ, स्थगित पनि गर्नसक्छ । त्यसलाई सच्च्याउन पनि सक्छ । यो कार्यपालिकाको अधिकारक्षेत्र भित्रका कुरा हुन्,’ उनले भने ।  

प्रकाशित: २० फाल्गुन २०७४ ०३:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App