६ वैशाख २०८१ बिहीबार
राजनीति

राजपाले भन्यो : फोरमको एकल सम्झौता मान्य हुँदैन

काठमाडौं – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान संशोधनका लागि संघीय समाजवादी फोरमले वाम गठबन्धनसँग गर्न लागेको एकल सम्झौता मधेसलाई मान्य नहुने बताएको छ।

नेकपा एमाले र माओवादी केन्द्रबाट सरकारमा सहभागिताका लागि प्रस्ताव आएपछि फोरमले संविधान संशोधनको शर्त अघि सारेको छ। संशोधनको शर्तमा वाम गठबन्धन सकारात्मक भएर सरकारमा सहभागिता तथा संशोधनबारे वार्ता अघि बढिरहँदा राजपाले भने मान्य नहुने प्रतिक्रिया दिएको हो।

फोरम र वाम गठबन्धन नेतृत्वको सरकारबीच वार्ता चल्दै गर्दा राजपाका संयोजक महन्थ ठाकुरले बुधबार एक विज्ञप्ति जारी गर्दै मधेसी, दलित, थारु, जनजाति लगायत पिछडा वर्गको प्रतिनिधित्व हुनेगरी संशोधनको सुनिश्चितता हुनुपर्ने माग गरेका थिए। उनले फोरमको नाम नलिई दुई पक्षबीच भइरहेको वार्ताको सांकेतिक विरोध जनाउँदै वार्तामा आफूहरुलाई पनि सहभागी गराउनुपर्नेमा जोड दिएका छन्।

पार्टीका अध्यक्ष ठाकुरले विरोध जनाएलगत्तै राजपाका नेताहरु फोरमले सरकारसँग गरिरहेको वार्ताको सार्वजनिक रुपमै विरोध गरिरहेका छन्। उनीहरुले आफूहरुको सहभागिता हुनुपर्ने अभिव्यक्ति दिइरहेका छन्।

यसैक्रममा शुक्रबार राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो निकट मानिने नेता मनीष सुमनले रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा फोरमको एकल सम्झौता स्वीकार्य नहुने बताए। ‘हामी पनि मधेसको शक्ति हो, हामीसँग कुनै वार्ता गरिएको छैन्। फोरमले गरेको सम्झौता मान्य हुन्छ भन्ने छैन्’, उनले भने– ‘यद्यपी उपेन्द्र यादवजी मधेसको विद्धान नेता हुनुहुन्छ, उहाँले सुझबुझका सम्झौता गर्नुपर्छ भन्ने हाम्रो सुझाव हो।’  उनले अहिले पनि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली मधेस पस्न सक्ने अवस्था नरहेको भन्दै पुरै सेक्युरिटी लगाएर गएपनि दुर्घटना हुनसक्ने चेतावनी दिए। ‘फोरमसँग सम्झौता गरेर झुक्याएर मधेस झरौला भन्ने सोच्नुभएको छ भने त्यो दिवा सपना मात्रै हो’, सुमनले भने।

फोरमका महासचिव रामसाहे प्रसाद यादवले संविधान संशोधनको सुनिश्चितता  भएमात्रै सरकारमा सहभागी हुने स्पष्ट पारे। ‘मधेसी, दलित, जनजाति, थारु, उत्पीडित र पिछडिएका समुदायको हकअधिकार सुनिश्चित हुनेगरी संविधान संशोधनको वातावरण बनेमात्रै सरकारमा सहभागी हुने हो, कुनै दलले आपत्ति जनाउने र नमान्ने भन्ने छैन’, उनले भने।

नेकपा एमालेका नेता रवीन्द्र अधिकारीले संविधान संशोधनको कुरा आपसी सहमतिबाट टुंगो लगाइने बताए। ‘संशोधन गर्नुहुँदैन भन्ने पक्षमा हामी छैनौं, जायज मुद्दामा आपसी सहमतिबाट संविधानमा परिमार्जन गर्न सकिन्छ’, उनले भने। नेता अधिकारीले फोरम र राजपा दुबै दललाई सरकारमा सहभागी गराउनेगरी वार्ता भइरहेको दाबी गरे। ‘हामी दुबै दललाई सरकारमा ल्याउने कसरतमा छौं, राजपासँग पनि अनौपचारिक कुराकानी भइरहेको छ।’

फोरमसँगको वार्ता अन्तिम चरणमा रहेको भन्दै उनले आगामी सोमबार मन्त्रिपरिषद विस्तार हुने जानकारी दिए।

प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा राजपा र संघीय समाजवादी फोरमले प्रदश नम्बर दुईमा चुनावी सहकार्य गरेका थिए। उनीहरुको गठवन्धनले नै २ नम्बर प्रदेशमा सरकार बनाएको छ। प्रदेश सरकारमा दुई पार्टीले पद बाँटफाँट गरेका थिए।

प्रकाशित: १८ फाल्गुन २०७४ ०८:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App