coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेस केन्द्रीय समितिमा जोशीको प्रश्न : जनतालाई जवाफ दिनु पर्दैन ?

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले केन्द्रीय समितिमा नयाँ प्रस्ताव पेश गरेका छन्। जोशीले ‘सशक्त विचार र सुदृढ संगठन निर्माण अभियान’ भन्दै लिखित प्रस्ताव पेश गरेका हुन्।

उनले युवा केन्द्रीय सदस्यहरुले चलाएको पार्टी सुदृढिकरण अभियानलाई केन्द्रीय समितिको एजेण्डा बनाउनु पर्ने माग गर्दै लिखितरुपमा प्रस्ताव पेश गरेका हुन्।

‘नेपालको मूल राजनैतिक आन्दोलनहरुको मियो, संघीय, गणतान्त्रिक संविधान निर्माणमा स्पष्ट नेतृत्व,  र संविधानतः स्थानीय, प्रादेशिक तथा संघीय निर्वाचन जिम्मेवारीपूर्वक गराउने नेपाली कांग्रेसलाई जनताले सरकारमा पुग्न चाहिने यथेष्ट समर्थन किन दिएनन्? वाम गठबन्धनका कारण हामी हारेका हौं भन्ने जवाफ सजिलो होला तर त्यो मात्रै सम्पूर्ण आधार होइन,’ जोशीको प्रस्तावमा भनिएको छ।

वर्तमान परिस्थितीमा जनताले नेपाली कांग्रेसलाई प्रतिपक्षमा बसेर अग्नी परीक्षाबाट गुज्रिनका लागि अभिमत व्यक्त गरेको उनको प्रस्तावमा उल्लेख छ। यो अग्नि परीक्षामा सफल हुन नसके नेपाली कांग्रेसको आदर्श अनुरुपको देशको भविष्य बनाउन निकै लामो समय लाग्ने संभावना देखिएको उनले बताएका छन्।  

सुदृढिकरण अभियानको लागि भन्दै जोशीले केही दिन अघि युवा केन्द्रीय सदस्यको भेला समेत बोलाएका थिए। भेलामा उनले गतिशील प्रतिस्पर्धी पार्टी र सक्षम नेतृत्व, विधानको सर्वोपरिता र समयोचित संशोधन, गाडिको बाटो भन्दै तीन भागमा छलफल हुनु पर्ने बताएका थिए।

अख्तियार प्रमुख, प्रधान न्यायाधीश, राजदूत नियुक्ती जस्ता विषयहरुमा जनता समक्ष स्पष्ट रुपमा प्रस्तुत हुन नसक्नु, विपक्षहरुको रणनीतिलाई पहिचान गरेर चिन्न नसक्नु, विपक्षहरुका भ्रम र मिथ्याहरुको डटेर सामना गर्न नसक्नु, पार्टीका सबै साथीहरुलाई समेटेर पूर्णतया निर्वाचनमा होमिने उत्साह दिन नसक्नु जस्ता कमि कमजोरी नेतृत्व तहको रहेको जोशीले बताएका छन्।

संघीय तथा प्रदेश स्तरमा छाया सरकार तथा स्थानीय तहमा न्यायपूर्ण शासन व्यवस्था र सूशासनको प्रत्याभूति गराउन निगरानी समूहको गठन गर्न माग गरिएको छ।

प्रकाशित: १३ फाल्गुन २०७४ १०:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App