१६ चैत्र २०८० शुक्रबार
राजनीति

माओवादीबाट को कति पटक मन्त्री बने ?

काठमाडौं- एमाले र माओवादीको सत्ता समिकरण छ। एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री छन्। दुवै पार्टीमा मन्त्रीहरुको लर्को छ। त्यही विवादले मन्त्रिपरिषद विस्तार हुन सकेको छैन। एमालेसँगको सहमतिअनुसार सात वटा मन्त्रालय माओवादीले आफ्नो भागमा पारेको छ। तर माओवादीमा चुनाव जितेका सिनियर नेता सबै मन्त्रीका दाबेदार छन्।

माओवादीमा सबैको प्रिय पद गृहमन्त्री बन्दा त्यसमा को जाने भन्ने विवाद कायमै छ। यही विवादले मन्त्रिपरिषद विस्तारमा समेत ढिलाइ भइरहेको छ। वरिष्ठ नेता रामबहादुर थापा र अर्का युवा नेता वर्षमान पुनले गृहमा दावी गरिरहेका छन्। थापा वैद्य माओवादीबाट मुल पार्टीमा फर्केका नेता हुन्।

माओवादीमा मन्त्री दावी गर्नेहरु कुनै न कुनै समयमा मन्त्री भएकैहरु धेरै छन् भने पहिलो पटक सांसद भएका र मन्त्री नभएकाहरु थोरै भएकाले दावी गर्ने नयाँ अनुहार पनि कमै छ।

सरकारको नेतृत्व गर्न लागेका रामबहादुर थापा यस अघि रक्षामन्त्री भइसकेका छन्। उनले उपप्रधान तथा गृहमन्त्रीको दावि गरेका छन्। थापा २०६४ को संविधानसभा निर्वाचनमा चितवनबाट निर्वाचित भएका थिए। उनकै जोडबलमा दाहाल सरकारले तत्कालीन प्रधानसेनापति रुकमाङगद कटवाललाई कारबाही गरेको थियो।जसका कारण माओवादीको सरकार ढल्यो। उनी राष्ट्रियसभाको अध्यक्ष हुने उद्देश्यका साथ राष्ट्रियसभामा निर्वाचित भएका थिए तर अहिले सरकारमा जान हतारिएका छन्।

कृष्णबहादुर महराले सरकारमा नजाने घोषणा गरेका छन्, तर माओवादीमा उनी सबैभन्दा धेरै पटक मन्त्री भईसकेका नेता हुन्। उनी सांसदसमेत पाँचपटक भईसकेका छन् । अन्तरिम सरकार, २०६५ को दाहाल नेतृत्वको सरकारमा सूचना तथा सञ्चार मन्त्री, २०६७ को झलनाथ खनाल नेतृत्वको सरकारमा उपप्रधानसहित सूचना तथा सञ्चारमन्त्री, खनाल नेतृत्वकै पुनर्गठित सरकारमा उपप्रधान तथा गृहमन्त्री, २०७३ को दाहाल नेतृत्वको सरकारमा उपप्रधान तथा अर्थमन्त्री र २०७४ को देउवा नेतृत्वको सरकारमा उनी उपप्रधान तथा परराष्ट्रमन्त्री बनेका थिए । उनी २०४८, २०६३ को अन्तरिम संसद, २०६४,२०७० र २०७४ मा लगातार सांसद छन् ।

वर्षमान पुनले माओवादीमा गृहमन्त्रीको दावी गरेका छन्। २०६४ को संविधानसभा निर्वाचनमा ललितपुरबाट विजयी पुन प्रतिनिधिसभा निर्वाचनमा रोल्पाबाट विजयी निर्वाचित बनेका हुन्। पुनल झलनाथ खनाल नेतृत्वको सरकारमा दुई महिना शान्ति तथा पुनःनिर्माणमन्त्री बने भने २०६८ मा डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका थिए। उनी ५ वर्ष यता सरकारमा पुगेका छैनन्। उनले ‘जनयुद्ध’ को समयमा फौजी तर राजनीतिक नेतृत्व गरेका थिए।

टोपबहादुर रायमाझीको मन्त्रीमा खुलेर दावी नरहेपनि अध्यक्ष दाहाललाई भेटेर सरकारमा जाने ईच्छा देखाएका छन्। उनी एक पटक उपप्रधानमन्त्री र चारपटक मन्त्री भएर शक्तिशाली मानिएका मन्त्रालय सम्हालिसकेका छन्। त्यसैगरी उनी अन्तरिम सांसदसहित चारपटक सभासद् बनिसकेका छन्। झलनाथ खनाल नेतृत्वको सरकारमा भौतिक योजना, २०६८ को बाबुराम भट्टराई नेतृत्वको सरकारमा स्थानीय विकास, २०६९ मा भट्टराई नेतृत्वको सरकार पुनर्गठन हुँदा शान्ति तथा पुनःनिर्माण र २०७२ को केपी ओली नेतृत्वको सरकारमा उपप्रधान तथा उर्जामन्त्री बने।

जनार्दन शर्मा लगातार दुईवटा सरकारको मन्त्री रहेका शर्माले पुनः गृहमन्त्रीको दावि गरेका छन्। उनी तीनपटक मन्त्री, चारपटक सांसद, एकपटक सचेतक र एकपटक लेखा समितिको सभापति बनिसकेका छन्। अन्तरिम संसदको सचेतक रहेका शर्मा २०६५ को दाहाल नेतृत्वको सरकारमा शान्ति तथा पुनःनिर्माण, २०७३ को दाहाल नेतृत्वको सरकारमा उर्जा र २०७४ को शेरबहादुर देउवा नेतृत्वको सरकारमा गृहमन्त्री बने।

देव गुरुङ सुरुमा मन्त्रीको दावि गरे पनि उनले सभामुखतिर आँखा लगाएका छन्। उनी तीनपटक सांसद, दुई पटक मन्त्री एकपटक दलको उपनेता र एकपटक प्रमुख सचेतक बनिसकेका छन्। गुरुङ २०६३ मा गिरिजाप्रसाद कोईराला नेतृत्वको अन्तरिम सरकारमा दलको उपनेतासहित स्थानीय विकासमन्त्री र २०६५ मा दाहाल नेतृत्वको सरकारमा कानून मन्त्री बने। २०६४ को निर्वाचनमा मनाङबाट विजयी उनी अहिले लम्जुङबाट विजयी बनेका हुन् । उनी पार्टी विभाजनको क्रममा वैद्य समूहमा लागेर बादल नेतृत्वमा एकतामा सहभागी भएका नेता हुन्।

पम्फा भुषाल मन्त्रीको दाबेदार हुन् । उनी तीनपटक मन्त्री र तीनपटक सांसद बनिसकेका छन्। २०६३ को गिरिजाप्रसाद कोइरुला नेतृत्वको अन्तरिम सरकारमा महिला बालबालिका तथा समाज कल्याण, २०६५ को दाहाल नेतृत्वको सरकारमा सामान्य प्रशासन र २०६८ मा शान्ति तथा पुनःनिर्माण मन्त्री बनिन्।

गिरिराजमणी पोखरेल अघिल्लो दुई सरकारमा लगातार मन्त्री भए र अहिले पाँचौ पटक मन्त्री बन्न दौडधुप गरिरहेका छन्। उनी चारपटक सांसद र चारपटक मन्त्री बनिसकेका छन्। २०६३ को गिरिजाप्रसाद नेतृत्वको सरकार, २०६५ को दाहाल नेतृत्वको सरकार र २०७४ को शेरबहादुर देउवा नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री बनेका पोखरेल २०७२ को केपी ओली नेतृत्वको सरकारमा शिक्षा मन्त्री बनेका थिए । उनी एकपटक प्रमुख सचेतकसमेत भईसकेका छन्।

शक्तिबहादुर बस्नेत दुईपटक मन्त्री र दुईपटक सांसद बनिसकेका छन् । उनी २०६५ मा दाहाल प्रधानमन्त्री बन्दा उनको प्रमुख स्वकीय सचिव थिए, जुनबेला अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको थियो । उनी २०६७ मा झलनाथ खनाल नेतृत्वको सरकारमा स्वास्थ्य, २०७२ को केपी ओली नेतृत्वको सरकारमा गृहमन्त्री बनेका थिए।

मातृका यादव मन्त्रीको मुख्य दाबेदार हुन् । उनी तीनपटक सांसद र एकपटक मन्त्री बनिसकेका छन् । २०६५ को दाहाल नेतृत्वको सरकारमा भूमिसुधार मन्त्री हुँदा उनले ललितपुरका स्थानीय विकास अधिकारीलाई शौचालयमा थुनेर विवादमा आएका थिए। उनी २०६७ मा माओवादी र एकता केन्द्र मशालबीच एकताभएपछि पार्टी परित्याग गरि अलग समूह सञ्चालन गरेका थिए। दुई वर्ष अघि एकतामा माओवादीमा आएका हुन्।

मधेसबाट मन्त्रीको दावी गरिरहेका प्रभु साह तीनपटक सांसद, तीनपटक मन्त्री र दुई पटक संसदीय समितिको सभापति बनिसकेका छन्। उनी २०६७ को झलनाथ खनाल नेतृत्वको सरकारमा कानून, २०६८ को बाबुराम भट्टराई नेतृत्वको सरकारमा भूमिसुधार र २०७४ को शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहरी विकास मन्त्री बने । उनी पटक पटक संसदीय समितिको सभापति भईसकेका छन्।

अग्नीप्रसाद सापकोटा मन्त्रीको दावेदार छन् । उनी तीनपटक सांसद, दुईपटक मन्त्री बनिसकेका छन्। उनी २०६७ को खनाल नेतृत्वको सरकारमा सूचना तथा सञ्चार, २०७२ को ओली नेतृत्व सरकारमा वन तथा भू–संरक्षण बनेका थिए।

हरिबोल गजुरेल मन्त्रीका अर्का दाबेदार हुन्। उनी दुईपटक सांसद र दुईपटक मन्त्री बनिसकेका छन् । २०७२ मा ओली नेतृत्वको सरकारमा कृषि विकासमन्त्री भएका गजुरेल २०६५ को दाहाल नेतृत्वको सरकारका बेला भूमिसुधार आयोगका अध्यक्ष थिए।

चक्रपाणी खनाल पहिलोपटक संसद बनेका नेता हुन् । उनी अहिलेसम्म मन्त्री बनेका छैनन् । माओवादीको प्रमुख नेताहरुमध्ये मन्त्री नबनेका दुई/तीन जना नेतामध्यमा उनी पर्छन् । यद्यपी उनी २०७३ को दाहाल सरकारमा प्रधानमन्त्रीको प्रमुख सल्लाहाकार बनेका थिए।

देवेन्द्र पौडेल पनि खनाल जस्तै पहिलोपटक सांसद बनेका नेता हुन् र उनी पनि अहिलेसम्म मन्त्री बनेका छैनन्। उनी २०६८ को बाबुराम भट्टराई नेतृत्वको सरकारमा प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहाकार थिए। मन्त्री नबनेका माओवादीका कम नेता मध्ये उनी पनि पर्छन्।

जयपुरी घर्तीमगर तेस्रोपटक सांसद बनेकी हुन्। यसअघि अन्तरिम व्यवस्थापिका सांसद, २०६४ मा रोल्पाबाट सभासद बनिसकेकी घर्ती समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनेकी हुन्। उनी झलनाथ खनालको सरकार पुनर्गठनको क्रममा छोटो समय महिला बालबालिका तथा समाज कल्याण मन्त्री बनेकी थिईन् । माओवादी विभाजनको क्रममा वैद्य समूहमा लागेकी घर्ती केहीं समय स्वतन्त्र हुँदै माओवादीहरुको एकता प्रक्रियामा सामेल बनेकी थिईन् । उनी जनयुद्धमा श्रीमान् गुमाउने माओवादीकी उच्च तहकी नेतृत्व हुन्।

 

प्रकाशित: १२ फाल्गुन २०७४ ०८:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App