८ वैशाख २०८१ शनिबार
राजनीति

देशकै आदर्श मुख्यमन्त्री बन्ने पौडेलको दाबी

मकवानपुर – प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले देशकै पहिलो मात्र नभई नमुना र आदर्श मुख्यमन्त्री बनेर सेवा गर्ने बताएका छन् । प्रदेश र जनताको विकास र आर्थिक उन्नतिका लागि जोखिमपूर्ण र अनुकरणीय काम गर्न पछि नहट्ने उनले बताए।

मदन भण्डारी फाउण्डेसन मकवानपुरले बिहीबार हेटौंडामा गरेको स्वागत तथा सम्मान कार्यक्रममा संघीयता नेपालकै लागि नयाँ प्रणाली भएकाले प्रशस्त सम्भावनासँगै समस्या धेरै रहेको बताए । ‘मलाई अत्यन्तै ठूलो जिम्मेवारी सुम्पिनु भएको छ,’ उनले भने, ‘यत्ति ठूलो भारीलाई ठीक ढंगबाट ठीक ठाउँमा पुर्‍याएर सहजताका साथ बिसाउने छु।’ आम नेपाली जनता र देशले आफ्नो कामलाई हेरिरहेको भन्दै उनले जनताको भरोसा, विश्वासलाई कुनै पनि हालतमा टुट्न नदिने उनले दाबी गरे।
चुनौतीका ठूला पहाड रहे पनि सम्भावना र अवसर प्रशस्तै रहेको भन्दै त्यसको समाधान खोज्दै समृद्ध प्रदेश बनाउन कुनै कसर बाँकी नराख्ने उनको भनाइ थियो । समृद्ध नेपाल र प्रदेश निर्माण र नेपालीको मुहारमा हाँसो ल्याउन सबैको साथ र सहयोग अति आवश्यक रहेको उनले बताए।

‘प्रदेश राजधानीका लागि भौतिक संरचना, ऐन कानुन, जनशक्तिको अभाव छ, अझै ९० प्रतिशत कर्मचारी प्रदेश राजधानी आएका छैनन्,’ उनले थपे, ‘समस्या, अभाव विस्तारै हल हुँदै जानेछन्, ऐन कानुन बनाउने छौं अनि विकासमा केन्द्रित हुनेछौं।’

केही महिनामै आफ्नो र पार्टीको प्रतिबद्धता अनुसार प्रदेशमा विकास, निर्माण, सुशासन दिने भन्दै उनले जनतालाई केही समय धैर्यधारण गर्न अनुरोध पनि गरे । उनले मकवानपुरले गृहमन्त्री र राजधानी पाएकाले जिल्लाको लागि गर्वको विषय रहेको भन्दै सबै सरोकारवालाबाट सहयोग र समन्वयका लागि आग्रह गरे । जननेता मदन भण्डारीको योगदानलाई स्मरण गर्दै मदन भण्डारी फाउण्डेसनका केन्द्रीय सदस्यसमेत रहेका मुख्यमन्त्री पौडेलले नेता भण्डारीले देशलाई दिशानिर्देश गरेकाले कहिल्यै भुल्न नसकिने बताए।

मदन भण्डारी फाउण्डेसन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रियसभा सांसद रामचन्द्र राई, प्रदेशसभा सांसद प्रेमबहादुर पुलामी, मुनु सिग्देल, ओम घलान लगायतलाई सम्मानपत्र प्रदान गरिएको थियो।

प्रकाशित: ११ फाल्गुन २०७४ ०२:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App