१६ चैत्र २०८० शुक्रबार
राजनीति

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं– नेपाली कांग्रेसले संसदीय दलको विधान र दलको नेता छनोटका लागि राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्यहरुको संयुक्त बैठक बोलाएको छ।

संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बिहान ९ बजे बस्ने बैठकले कांग्रेस दलको नेता छनोट प्रक्रिया अघि बढाउनेछ । त्यसअघि कांग्रेसले बिहीबारका लागि कार्यसम्पादन समितिको बैठक बोलाएको थियो । कांग्रेसले संसदीय दलको विधान र दलको नेता छनोट प्रक्रिया अघि बढाउन बोलाएको कार्यसम्पादन समिति बैठक स्थगित गर्दै संयुक्त बैठक बोलाएको हो। 

दलको नेता छनोट प्रक्रियाअघि बढाउनुअघि नै संसदीय दलको विधानमा कांग्रेसले आवश्यक सुधार गर्नेछ। नयाँ संविधानको व्यवस्थाअनुसार कांग्रेसले पार्टी संसदीय दलको विधानलाई परिमार्जनका लागि सदस्यहरूको राय लिनेछन्। 
‘समितिले नै विधानमा सुधार गर्ने वा कार्यदल बनाएर त्यसले दिने सुझावका आधारमा अघि बढ्न सक्छ,’ एक नेताले भने, ‘त्यससँगै बैठकले दलको नेता छनोटमा निर्वाचन समिति गठन गर्न पनि सक्नेछ।’

निर्वाचन समितिले दलको नेता छनोटको कार्यतालिका तयार गर्नेछ । प्रतिनिधिसभा सदस्यको शपथपछि मात्र कांग्रेसले संसदीय दलको नेता छनोट गर्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए पनि पार्टीले त्यसअघि नै नेता छनोटमा सक्रियता देखाएको हो।

संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह आकांक्षी देखिएका छन्। 

सभापति देउवा पक्षको स्पष्ट बहुमत देखिएको संसदीय दलमा महामन्त्री कोइरालाले सर्वसहमति भएमात्र आफू दलको नेता बन्ने घोषणा गरेका छन् । तर, पूर्वमहामन्त्री सिंह भने सभापतिविरोधी धारको नेतृत्व गर्दै दलको नेतामा प्रतिस्पर्धा गर्ने पक्षमा छन्।

३३४ सदस्यीय संघीय संसद् (प्रतिनिधिसभा २७५ सदस्यीय र राष्ट्रियसभा ५९ सदस्यीय) मा कांग्रेसका ७६ सदस्य छन्।  जसमा सभापति देउवा पक्षका ४२, नेता रामचन्द्र पौडेल निकट ३० र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहका ४ सांसद छन्। 

‘फागुन २१ गतेअघि नै पार्टी संसदीय दलको नेता छनोट गर्ने सम्भावना छ,’ एक नेताले भने, ‘त्यसको टुंगो पनि कार्यसम्पादन समितिले लगाउनेछ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को बैठक फागुन २१ गतेका लागि आह्वान गरेकी छन्। 
यसैबीच, नेता रामचन्द्र पौडेल पक्षको बुधबार महाराजगन्जमा भएको भेलाले तत्काल केन्द्रीय समिति बैठक बोलाउन सभापतिसँग आग्रह गरेको छ। सत्ता हस्तान्तरणपछि निर्वाचन समीक्षाका लागि केन्द्रीय समिति बैठक बोलाउने पूर्वसहमतिविपरीत कार्यसम्पादन समिति बैठक बोलाएकोमा असन्तुष्टि जनाउँदै पौडेलले सभापति देउवालाई टेलिफोन गरी बैठक स्थगित गर्न आग्रह गरेका थिए। पौडेलको आग्रहपछि देउवाले बिहीबारका लागि बोलाएको कार्यसम्पादन समिति बैठक स्थगित गरेको स्रोतको दाबी छ। 

प्रकाशित: १० फाल्गुन २०७४ ०१:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App