७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रदेश सरकारसँग सहकार्य गर्न अष्ट्रेलिया आतुर

मुख्यमन्त्री पौडेल र अष्ट्रेलियन राजदूत मन्त्रिपरिषद कार्यालयमा । तस्बिर : नागरिक

मकवानपुर – प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल र नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडबीच भेटवार्ता भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेटौंडामा बुधबार बिहान भएको भेटमा अष्ट्रेलिया र नेपालको प्रदेश नम्बर ३ बिच सहकार्य र आपसी सहयोगको विषयमा छलफल भएको थियो।

शिक्षा, स्वास्थ्य र जिविकोपार्जनमा प्रदेश कसरी अघि बढ्न सकिन्छ र अष्ट्रेलियाले गर्ने सहयोगका बिषयमा भेटघाट केन्द्रित रहेको मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले बताए। उनका अनुसार उद्यमशिलता बिकास गर्दै बैदेशिक रोजगारीमा जाने संख्या घटाउँदै नेपालमै युवा शक्तिलाई बस्ने वातावरण विकास गर्न सहयोगका लागि मुख्यमन्त्री पौडेलले आग्रह गरेका थिए। अष्ट्रेलियामा जस्तै नेपालमा प्राबिधिक शिक्षालयहरु सञ्चालन गरि सीप र दक्षता बिकास गर्दै आर्थिक विकास र समृद्धी हासिल गर्न अष्ट्रेलियासँग समन्वयका लागि केन्द्रीय सरकारको निर्णय अनुसार तयार रहेको मुख्यमन्त्री पौडेलले बताएका थिए।

नेपाली विद्यार्थीहरुको पहिलो रोजाई बनेको अष्ट्रेलियामा विद्यार्थीको भिड रोक्दै नेपालमै लगानी गर्न अष्ट्रेलिया र नेपालको बिच सहकार्य आवश्यक भएको उनको भनाई थियो। भेटमा अष्ट्रेलियन राजदूत बडले नेपाल संघीयता कार्यान्वयनमा गएकोमा बधाई तथा शुभकामना दिदै नयाँ संघीय सरकार र प्रदेश सरकारसँग शिक्षा, स्वास्थ्य सहित महत्वपूर्ण क्षेत्रमा सहकार्य र सहयोग गर्न अष्ट्रेलिया आतुर रहेको बताए। मुख्यमन्त्री पौडेलले अष्ट्रेलियाले नेपाललाई हालसम्म गरेको सहयोगको प्रशंसा गर्दै धन्यबाद व्यक्त गरि सहयोग निरन्तरताका लागि अनुरोध गरेका थिए। 

भेटमा प्रदेश नम्बर ३ का प्रमुख सचिव रेश्मिराज पाण्डेको पनि सहभागिता रहेको थियो। नेपालकै पहिलो मुख्यमन्त्री भएकोमा पौडेललाई बधाई तथा शुभकामना दिदै अष्ट्रेलियन राजदूत बडले करिब आधा घण्टा छलफल गरेको मुख्यमन्त्रीका स्वकीय सचिव पौडेलले जानकारी दिए। 

प्रकाशित: ९ फाल्गुन २०७४ १०:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App