८ वैशाख २०८१ शनिबार
राजनीति

दोलखाबाट १० जना सांसद, कांग्रेसका दुई

दोलखा- गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा देशभरीमै सबै भन्दा फराकिलो मतान्तरको रेकर्ड राखेर दोलखामा लज्जाजनक हार व्यहोरेको कांग्रेस निल हुनबाट भने जोगिएको छ।

प्रतिनिधि सभा र प्रदेश सभामा प्रत्यक्ष तर्फको निर्वाचनमा ठूलो अन्तर राखेर पराजय व्यहोरेका कारण जिल्लाबाट प्रतिनिधित्व शुन्य बनेको कांग्रेसका तर्फबाट समानुपातिक प्रणाली तर्फ भने दुई जना सांसदले प्रतिनिधित्व गर्न पाएका छन्।

कांग्रेसले पूर्व केन्द्रिय सदस्य एवं नेता जिपछिरिङ लामालाई जनजाती कोटाबाट प्रतिनिधि सभामा समानुपातिक सांसद बनाएको छ । जिल्लाको जिरी नगरपालिका १ श्यामा गाउँका लामा पार्टीका पूर्व केन्द्रिय सदस्य एवं २०६४ को संविधान सभामा सभासद थिए। यस्तै दोलखा मुलघर भएका दिव्यमणी राजभण्डारी समेत कांग्रेसबाट समानुपातिक सांसद बनेका छन्। काठमाडौं ४ बाट प्रतिनिधित्व गरेपनि उनको जन्मस्थान भीमेश्वर नगरपालिका २ दोलखा बजार हो। राजभण्डारीलाई चुनाव अघि जिल्ला कांग्रेसले समेत समानुपातिक कोटाका लागि सिफारिस गरेको थियो। उनी दोलखा कांग्रेसबाट प्रतिनिधित्व गर्दै दुई पटक महाधिवेशन प्रतिनिधि समेत बनेका थिए। राजनीतिकसगैं दुवै नेता व्यापारिक पृष्ठभुमीका हुन्।

कम्युनिष्ट प्रभाव रहेको दोलखामा सांगठनिक रुपले कांग्रेसको उपस्थिती कमजोर छ। १५ साल यताका चुनावहरुमा दुई पटक बाहेक प्राय पराजय ब्यहार्दै आएको छ। दोलखा कांग्रेसका पुराना नेता एवं पार्टीका पूर्व जिल्ला सभापति देवी न्यौपानेका अनुसार तत्कालिन सभापति विपी कोईरालाले २०१५ सालमा राष्ट्रिय प्रजा परिषदबाट सुरी गाउँका गृह बहादुर बस्नेतलाई चुनाव अघि कांग्रेस भित्र्याएर टिकट दिई विजयी गराएका थिए। यस्तै २०५१ को मध्यावधी निर्वाचनमा स्वर्गीय नेता भीमबहादुर तामाङले क्षेत्र नं १ मा सांसद जितेका थिए।  २०५६ को राष्ट्रिय सभा निर्वाचनमा जिल्लाका कांग्रेस नेता रामजीवन सिंहले समेत राष्ट्रिय सभा सदस्य जितेका थिए। ४८, ५६,  र ७० सालको निर्वाचनमा भने कांग्रेसको उपस्थिती निल बनेको थियो।

 ‘बिभिन्न कारणले पराजय ब्यहोर्‍यौं तर यस पटकको चुनावमा प्रतिनिधित्व हुन पाएकोमा खुसी छौं’ जिल्ला कांग्रेसका सचिव सन्तोष रिमालले – ‘अब युवा पुस्तालाई साथ लिएर सांगठनिक सुधारको अभियानमा अवश्य लाग्नेछौं’ । निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभामा एक र प्रदेश सभाका दुई क्षेत्र रहेको दोलखाबाट दुवै सभामा गरेर १० जना सांसदले प्रतिनिधित्व गरेका छन्। प्रतिनिधि सभामा ४ र प्रदेश सभामा ६ जना सांसदले प्रतिनिधित्व गरेका छन् ।

प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ एमालेका पार्वत गुरुङ देशभरीमै सबै भन्दा बढी मतान्तरको रेकर्ड राख्दै विजयी भएका थिए । पार्टीका केन्द्रिय सदस्य समेत रहेका गुरुङ जिल्लाको गौरीशंकर गाउँपालिका ५ सुरीका हुन् । यस्तै प्रदेश सभा १ मा माओवादी केन्द्रका बिशाल खड्का र २ मा एमालेका पशुपति चौलागाईले जितेका थिए । खड्का गौरीशंकर गाउँपालिकाकै १ नम्बर वडा स्थित जुंगु गाउँका हुन् भने वैत्येश्वर गाउँपालिका ४ मैनापोखरीका चौलागाई एमाले पोलिटब्युरो सदस्य हुन् ।

समानुपातिक तर्फ एमालेकी शान्तिमाया पाख्रिन जनजाती महिला कोटामा सांसद बनेकी छिन् । २०६४ सालमा समेत समानुपातिक तर्फ सभासद बनेकी जिरी नगरपालिका ८ ठुलोपातलकी पाख्रिन तत्कालिन विद्रोही माओवादीद्धारा जनयुद्धकालमा हत्या गरिएका बुद्धीमान पाख्रिनकी पत्नी हुन् । 

यस्तै प्रदेश सभा तर्फ एमालेकी सरस्वती बस्नेत र रचना खड्का साथै माओवादी केन्द्रकी हिमाली गोले र आङदेण्डी शेर्पा समानुपातिक सांसद बने । एमाले ३ नम्बर प्रदेश कमिटि सदस्य बस्नेत सुरी गाउँकै हुन् भने पार्टी वैकल्पीक केन्द्रिय सदस्य रहेकी खडका भीमेश्वर नगरपालिका ६ की हुन् । माओवादी केन्द्रकी गोले वैत्येश्वर १ गैरीमुदीकी हुन भने शेर्पा जिरी नगरपालिका स्थित श्यामा गाउँका हुन् । एमाले जिल्ला अध्यक्ष एवं तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले जिल्लाले १० जना सांसद पाएर नेतृत्व तहमा समेत देशभरीमै अब्बल जिल्लाका रुपमा दोलखाले आफुलाई स्थापित गरेको प्रतिक्रिया दिए ।

प्रकाशित: ४ फाल्गुन २०७४ १३:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App