८ वैशाख २०८१ शनिबार
राजनीति

विकास र समृद्धिको गन्तब्यमा कही–कतै अलमल नगरौं : मुख्य मन्त्री राई

इटहरी – प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईले अब देश नयाँ चरणमा प्रवेश गरि सकेकाले विकास र समृद्धिको गन्तब्यमा सबै एक ढिक्का भएर अघि बढनुपर्ने बताएका छन् । मुख्य मन्त्रीको सपथपछि पहिलोपटक शुक्रबार (आज) इटहरीमा आयोजित औपचारिक कार्यक्रममा उनले जनताको चाहना विकास, समृद्धि र सम्पन्नता रहेकाले यसको प्राप्तिमा अब कही–कतै अलमल नगरिकन प्रदेश सरकार अघि बढ्ने प्रतिबद्धता जनाए।

‘विकास र समृद्धिको एजेन्डामा कसरी आफ्नो सहभागिता जनाउने ? कसरी उपयुक्त ढंगले आफ्नो योगदान मिसाउने,’ मुख्यमन्त्री राईले इटहरीमा आयोजित नीजि विद्यालयका छाता संगठन प्याब्सनको प्रदेश नं. १ स्तरीय सम्मेलनलाई उद्घाटन गर्ने क्रममा भने । उनले अब कही–कतै अलमलमा नपरिकन समस्या पहिचान गरेर अघि बढ्ने बेला आएको छ।
 
‘हिजो नेपाली राजनीति र नेपाली समाज असाध्यै अलमलको अवस्थामा थियो । विभिन्न गल्ली र गोरेटोमा अलमलमा परेको थियो । विभिन्न खालका मान्यताहरुसँगै विभिन्न धारमा विभाजित थियो,’ उनले भने,  ‘अब नेपाली समाज र नेपाली राजनीति उचाईमा आइसकेको  छ ।’ उनले अहिले समाजका सबै नागरिक बिशाल राजमार्गमा भेला भइसकेको जिकिर गदैं विकास–समृद्धिको यात्रामा अलमलमा पर्न नहुने बताए।

‘अब कसैले अलमलमा पर्नुपर्ने, कुनै दुविधा राख्नुपर्ने कुनै त्यस्ता अनिश्चितका बाधकहरु कही–कतै छैनन् । त्यसकारण हिड्ने बाटो प्रस्ट छ । पुग्ने गन्त्ब्य प्रस्ट छ,‘ उनले भने, ‘विकास–समृद्धिका लागि सहभागिता र योगदान कहाँ कसले कति गर्ने भन्ने मात्र बाँकी रह्यो ।’ उनले  समस्याका खाड्लहरु पहिचान गरेर साथमा साथ मिलाएर विकास र समृद्धिको यात्रामा अघि बढनुपर्ने बताए।

‘विकास र समृद्धिलाई ठोस रुपमा अघि बढाउनका निम्ति शैक्षिक क्षेत्रमा अब नेपाल सरकारले र प्रदेश सरकारले कस्ता नीतिहरुको साथमा प्रस्तुत हुनुपर्छ । कस्ता योजनाहरुका साथमा प्रस्तुत हुनुपर्छ । त्यसमा पनि योजना बनाएर अघि बढ्ने बेला आएको छ,’ उनले भने ।

उनले संविधानको मर्म र भावना अनुसार निश्चिय पनि शिक्षामा परिवर्तन हुनुपर्ने बताए । ‘आजको युग र समयलाई सुहाउँदो अनि विकास र समृद्धि हासिल गर्नका निम्ति जनशक्ति तयार गर्न नयाँ शिक्षा नीति बनाउनुपर्छ,’ मुख्यमन्त्री राईले भने । उनले शिक्षा नीतिलाई ताजा र पाठ्यक्रमहरु परिवर्तन गरि व्यवसायिक र प्राविधिक क्षेत्रमा जोड दिनुपर्ने बताए । ‘शिक्षा क्षेत्रमा समस्याहरु छन्,अब नीतिगत, कानुन र अन्य हिसावले कसरी सहज खाले वातावरण निर्माण गर्ने हो । त्यसका निम्ति लाग्नुपर्छ,’ उनले भने।

उनले शिक्षामा परिवर्तन ल्याउन छिटो र तिब्र गतिमा काम गरेर प्रगति हासिल गर्नुपर्ने पनि बताए ।  ‘प्रदेश सरकारले शिक्षा क्षेत्रमा पहिलो प्राथमिकता तोकेर लगानी गर्छ,’ उनले भने, ‘यसमा नीजि क्षेत्रको पनि सहभागिता र योगदान रहन्छ र रहनुपर्छ ।’
कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले शिक्षालाई समय परिवर्तनसँगै अघि बढनुपर्ने बताए ।

प्रकाशित: ४ फाल्गुन २०७४ ०९:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App