८ वैशाख २०८१ शनिबार
राजनीति

प्रतिबद्धता पूरा गर्न मतदाताको आग्रह

दमक – वामगठबन्धनका अगुवा एमाले अध्यक्ष केपी शर्मा ओलीले दोस्रोपटक मुलुकको नेतृत्व गर्ने अवसर पाएका छन् । प्रतिनिधिसभा निर्वाचनमा ठूलो मतान्तरले विजयी भएका ओलीसामु थुप्रै चुनौती छन् । स्थानीयले पनि उनीबाट ठूलै आशा गरेका छन् । ओलीले प्रतिनिधिसभा चुनावमा कांग्रेसका खगेन्द्र अधिकारीलाई २८ हजार बढी मतान्तरले हराएका थिए । 
दमक बहुमुखी क्याम्पसका प्रमुख उत्तम भट्टरार्ई ओलीले अब छवि सुधार्नुपर्ने आवश्यकता ठान्छन् । ‘प्रधानमन्त्रीले सबैलाई मिलाउन सक्ने क्षमता राख्नुपर्छ’, उनले भने, ‘पूर्वाधार र शैक्षिक विकासमा उहाँको योगदान हुनेछ ।’ भट्टराईले ओलीसामु राष्ट्रिय र स्थानीय दुवै खालका चुनौती रहेको बताउँछन् । ‘विदेशमा भएका ४० लाख युवालाई स्वदेश फर्काउन योजना आवश्यक छ’, ओलीका चुनौती उल्लेख गर्दै उनले भने, ‘ओलीले भाषण गर्दा देखाएका सपना पूरा गर्ने ताकत राख्नुपर्छ ।’ अनेकन विकासे सपना बाँडेका ओलीलाई आफ्नो वचन पूरा गर्नुपर्ने जिम्मेवारी त छँदैछ, जनताको विश्वास कायम राख्न वाम गठबन्धन टिकाइराख्ने चुनौती पनि रहेको भट्टराई सुनाउँछन्।

अनेकन विकासे सपना बाँडेका ओलीलाई आफ्नो वचन पूरा गर्नुपर्ने जिम्मेवारी त छँदैछ, जनताको विश्वास कायम राख्न वाम गठबन्धन टिकाइराख्ने चुनौती पनि छ ।

दमक १० का मतदाता डिल्ली न्यौपाने एमाले अध्यक्ष ओलीको राष्ट्रवादी छवि र विकास निर्माणका मुद्दामा लगनशीलताले अब झन् असहज देखिएको बताउँछन् । पार्टी एकता गर्न सबैखाले तयारी देखिए पनि उनकै क्षेत्रका मतदाता भने यसमा ठूलै चुनौती देख्छन् । ‘वाम गठबन्धनप्रति जुन विश्वास जनताले गरे, अब त्यसलाई टिकाउन अझ अप्ठ्यारो छ’, उनले भने, ‘त्यससँगै अब बन्ने सरकारमा उनको भूमिका पनि पुनः परीक्षण हुनेछ । यस क्षेत्रमा मतदाताका थुप्रै अपेक्षा छन् । दमक ३ मा निर्माणाधीन भ्यु टावर, विश्वको सबैभन्दा अग्लो बुद्धमूर्ति निर्माण सम्पन्न गरे उनीप्रतिको विश्वास अझ बढ्नेछ’, न्यौपाने भन्छन्, ‘दमक १० मा औद्योगिक पार्कको काम अघि बढे र रोजगारीको वातावरण बने अझै उनीप्रतिको विश्वास चुलिनेछ, कामअघि नबने अझ घातक हुने देखिन्छ।’

वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई ओलीसामु पाँच किसिमका चुनौती देख्छन् । प्रधानमन्त्री ओलीले अबको कार्यकालमा पुरानै साख कायम राख्न सक्लान् या नसक्लान् भन्ने सर्वत्र चिन्ता छ । भट्टराई भने अब ओलीको परराष्ट्र नीति कस्तो बन्ने र सबै मुलुकसँगको सम्बन्ध सन्तुलित बनाउन सक्नेनसक्ने परीक्षा सुरु भएको बताउँछन् । ‘प्रधानमन्त्रीको हैसियतमा प्रतिपक्षीसँगको सम्बन्धसमेत ओलीका लागि परीक्षा हो’, उनले भने, ‘संसदीय अभ्यासमा प्रतिपक्षी दलको पनि ठूलो महŒव रहन्छ ।’ पार्टीका नेता र कार्यकर्ताको योगदानअनुरुपको व्यवस्थापन पार्टी एकतासम्मका लागि उनको टाउको दुखाइ बन्न सक्ने विश्लेषण भट्टराईको छ । ‘आर्थिक सूचकांक खस्केको अवस्थामा अब उनको नेतृत्वसँग धेरै खाले अपेक्षा छन्’, उनले भने, ‘भ्रष्टाचार अन्त्य गरी सुशासन ल्याउनुपर्ने मुख्य चुनौती ओलीसामु छन् ।’

प्रतिनिधिसभा चुनावमा प्रतिस्पर्धी कांग्रेसका अधिकारी ओलीमाथि मतदाताको ठूलै भरोसा रहेको बताउँछन् । ‘मुलुकको विकास गर्ने नारा ल्याउनुभयो’, ओलीप्रति लक्षित गर्दै उनले भने, ‘ती सबै भाषणमा सीमित भए अर्को पटक मतदाताले तपाईंको कति विश्वास गर्ने ?’ अधिकारी चुनावी अभियानका दौरानमा गरेका वाचा र प्रतिबद्धता पूरा गर्न ओलीलाई सुझाव दिन्छन् । अधिकारी आफ्नो क्षेत्रको मात्रै नभई मुलुककै आर्थिक अवस्था बलियो बनाउन ओलीले ‘भिजन’ दिनुपर्ने बताउँछन्।

रतुवा मावा, किस्ने र कमला नदी नियन्त्रणका लागि काम अघि बढाउने र सुकुमवासी समस्या समाधानका लागि ओलीले काम गरेर देखाउनुपर्ने कांग्रेस नगर सभापति रोशन बिष्टले बताए । उनले दमकमा ३ खर्बको योजनासहितको औैद्योगिक पार्क निर्माणले गति लिनुपर्ने बताए । ‘विकास र समृद्धिको कुरा गर्ने ओलीले आफ्नै क्षेत्रमा सुरु भएका दीर्घकालीन महत्त्व राख्ने योजना सम्पन्न गर्नुपर्छ’, उनले भने, ‘त्यसो गर्न सके उनको यसपटकको प्रधानमन्त्री काल सफल मान्न सकिन्छ।’

झापा ३ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य वसन्त बानियाँले जिल्लाको समग्र विकासका लागि ओलीले नेतृत्व गर्नुपर्ने बताए । एउटा मात्रै क्षेत्रमा योजना थुपारेको आरोप खेप्दै आएका ओलीलाई उनले समानुपातिक रुपमा जिल्लाभर योजना पार्न सुझाव दिए ।

प्रकाशित: ४ फाल्गुन २०७४ ०३:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App