४ वैशाख २०८१ मंगलबार
राजनीति

संसदीय दलको नेता नबन्दा सरकार गठनमा ढिलाइ

धनगढी – प्रदेश नम्बर ७ मा माओवादी केन्द्रले त्रिलोचन भट्टलाई मुख्यमन्त्री बनाउने टुंगो लगाएको डेढ साता भइसकेको छ । वाम गठबन्धनमा रहेका एमाले र माओवादी केन्द्रबीच बाँडफाँटमा प्रदेश नम्बर ७ मा दोस्रो ठूलो दल रहेको माओवादी केन्द्रको भागमा मुख्यमन्त्री परेको हो ।

यस प्रदेशको सबैभन्दा ठूलो दल एमालेले अहिलेसम्म संसदीय दलको नेता छानिनसकेको र दुई दलबीच मन्त्रालय बाँडफाँटका विषयमा पनि सहमति भइनसकेकाले मुख्यमन्त्री र सरकार बनाउन ढिलाइ भएको छ । मुख्यमन्त्री र सरकार बनाउन ढिलाइ भइरहेका बेला प्रदेश ७ का प्रमुख मोहनराज मल्लले बुधबार बिहान सरकार गठनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् ।

‘सरकार गठनलगायतका विषयमा छलफल गर्न बुधबार बिहान सर्वदलीय बैठक बोलाएको छ,’ प्रदेश प्रमुख मल्लले भने, ‘संविधानअनुसार छोटो बाटोबाट सरकार गठन गर्न छलफल गरिने छ ।’ प्रदेश सचिवालयका निमित्त सचिव हीरालाल चौधरीले कुन विधि र प्रक्रियाबाट सरकार गठन गर्ने भनेर सर्वदलीय बैठकबाट टुंगो लगाइने बताए । ‘मुख्यमन्त्रीलगायत सरकार बनाउन ढिलाइ भएकाले छलफल गर्न प्रदेश प्रमुखले सर्वदलीय बैठक बोलाएका हुन्,’ उनले भने । प्रदेश नम्बर ७ मा स्पष्ट बहुमत कुनै पनि दलको नभएकाले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थन गर्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ । माओवादी केन्द्रले अघि सारेका त्रिलोचन भट्टलाई माओवादी केन्द्र र एमालेले समर्थन रहेको लेखेर प्रदेश प्रमुखलाई बुझाएपछि उनलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्ति गर्ने छन् ।

एमालेले संसदीय दलको नेता छानिनसकेकाले सरकारमा कसलाई पठाउने भन्ने टुंगो लाग्न बाँकी  छ । ‘संसदीय दलको नेताको टुंगो लागिसकेको छैन, सर्वसम्मत संसदीय दलका नेता बनाउने गरी प्रयास जारी रहेको छ,’ एमाले केन्द्रीय कमिटी सदस्य तथा बाजुराका प्रदेशसभा सदस्य प्रकाश शाहले बताए । सरकारमा कसलाई पठाउने भनेर पनि टुंगो लागि नसकेको उनले बताए ।
मन्त्रालयबारे सहमति हुन बाँकी
 यसैगरी माओवादी केन्द्र प्रदेश ७ का इन्चार्ज लेखराज भट्टले एमालेले संसदीय दलको नेता छानिनसकेको र मन्त्रालयबारे पनि कुरा गर्न बाँकी भएकाले मुख्यमन्त्री तथा सरकार गठनमा ढिलाइ भएको बताएका छन् । ‘एमालेका उपाध्यक्ष भीम रावल आज आउनुभएको छ, वहासँग छलफल गरेर सरकारका गठनबारे अघि बढ्छौं ।’ मुख्यमन्त्री बाहेक तीनजना मन्त्री भए व्यवस्थापन गर्न सजिलो हुने भन्दै उनले ३ मन्त्रालय दिन आग्रह गरेको बताए ।

‘कति सदस्यीय मन्त्रिपरिषद् बनाउने भनेर पनि छलफल चलिरहेको छ,’ उनले भने, ‘९ सदस्यीय बनाउने कि ७ सदस्यीय बनाउने भनेर हामीबीच छलफल भइरहेको छ ।’ कति सदस्यीय मन्त्रिपरिषद् बनाउने टुंगो लागिसकेपछि एमाले र माओवादीले कतिजना मन्त्री पाउने भनेर निधो गरिने छ । संख्या तोकिएपछि मन्त्रीको टुंगो लगाइने उनले बताए ।

एमाले कैलालीका अध्यक्ष तथा प्रदेशसभा सदस्य दीर्घ सोडारीले ३÷४ दिनमा संसदीय दलका नेताको टुंगो लाग्ने बताएका छन् । सहमतिबाट नै दलका नेताको टुंगो लगाउने प्रयास भइरहेको उनको भनाइ छ । संसदीय दलका नेताको टुंगो लागिसकेपछि मन्त्रीको टुंगो लाग्ने उनले बताए ।‘अहिले कसलाई मन्त्री बनाउने भन्नेमा कुरो भएको छैन,’ उनले भने । केन्द्रमा पार्टी एकतामा ढिलाइ भएकाले पनि यहाँ संसदीय दलको नेता चुन्न ढिलाइ भएको उनको भनाइ छ ।  
एमालेमा ४ जनाको चर्चा
प्रदेश ७ मा सबैभन्दा ठूलो दल एमालेमा संसदीय दलको नेता टुंगो लाग्न सकिएको छैन । संसदीय दलका नेताका लागि ४ जनाको नाम चर्चामा छ । एमाले केन्द्रीय कमिटी सदस्य तथा बाजुराका प्रदेशसभा सदस्य प्रकाश शाह, एमाले कैलालीका अध्यक्ष तथा प्रदेशसभा सदस्य दीर्घ सोडारी, एमाले कञ्चनपुरका अध्यक्ष तथा प्रदेशसभा सदस्य तारा लामा तामाङ र एमाले डडेल्धुराका पूर्वअध्यक्ष तथा प्रदेशसभा सदस्य पठानसिंह बोहरा संसदीय दलका नेताका दाबेदार छन् ।

एमालेका केन्द्रीय सदस्य प्रकाश शाहले प्रदेशसभा सदस्यमध्ये उनी पार्टीमा सबैभन्दा वरिष्ठ भएकाले स्वभाविक रूपमा दाबी भएको बताएका छन् । ‘मेरो नाममा संसदीय दलको नेतामा सहमति हुने विश्वास गरेको छु,’ उनले भने । यसैगरी कैलालीका अध्यक्ष दीर्घ सोडारीले संसदीय दलका नेतामा आफ्नो दाबी रहेको उल्लेख गर्दै सहमतिबाट टुंगो लगाउने प्रयास भइरहेको बताए । ‘साथीभाइसँग छलफलमा छु,’ उनले भने । यसैगरी कञ्चनपुरका अध्यक्ष तारालामा तामाङ र डडेल्धुराका पठानसिंह वोहराले पनि पार्टीले  दिएमा संसदीय दलका नेताको जिम्मेवारी सम्हाल्ने बताएका छन् ।
 

प्रकाशित: २ फाल्गुन २०७४ ०३:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App