१६ चैत्र २०८० शुक्रबार
राजनीति

ओली दाहाल ‘वान अन वान’ वार्ता : यसै साता ‘बोल्ड निर्णय’

काठमाडौं- सोमबार बिहान नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच ‘वान अन वान’ कुरा भयो। दाहाल निकट निर्माण व्यवसायी शारदा अधिकारीको ललितपुर स्थित घरमा भएको एक्ला एक्लै भेटले एकतालाई नयाँ चरणमा पुर्‍याएको माओवादी स्रोतको दावी छ। स्रोतका अनुसार दुई नेताहरुबीच यसै साता एकताबारे ‘बोल्ड निर्णय’ हुने छ। ओली र दाहालबीच करिब दुई घण्टा कुराकानी भएको थियो।

माओवादी केन्द्रका सचिवालय सदस्य देवेन्द्र पौडेलका अनुसार दुई नेताहरु सहमति नजिक पुगेका छन्। ‘अध्यक्षद्वय सहमति नजिक पुगेको जानकारी पाएको छु’, पौडेलले भने, ‘प्रक्रिया अब यसरी लम्बिदैन।’

भोली मंगलबार पनि ओली र दाहालले एकताबारे छलफल गर्न भेट्दै छन्। स्रोतका अनुसार सम्भवत मंगलबारको छलफल पछि उनीहरु निर्णय लिने छन्। ओली र दाहालको छलफलपछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने र प्राविधिक विषयलाई टुंगो लगाउने गरी प्रक्रिया अघि बढेको छ।

नेतृत्वमा आलोपालो गर्ने गरी छलफल चले पनि नेताहरु त्यसको सहमतिमा पनि पुग्न सकेका छैनन्। अध्यक्ष मण्डल बनाउने गरी समेत छलफल अघि बढेको नेताहरुले बताएका छन्। यता एकीकृत पार्टीको अध्यक्ष दाहाल बन्ने र प्रधानमन्त्री ओली बन्ने पनि चर्चा रहेको छ। ‘सबै विकल्पमा छलफल अघि बढे पनि सहमति कुनैमा भएको छैन’ एक नेताले भने, ‘अझै छलफल जरुरी छ।’

मंगलबार माओवादीले पार्टीको सचिवालय बैठक बोलाएको छ। सचिवालय बैठक बोलाइए पनि मंगलबार माओवादीको ‘जनयुद्ध दिवस’ परेकाले बैठक बस्ने नबस्ने फिक्स नभएको एक नेताले बताए।  

प्रदेश सभा र प्रतिनिधि सभा सभा निर्वाचनमा सहकार्य गरेका दुई पार्टीले राष्ट्रिय सभा र प्रादेशिक सरकारमा समेत बाँटफाँट गरेका छन्। चुनावी एकतामा सफल देखिएको बाम गठवन्धनले चुनाव पछि पार्टी एकता गर्ने भने पनि अहिले सम्म निष्कर्षमा पुग्न सकेको छैन।

 

प्रकाशित: २९ माघ २०७४ १३:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App