८ वैशाख २०८१ शनिबार
राजनीति

शिक्षणदेखि मुख्य मन्त्रीसम्म

पोखरामा आइतबार भएको बैठकमा दलको नेता चुनिएपछि पृथ्वीसुब्बा गुरुङलाई उचाल्दै उनका समर्थक । तस्बिर:उमेश पुन/नागरिक

पोखरा–पर्यटकीय नगर रहेको प्रदेश नम्बर–४ को प्रदेश हाँक्ने जिम्मा पृथ्वीसुब्बा गुरुङले पाउने भएका छन् । एमालेले गुरुङलाई आइतबार संसदीय दलको नेता चुनेपछि प्रदेश हाँक्ने जिम्मा गुरुङको काँधमा आउने पक्का भएको हो । कुनैबेला गाउँको विद्यालयमा शिक्षक बनेर अध्यापन गर्ने गुरुङ मुलुक प्रादेशिक संरचनामा प्रवेश गरेसँगै प्रदेश–४ को मुख्यमन्त्री बन्ने निश्चिन बनेको छ ।

विभिन्न राजनीतिक उतारचढावलाई पार गर्दै अघि बढेका शालिन र भद्र नेताको पहिचान बनाएका गुरुङले अब जलविद्युत र पर्यटनको क्षेत्रको रूपमा कहलिएको प्रदेश–४ हाँक्ने जिम्मा पाएका छन् । प्रदेश हाँक्ने लक्ष्य सहित उनी प्रतिनिधिसभा छाडेर प्रदेशमा ओर्लेका थिए । पृथ्वी पहिलो संविधानसभा निर्वाचनमा लमजुङबाट विजयी भएर पर्यटनमन्त्री समेत भइसकेका नेता हुन् । 

संसदीय दलको नेता बन्ने दौडमा रहेका अर्का आकांक्षी तथा प्रदेश–४ संयोजक किरण गुरुङले उम्मेदवारी नदिएपछि पृथ्वीको नाममा सहमति जुटेको हो ।

संसदीय दलको नेता बन्ने दौडमा रहेका अर्का आकांक्षी तथा प्रदेश–४ संयोजक किरण गुरुङले उम्मेदवारी नदिएपछि पृथ्वीको नाममा सहमति जुटेको हो । दलको नेता चुनिएका गुरुङ लमजुङ (ख) बाट निर्वाचित भएका हुन् । वाम गठबन्धनका वरिष्ठ नेताहरूले भागबण्डामा एमालेलाई प्रदेश–४ को मुख्यमन्त्री पारेपछि दलको नेता बनेर मुख्यमन्त्री हाँक्ने आकांक्षामा गुरुङद्वयबीच प्रतिस्पर्धा बढेको थियो । तर, पार्टीको शीर्ष तहबाट दबाब आएपछि किरण ‘ब्याक’ भएर सहमति जुटेको हो । प्रदेशभित्र सम्बन्धित दलको संसदीय दलको नेता नै मुख्यमन्त्रीको दाबेदार बन्ने प्रावधान छ । त्यहीअनुसार पृथ्वीसुब्बा गुरुङको काँधमा प्रदेशको जिम्मा पुगेको हो ।

दलको नेता बनेका गुरुङले सहमतिमा आफू चुनिएको बताए । उनले प्रदेश र केन्द्र सरकारको सम्बन्ध बनाउन पनि अहिले सहमति आवश्यक भएको बताए । उनले सभामुख चयन भएपछि बल्ल प्रदेश सरकार गठनका लागि प्रक्रिया अघि बढ्ने बताए । 

गुरुङ लमजुङको क्व्होंलासोथर गाउँपालिका ९ गिलुङ टक्सारगाउँका बासिन्दा हुन् । गंगाप्रसाद र चिनी गुरुङको कोखबाट २०१४ फागुन २ मा जन्मिएका गुरुङको बाल्यकाल गाउँमै बितेको हो । चार छोरी र एक छोराका पिता गुरुङकी श्रीमती कुमारी मुनि गुरुङ क्व्होलासोंथर गाउँपालिकाकी उपप्रमुख हुन् । २०१९ देखि २०२४ सालसम्म गाउँकै त्रिग्राम विद्यामन्दिरमा अध्ययन गरेका उनले माध्यमिकतहको अध्ययन भोर्लेटारस्थित ईशानेश्वर प्रमोद हाईस्कुलमा गरे । २०३० सालमा एसएलसीपछि अमृत साइन्स क्याम्पसबाट २०३२ मा आइएससी र २०३४ मा प्रथम श्रेणीमा बिएससी उत्तीर्ण गरेका हुन् । बिएससीपछि गाउँकै गिलुङटक्सारस्थित बुद्धोदय माविमा उनले ७ वर्षसम्म अध्यापन गरेका थिए । 

उनी २०२७ सालमा ईशानेश्वर प्रमोद हाईस्कुलको स्ववियु सचिव बनेर राजनीतिमा होमिएका थिए । २०३१ मा अखिल नेपाल क्रान्तिकारी कोअर्डिनेसन केन्द्र (माले) को सम्पर्कमा पुगेर २०३५ सालमा मध्य–उत्तर इलाका पार्टी सक्रिय दल नेकपा (माले) लमजुङको सदस्यको रूपमा संगठित भए । २०३६ मा नेकपा (माले) पश्चिमोत्तर इलाका पार्टी सक्रिय दल लमजुङको सदस्य हुँदै २०३७ साल फागुन ७ गते नेकपा (माले) को पार्टी सदस्यता, २०४० वैशाखमा नेकपा (माले) जिल्ला संगठन कमिटीको सदस्य, २०४८ प्रथम जिल्ला अधिवेशनबाट नेकपा (एमाले) जिल्ला कमिटी लमजुङको सचिवमा निवार्चित हुन सफल भए । 

२०५१ फागुनको दोस्रो जिल्ला अधिवेशनबाट निर्विरोध जिल्ला सचिवमा पुनः निवार्चित भएका उनी २०५४ मा नेपालगन्जमा भएको छैठौं महाधिवेशनबाट नेकपा (एमाले) केन्द्रीय कमिटीको वैकल्पिक सदस्यमा निर्वाचित भएका थिए । २०५४ देखि २०५९ सम्म गण्डकी अञ्चल समन्वय कमिटी सचिवको जिम्मेवारी सम्हाले भने २०६० मा नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्यमा मनोनीत भए । २०६१ देखि २०७० सम्म केन्द्रीय जातीय मामिला विभाग प्रमुखको जिम्मेवारी सम्हालेका गुरुङ सोही अवधिमा आदिवासी–जनजाति फा“ट इन्चार्जको भूमिका पनि निर्वाह गरेका थिए । 

२०६५ मा बुटवलमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भई सोही वर्ष पोलिटब्युरो सदस्यमा निर्वाचित पनि भएका हुन् । २०६९ देखि ०७१ सम्म केन्द्रीय कार्यालयको सचिवको जिम्मेवारीमा रही काम गरे भने ०७१ मा सम्पन्न पार्टीको नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीको सचिवमा निर्वाचित भई ०७२ देखि पार्टीको केन्द्रीय संगठन विभाग प्रमुखको जिम्मेवारीमा समेत क्रियाशील रहेका छन् ।

चुनावी दौडधूपको लामो अनुभव संगालेका गुरुङ २०४३ मा जनपक्षीय उम्मेदवारका रूपमा चुनाव लडेदेखि गत मंसिरमा भएको प्रदेशसभा सदस्य निर्वाचनसम्म एमालेका तर्फबाट निकै प्रभावशाली र बलिया उम्मेदवारका रूपमा देखिएका थिए । जिल्लामा कम्युनिस्ट राजनीतिक वृत्तको अग्रपंक्तिमा रहेर २०२७ सालदेखि नै विद्यार्थी राजनीति हुँदै पार्टी जीवनमा होमिएका गुरुङ ०४३ देखि नेकपा एमालेका तर्फबाट लगातार सातौं पटकसम्म चुनावी दौडका अथक धावकका रूपमा रहेका थिए । लगातार चुनावी मैदानमा उत्रिएका गुरुङले पाँचौं पटकको चुनावी मैदानमा मात्र दौड जित्न सफल भएर संविधान निर्माणको महत्वपूर्ण जिम्मेवारी बहन गर्न पुगेका थिए । 

पोखरामा आइतबार भएको बैठकमा दलको नेता चुनिएपछि पृथ्वीसुब्बा गुरुङलाई उचाल्दै उनका समर्थक । तस्बिर:उमेश पुन/नागरिक
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App