८ वैशाख २०८१ शनिबार
राजनीति

‘निर्माण क्षेत्रमा आधुनिक प्रविधि भित्र्याउन जरुरी’

मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिको आयोजनामा शुक्रबार काठमाडौंमा सुरु भएको चौथो नेपाल बिल्डकन तथा नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनीमा राखिएका निर्माण उपकरण।

काठमाडौं – उपप्रधान तथा ऊर्जामन्त्री कमल थापाले निर्माण क्षेत्रमा आधुनिक प्रविधि भित्र्याउन आवश्यक रहेको बताएका छन् । लामो राजनीतिक अस्थिरताको अन्त्यपछि मुलुक विकासतर्फ अगाडि बढेको बताउँदै उनले छिटो तथा प्रभावकारी निर्माणका लागि आधुनिक प्रविधि र सीप भित्र्याउनुपर्नेमा जोड दिए। 

‘सडक, रेल्वे, मोनोरेललगायत ठूला पूर्वाधार निर्माणको चरणमा छन्,’ शुक्रबार चौथो नेपाल बिल्डकन तथा नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्दै थापाले भने, ‘जलविद्युत्, वैकल्पिक ऊर्जा (सौर्य तथा वायु)का ठूला परियोजनामा लगानी बढ्दैछ । यसले निर्माण व्यवसायी, निर्माण सामग्री उत्पादकलगायत समग्र निर्माण क्षेत्रमा ठूलो अवसर सिर्जना हुन्छ ।’ निर्माण क्षेत्रमा नयाँ प्रविधि, सीप र लगानी भित्र्याउन यस्तो प्रदर्शनीले महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । अब बन्ने सरकारले विकास निर्माणलाई मुख्य प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिए।

नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले नेपालको विकासमा सहकार्य गर्न भारत तयार रहेको बताए। ‘सडक, रेल्वेलगायत पूर्वाधार निर्माणमा भारत सरकारले नेपाललाई वर्षौैंदेखि सहयोग गर्दै आएको छ,’ उनले भने, ‘भारत सरकारबाट हुने सहयोग र सहकार्य बढाउँदै निजी क्षेत्रलाई पनि नेपालका ठूला आयोजनामा लगानी गर्न प्रेरित गर्छौं ।’ भारतीय व्यवसायीको समेत सहभागिता रहेको प्रदर्शनीले नेपाल–भारत सम्बन्धलाई अझ विस्तार गर्दै द्विदेशीय व्यापार बढाउन मद्दत गर्ने उनले बताए। 

निर्माण तथा काष्ठ क्षेत्रमा नयाँ प्रविधि भित्र्याउने तथा नेपालमा उपलब्ध सामग्री र प्रविधिको प्रवद्र्धन गर्ने उद्देश्यका साथ मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिले संयुक्त रूपमा प्रदर्शनी आयोजना गरेका हुन्। आइतबारसम्म सञ्चालन हुने प्रदर्शनीमा नेपाल, भारत, बंगलादेश, श्रीलंका, जर्मनी, इटालीलगायत देशबाट दुई सय २० भन्दा बढी ब्रान्ड तथा उत्पादन राखिएको मिडिया स्पेसका अध्यक्ष राजेन्द्रबहादुर सिंहले बताए। 

‘एक सय ५० स्टलमार्फत विभिन्न निर्माण कम्पनी, डिलर, सब डिलर र बिक्रेताले निर्माण तथा काष्ठ व्यवसायसँग सम्बन्धित उत्पादनका बारेमा जानकारी गराउनेछन्,’ उनले भने, ‘प्रदर्शनीमा १० वटा नयाँ प्रोडक्टसमेत  लन्च भएका छन् ।’ तीन वर्षदेखि आयोजना हुँदै आएको प्रदर्शनीमा ५० प्रतिशतभन्दा बढी प्रदर्शनकर्ता दोहोरिनुले यसको प्रभावकारिता पुष्टि भएको अध्यक्ष सिंहले बताए। 

प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, आम नागरिकबाहेक निर्माण तथा काष्ठ क्षेत्रमा काम गरिरहेका आर्किटेक्ट, इन्जिनियर, कन्ट्र्याक्टर, बिल्डर्स, इन्टेरियर डिजाइनरलगायतको सहभागिता रहने आयोजकले जनाएको छ। नेपालको समग्र निर्माण क्षेत्रको विकास, पुनर्निर्माण तथा आधुनिकीकरणमा प्रदर्शनीले टेवा पुर्‍याउने आयोजकको विश्वास छ।

प्रकाशित: २७ माघ २०७४ ०३:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App