१६ चैत्र २०८० शुक्रबार
राजनीति

सरकार बनाउन कुरो मिलेन

जनकपुरधाम – चुनावी तालमेल कायम राख्दै प्रदेश सरकार निर्माण गर्न छलफलमा जुटेका संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) बीच सहमति हुन सकेन। 

सभामुख, उपसभामुख, मुख्यमन्त्री र मन्त्रालयको बाँडफाँट गर्न मंगलबार जनकपुरमा बसेको दुई दलका शीर्ष नेताको बैठक निष्कर्षविहीन भएको बैठकमा सहभागी राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले बताए।

चारदिनको अनौपचारिक छलफलपछि मंगलबार राजपा र फोरमको संयुक्त बैठक बसेको थियो । बैठकमा राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, सदस्यहरू राजेन्द्र महतो, महेन्द्र यादव, शरत्सिंह भण्डारी, राजकिशोर यादव र अनिल झा तथा फोरम अध्यक्ष उपेन्द्र यादव, उपाध्यक्ष रेणु यादव र प्रदेशसभा संसदीय दलका नेता लालबाबु राउत सहभागी थिए।

बिहान दस बजे जनकपुरस्थित होटल सिताशरणमा बसेको दुई दलीय बैठक केहीबेरको छलफलपछि दुवै पार्टीका नेताहरू छुट्टाछुट्टै आन्तरिक छलफलमा केन्द्रित भएका थिए । करिब एक घण्टा लामो उक्त छलफलपछि दुवै पार्टीका अध्यक्षसहित दुई–दुई जनाका दरले गम्भीर छलफल गरेको राजपा अध्यक्ष मण्डलका सदस्य यादवले बताए । दोस्रो चरणको दुई दलीय बैठकमा फोरम अध्यक्ष उपेन्द्र यादव र उपाध्यक्ष रेणु यादव तथा राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र सदस्य महेन्द्र यादव सहभागी भए। 

उक्त बैठकमा राजपाले दुईओटा प्रस्ताव राखेको थियो । मुख्यमन्त्री, उपभामुख, अर्थ तथा योजना मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय । र अर्को, सभामुख, गृह मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय । तीमध्ये फोरमले एक प्रस्ताव रोज्नुपर्ने र अढाई वर्षपछि अन्य मन्त्रालय यथावत राखी मुख्यमन्त्री, सभामुख र उपसभामुख हेरफेर गर्नुपर्ने सर्त राजपाको थियो। 

फोरमले सरकारको नेतृत्वमा चक्रीय प्रणाली मञ्जुर नभएको र मन्त्रालय बाँडफाँट सम्बन्धी राजपाको प्रस्ताव अव्यवहारिक भएको भन्दै त्यसलाई कुनै हालतमा स्वीकार गर्न नसकिने जवाफ दिएपछि बैठक निष्कर्षमा नपुग्दै पुनः स्थगित भएको थियो। 

फोरमले चक्रीय प्रणाली मान्न नसकिने र मुख्यमन्त्रीसँगै गृह मन्त्रालय अनिवार्य हुनुपर्ने तथा राजपाको प्रस्ताव अनुसार थप एक मन्त्रालय आफ्नो पार्टीले पाउनुपर्ने अडान लिएको राजपाका यादवले बताए । ‘हामीले मुख्यमन्त्री र सभामुखलाई दुई ठाउँमा राखेर सन्तुलित हिसाबले प्रस्ताव लगेका थियौं’ यादवले नागरिकसँग भने, ‘तर, उहाँहरू (फोरम अध्यक्षलगायत) ले मान्नु भएन । चक्रिय प्रणाली मान्नै नसकिने अडान लिएपछि बैठक तत्काल स्थगित भएको छ।’ 

संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवले भने राजपाको प्रस्ताव जातीय संकिर्णता र व्यक्तिगत स्वार्थबाट माथि उठ्न नसकेको टिप्पनी गरे । ‘मधेसको समग्र विकास अहिलेको प्रमुख अजेन्डा हुनुपर्ने हो,’ बैठकपछि यादवले नागरिकसँग भने, ‘यस प्रदेशको आन्तरिक सुरक्षा र विकासका मुद्दालाई प्राथमिकतामा राखेर सरकार बनाउन खोजेका छौं । यो अवसरलाई पनि व्यक्तिगत र पार्टीको स्वार्थमै गुमायौं भने राजनीति गरिरहनुको कुनै अर्थ रहँदैन । सरकार गठन र तालमेल टिकाउनकै लागि प्रदेश र जनताको अहितमा कुनै काम गर्न नसक्ने फोरमको ठहर छ।’

तराई मधेस विकासका सवालमा निकै पछि रहेको बताउँदै प्रदेशको समग्र उत्थानका लागि सबल सरकार आवश्यक रहेको उल्लेख गर्दै उनले राजपालाई प्राथमिकतामा राखे पनि अन्य सबै दलको पनि सहयोग लिएर सरकार निर्माण गर्ने प्रयासमा लागेको उल्लेख गरे। 

राजपाले पार्टीभित्र आन्तरिक गृहकार्य गरेर दुई दिनपछि फोरमसँग अर्को बैठक बस्ने जनाएको छ । फोरम बाहेकको दलसँग राजपाले सरकार बनाउनेबारे तत्काल कुनै सोच नबनाएको राजपा नेता यादवले बताए। 

फोरमले भने प्रदेश सरकार निर्माणको लागि सबै दलसँग छलफल अगाडि बढाइसकेको बताएको छ । सरकार बनाउन फोरम र राजपा गठबन्धनलाई प्राथमिकतामा राख्ने सोच बनाए पनि राष्ट्रिय हितविपरीत गर्न नसकिने यादवले जिकिर गरे। उनले राजपासँग कुरो नमिले वाम गठबन्धन र कांग्रेससँग पनि छलफल गर्न सकिने बताए। 

यता वाम गठबन्धन र कांग्रेसले पनि प्रमुख दलबाट प्रस्ताव आए सरकारमा जान तयार रहेको बताउँदै आएका छन्। माओवादी केन्द्रका प्रदेशसभा सदस्य भरत साहले फोरमसँग सरकार निर्माणबारे छलफल भइरहेको बताउँदै जनाने भए एमालेसहित गठबन्धन नै सरकारमा जाने प्रष्ट्याए । कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले पनि मधेस निर्माणका लागि जुनसुकै दलसँग मिलेर पनि सरकारमा जान तयार रहेको प्रतिक्रिया दिए। 

फोरम उपाध्यक्ष रेणु यादवले पार्टीभन्दा पनि मधेस निर्माणको मुद्दा प्राथमिकतामा राखेर सबै दलसँग मिलेर अघि बढ्नुपर्ने आवश्यकता आैंल्याइन् । ‘जनादेशलाई आधार मान्ने हो भने पनि फोरम र राजपा मात्रै मिलेर मधेस बन्दैन । अहिलेको समय स्वार्थमा लिप्त हुने होइन । पाँच वर्षलाई अवसर मानेर नमूना प्रदेश निर्माणमा जुटिहाल्नुपर्छ’ फोरम उपाध्यक्ष रेणु यादवले भनिन् । उनले जनहितको मुद्दालाई सर्वोपरी मानेर मधेस बनाएपछि मात्रै राजनीति गर्न सबै दललाई आग्रह गरिन्। 

प्रकाशित: २४ माघ २०७४ ०२:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App