१६ चैत्र २०८० शुक्रबार
राजनीति

प्रदेश ३ : आदिवासी जनजाति हर्षित, राजधानी नसार्न चेतावनी

फाइल तस्बिर

मकवानपुर – शनिबार दोस्रो संसद बैठक बस्ने तयारीमा रहेको प्रदेश नम्बर ३ को राजधानी हेटौंडामा ब्यवस्थापनहरु द्रुत गतिमा भईरहेका छन्। प्रदे स्तरीय मन्त्रालयहरु स्थापना भएका छन् भने त्यसअघि नै प्रदेश प्रमुखको कार्यालय र प्रदेश सभा सचिवालयले काम शुरु गरिसकेका छन्। त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पनि काम थालेका छन्।

ती कार्यालयहरुको धमाधम आन्तरिक व्यबस्थापन भईरहँदा आवश्यक कर्मचारीहरु आउने र माग गर्ने क्रम चलिरहेको छ। हेटौंडालाई राजधानी घोषणा हुँदादेखि नै शान्त रहेका जातीय संघसंस्थाहरुले पनि धारणा बनाउन थालेका छन्। दोस्रो संसद बैठकले सभामुख, उपसभामुखको टुङ्गो लगाउने र त्यसपछि मुख्यमन्त्रीको चयनको प्रक्रिया अघि बढ्ने तयारी भइरहँदा प्रदेश राजधानी र मन्त्री चयनमा समेत जनजाति अगुवाहरु खुलेर प्रतिक्रिया दिन थालेका छन्।

‘काठमाडौंको राजधानी कस्तो होला भन्ने लाग्थ्यो, अब यही हेर्न पाईने भयो।’ लोपोन्मुख बनकरिया समुदायकी अगुवा ठुलीमायाँ बनकरियाले खुशी साट्दै भनिन्। धमाधम मन्त्रालयहरु बनिरहेको सुनेकी उनले बनकरिया बस्ती नजिकै राजधानी भएपछि आफुहरुको जिवनयापनमा आमूल परिवर्तन आउने आशा व्यक्त गरिन्। ‘राजधानी भनेको काठमाडौं मात्र सुनेको थियौ, अब यही राजधानी भएपछि सरकारले हाम्रो अस्थायी बसोबासलाई स्थायी गरेको हेर्ने रहर छ।’

वनकरिया २ दशकदेखि मकवानपुरको मनहरी गाउँपालिका–४ साविकको हाँडीखोला गाविस–७ मुसेधाप कबुलियती जग्गामा बस्दै आएका छन्। जंगलमा फिरन्ते जीवन बिताउँने वनकरियालाई जिल्ला वन कार्यालय मकवानपुरले कवुलियती वन समूहअन्तर्गत ९ हेक्टर जमिन उपलब्ध गराएको थियो। सरकारले ५ बर्षदेखि बजेट छुट्याएपनि मकवानपुरमा मात्र बसोवास रहेको लोपोन्मुख वनकरियाको ब्यवस्थित घर बनाउन सकिएको छैन। जनता आवास कार्यक्रम अन्तर्गत घर बनाउन वर्षेनी ३० देखि ४० लाख रुपैयाँ रकम विनियोजित गर्ने गरेपनि कुनैपनि वनकरियाको आफ्नो जग्गा नाममा नभएकाले रकम फिर्ता (फ्रिज) जाने गरेको छ। हाल २१ घरधुरी रहेको बनकरियाको जनसंख्या ७३ जना रहेको बनकरिया अगुवाले बताए।

‘नेपालकै तामाङ्ग बाहुल्य मकवानपुरमा प्रदेश राजधानी बनाएकोमा मनैदेखि खुशी छौं,’ नेपाल तामाङ्ग घेदुङ, मकवानपुरका अध्यक्ष लिलाकुमार घलान भन्छन्– ‘राजधानी बनाएपछि भौतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, पर्यटकीय बिकास हुने भएकाले हामी उत्साही छौ।’ तामाङ बाहुल्य जिल्लामा राजधानी राख्नु ताम्सालिङ्गको पहिलो खुटकिलो प्रवेश भएको भन्दै उनले प्रदेश सभाको पहिलो बैठकका बेला नै एक सय १० साँसदलाई ध्यानाकर्षण पत्र बुझाएर प्रदेशको नाम नेवाः ताम्सालिङ्ग राखेर सरकारी कामकाजको भाषा तामाङ्ग र नेपाल भाषालाई बनाउन माग गरेको बताए।

आफूहरुले माग गर्दै आएको नेवाः राज्यको काठमाडौं, ललितपुर र भक्तपुर तथा ताम्सालिङ्ग राज्यको १० जिल्ला ३ नम्बर प्रदेशमा परेको भन्दै उनले १० जिल्ला जोड्ने ताम्सालिङ्ग मार्ग बनाउन ताम्सालिङ्ग संघर्ष समितिको माग पुरा गराउन पहल गरिने बताए। ताम्सालिङ्ग मार्ग बने तामाङ जातिको आर्थिक, साँस्कृतिक, भाषिक तथा भेषभुषाको समेत विकास, संरक्षण र प्रबद्र्धनमा सहयोग पुग्ने उनको दाबी छ।

प्रदेश नम्बर ३ को संसदमा नेपाली काँग्रेसका तर्फबाट सन्त चेपाङ्ग एक मात्र चेपाङ्ग समुदायका साँसद हुन्। समानुपातिकतर्फबाट साँसद पाएर खुशी भएको चेपाङ्ग समुदाय आफ्नै मुख्य बस्ती छेऊ राजधानी पाउँदा झनै खुशी छन्। सिँहदरबारमा आफुहरुको कुरा खुलेर राख्न नपाएकोमा दुःखेसो गर्दै नेपाल चेपाङ्ग संघ मकवानपुरका अध्यक्ष खेम चेपाङ्गले प्रदेश सभा र मन्त्रिपरिषद बैठकबाट भने चेपाङ्गको माग सुनुवाई गराउन सकिने बताए।

नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष तीर्थबहादुर थापा मगरले संघीयता कार्यान्वयनसँगै नयाँ युगको शुरुवात भएको बताए। ‘हामी आदिवासी जनजाति राज्यको मूलधारबाट पछाडी पर्दै, पारिदै आईरहेका थियौ’, उनले भने– ‘जनजातीलाई मूलधारमा ल्याउन प्रदेश संसद र राजधानीले कोशेढुङ्गाको काम गर्नेमा बिश्वास छ।’

प्रदेश सभाले ब्यवस्थापिका र कानुन निर्माणको काम गर्ने भएकाले आदिवासी जनजाति, महिला, दलित, पिछडिएका बर्गको हीतमा कानुन बनाउँछ कि बनाउँदैन भन्ने कुरा महत्वपूर्ण भएको उनको तर्क छ। सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने कुरा कार्यान्वयन गराउन पनि प्रदेशले भुमिका खेल्नुपर्ने भन्दै उनले थपे– ‘अहिले आदिवासी जनजातिहरु पर्ख र हेरको अबस्थामा रहेको छ।’

हेटौंडाबाट राजधानी सार्न नदिने

मकवानपुरको हेटौंडा राजधानी भएको मकवानपुरसहित धादिङ्ग, चितवनमा मुख्य बसोबास रहेको चेपाङ्ग समुदायले बढी रुचाएको देखिन्छ। आफ्नो मुख्य बसोबास रहेकै जिल्लामा स्थायी प्रदेश राजधानी राखियोस् भन्ने चेपाङ्ग अगुवाको माग छ। नेपाल चेपाङ्ग संघ मकवानपुरका अध्यक्ष खेम चेपाङ्ग चेतावनी दिदै भने– ‘राजधानी कायम राख्न चेपाङ्ग र सीमान्तकृत समुदाय सडकमा उत्रन नपरोस् ।’ काठमाडौं उपत्यकामा बिकास, जनघनत्व र सवारी चाप बढी भएकाले पिछडिएको समुदाय रहेको मकवानपुरमै राजधानी स्थायी बनाउनुपर्ने उनको भनाई छ।

नेपाल तामाङ्ग घेदुङ, मकवानपुरका अध्यक्ष लिलाकुमार घलानले ३ नम्बर प्रदेशको बिकास काठमाडौं उपत्यकाभित्र नभई हेटौंडामै हुनुपर्ने बताए। मध्यमाञ्चल बिकास क्षेत्रको केन्द्र पनि हेटौंडा भएकाले भौतिक संरचनाको अभाव नभएको भन्दै उनले हेटौंडालाई स्थायी राजधानी बनाउन प्रशस्त सम्भावना रहेको बताए। तर ईलाका, क्षेत्रीयता र जिल्लावादी मानसिकता त्याग्न उनले सबैलाई आग्रह पनि गरे।

आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष तीर्थबहादुर थापा मगरले ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा हुनु गर्ब र सुखद बिषय भएको बताए। प्रशासनिक संरचनाको हिसावले पनि उपयुक्त स्थान भएको भन्दै हेटौंडालाई नै स्थायी राजधानी बनाउनुपर्छ भन्ने महासंघको पनि धारणा रहेको उनको भनाई छ। संघीयताको मुल्य, मान्यता नै बिकेन्द्रीकरण भएकाले संघीय राजधानीको वरिपरी प्रदेश राजधानी राखी शासन सत्ताको बागडोर सिंहदरबारमा लैजाने कोशिस राम्रो नभएको उनले बताए।

काठमाडौं–तराई द्रुत मार्ग(फाष्टट्रयाक), मध्यपहाडी लोकमार्गको धरान–चतरा–हेटौंडा सडकखण्ड, कान्तिराजपथको निर्माणमा तिब्रता दिदै हेटौंडा–काठमाडौं सडकहरुको स्तरीकरण र बिकास गरी साँसदहरुलाई आवतजावतमा सहज बनाउनुपर्ने जनजाति अगुवाहरुले बताए।

प्रकाशित: २३ माघ २०७४ १५:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App