७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रदेशसभा बैठककाे तयारी पूरा

प्रदेश १ को प्रदेशसभा भवन । तस्बिर : अजित तिवारी

विराटनगर - प्रदेश नम्बर १ को पहिलो प्रदेशसभाको बैठक आज (सोमबार) अपराह्न १ बजे बस्दैछ । जिल्ला समन्वय समितिको

प्रदेशसभाको पहिलो बैठकको सञ्चालक ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीले गर्नेछन्। झापा भद्रपुर–५ निवासी ७३ वर्षीय सरावगी नेपाली कांग्रेसबाट समानुपातिक प्रदेश सदस्य हुन् । ज्येष्ठ सदस्य सरावगीले प्रदेशसभाको पहिलो बैठक कसरी सञ्चालन गर्ने विषयमा आइतबार अपराह्न पूर्वाभ्यास (डेमोट्रेसन) गरेका छन् । ज्येष्ठ सदस्य सरावगी प्रदेश भवनमा प्रवेश गरेपछि राष्ट्रिय धुन बज्ने र एक मिनेट सहिदका नाममा सम्मान प्रकट गरेपछि प्रदेश १ को पहिलो प्रदेशसभा बैठक आरम्भ हुनेछ।

जिल्ला समन्वय समितिको सभाहलको पूर्वपट्टिको कुर्सीमा सबैभन्दा ठूलो दल नेकपा एमालेका ५१ जना प्रदेश सांसद बस्ने व्यवस्था मिलाइएको छ । पश्चिमपट्टिको अगाडि दोस्रो ठूलो दल नेपाली कांग्रेसका २१ जना प्रदेश सांसदको कुर्सी राखिएको छ। त्यसको पछाडि तेस्रो ठूलो दल माओवादी केन्द्रका १५ जना प्रदेश सांसदको कुर्सी र संघीय समाजवादी फोरमको ३, राष्ट्रिय प्रजातन्त्र पार्टीको १, लोकतान्त्रिक राष्ट्रिय मञ्चको १ र स्वतन्त्र १ सांसद बस्ने कुर्सी राखिएको छ । प्रदेश १ मा प्रत्यक्ष र समानुपातिकका गरी  ९३ जना सांसद छन्।

प्रदेशसभाको पहिलो बैठकको तयारीका लागि केन्द्रीय संसद्को सचिवालयबाट चारजनाको टोली खटिएका छन् । बैठकलाई व्यवस्थित र मर्यादित बनाउन उनीहरू खटिरहेको प्रदेश १ का सचिव यादव कोइरालाले जानकारी दिए । ‘प्रदेशसभा बैठकको सबै तयारी पूरा भइसकेको छ,’ उनले भने, ‘पहिलो बैठकलाई ऐतिहासिक बनाउन कुनै कसर बाँकी राखिएको छैन ।’ प्रदेशसभाको पहिलो बैठक बस्ने जिल्ला समन्वय समितिलाई दुई घेराको सुरक्षा व्यवस्था मिलाइएको छ । प्रदेश १ का प्रहरी प्रमुख एआइजी पशुपति उपाध्यायले प्रदेशसभा बैठकस्थलको सबै सुरक्षा तयारी पूरा भएको बताए।

जिल्ला समन्वय समितिको मुख्य गेटबाहिरको सुरक्षाको कमान्ड सशस्त्र प्रहरीले सम्हाल्नेछ । प्रदेशसभा भवनको भित्री कम्पाउन्डको सुरक्षा बन्दोबस्त नेपाल प्रहरीले गर्नेछ । प्रदेशसभा हल र वरिपरिको सुरक्षाको जिम्मा मर्यादापालकलाई दिइएको छ । केन्द्रीय संसद्जस्तै मर्यादापालकहरू दौरासुरुवाल र ढाकाटोपीमा हुनेछन् । प्रदेशसभाको पहिलो बैठकमा सहभागी हुने सांसदका लागि भने पोसाक कोड अनिवार्य गरिएको छैन।

प्रदेशसभाको पहिलो बैठकमा सहभागी हुन आउने सांसदलाई जिल्ला समन्वय समितिले माला लगाइदिने भएको छ । प्रदेशसभाको पहिलो बैठकमा सातजना सांसदले बोल्नेछन्।

प्रकाशित: २२ माघ २०७४ ०२:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App