coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सरकार गठन गृहकार्यमा एमाले

बुटवल – प्रदेशसभा  बैठकसँगै  सरकार गठनको गृहकार्य पनि अघि बढेको छ । प्रदेश ५ मा नेकपा एमालेले शंकर पोखरेललाई संसदीय दलको नेता चयन गरिसकेको छ । एमाले–माओवादी केन्द्रबीच भएको सहमतिअनुसार प्रदेश ५ सहित प्रदेश १, ३ र ४ मा एमाले र प्रदेश नम्बर ६ र सातमा माओवादीले मुख्यमन्त्री पाउने सहमति भएको छ ।  यो सहमतिअनुसार पोखरेल माओवादीको सहयोगमा प्रदेश ५ को मुख्यमन्त्री चुनिदैंछन्।

मुख्यमन्त्रीको टुंगो लागेकाले पोखरेल र पार्टी नेतृत्वसमक्ष मन्त्री हुन लविइङ तीव्र छ । एमालेमा मन्त्री हुन कपिलवस्तुका विष्णु पन्थी, नवलपरासीका बैजनाथ चौधरी, रूपन्देहीका लिला गिरी र भोजप्रसाद  श्रेष्ठ, गुल्मीका कमल श्रेष्ठ, अर्घाखाँचीका चेतनारायण आचार्य र प्युठानका हरि रिजालले लविइङ गरिरहेका छन् । पन्थीको दाबी आर्थिक मामिला तथा योजनामा छ । चौधरी र गिरीको आन्तरिक मामिला तथा कानुनमा छ । सत्ता साझेदारीमा रहेको माओवादीले आर्थिक मामिला तथा योजना पाउनुपर्ने र त्यो नपाएको अवस्थामा आन्तरिक मामिला तथा कानुन मन्त्रालय दाबी गरेको छ । माओवादीले आन्तरिक मामिला तथा कानुन पाएको अवस्थामा गिरी र चौधरीको प्रभावशाली मन्त्रालय खोजीरहेका छन् । एमाले केन्द्रीय सदस्य लिला गिरीले आकांक्षीले आन्तरिक रूपमा आकांक्षा राखेको भए पनि  पार्टीभित्र औपचारिक छलफल नभइसकेको बताए।

एमाले स्रोतअनुसार मुख्यमन्त्री चयनपछि  पोखरेलले ३ सदस्यीय  मन्त्रिपरिषद् गठन गर्नेछन् । त्यसपछि एमाले–माओवादी २ दलको छलफलमा आवश्यकता अनुसार मन्त्रिपरिषद् विस्तार हुनेछ । प्रदेश ५ मा १० सदस्यसम्मको मन्त्रिमण्डल बनाउने तयारी छ।

एमालेमा उपसभामुख हुन बाँकेकी आरती पौडेल, रूपन्देहीकी विमला  पन्थी र रुकुमकी आशा स्वर्णकार लविइङमा छन् । माओवादीले सभामुखमा  पुरुष पठाउने करिब निश्चित भएपछि एमालेमा महिलाको लविइङ भएको हो । सभामुख र उपसभामुखमध्ये कुनै १ पद पुरुष भए अर्को महिला हुनुपर्ने संविधानमा व्यवस्था छ।

माओवादीमा २१ गते प्रदेशसभाको पहिलो बैठक  सुरु हुनुअघि संसदीय दलका नेता चयन गर्ने तयारी छ । ‘त्यसपछि मन्त्री र सभामुखका बारेमा छलफल अघि बढ्ने छ,’ माओवादी नेता आइपी खरेलले भने।

मन्त्री र सभामुखका लागि माओवादीमा रोल्पाका कुलप्रसाद केसी, दीपेन्द्र पुन रुकुमका पूर्ण घर्ती, बाँकेका आइपी खरेल, रूपन्देहीका माधव शर्मा, दाङका दामा शर्मा, इन्द्रजित चौधरी, प्यूठानका कृष्णध्वज खड्का र गुल्मीका सुदर्शन बलाल आकांक्षी छन् । माओवादी स्रोतका अनुसार यीनैमध्येबाट अवध, थारूवान र मगरात कलष्टर मिलाएर मन्त्री र सभामुख चयन गरिने छ।

माओवादी केन्द्रका पोलिटब्युरो सदस्य माधव शर्माले आन्तरिक रूपमा आकांक्षीको लविइङ हुनु स्वाभाविकै भए पनि औपचारिक छलफल भइनसकेको बताए । ‘संसदीय दलको नेता चयन र सरकार गठनको विषयले प्रवेश पाएपछि छलफल हुन्छ,’ उनले भने।

पाँच नम्बर प्रदेशसभा ८७ सदस्यीय छ । त्यसमध्ये एमालेका ४१ र माओवादीका २० छन् । कांग्रेसका १९, संघीय समाजवादी फोरम  ५,  राजपा र राजमो एक–एक रहेका छन्।
 

प्रकाशित: २१ माघ २०७४ ००:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App