११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मुख्यमन्त्री र एक मन्त्रालय सञ्चालन

मकवानपुर – प्रदेश नम्बर ३ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय शुक्रबारबाट प्रदेश राजधानी हेटौंडामा सञ्चालन गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव रेश्मिराज पाण्डेले पदबहाली गरेसँगै कार्यालय सञ्चालनमा आएको हो।

हेटौंडा–२ मा रहेको जिल्ला समन्वय समितिको नयाँ भवनमा स्थापित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आफ्नो कार्यकक्षमा उनले पदबहाली गरेका हुन् । हाजिरी रजिष्टरमा हस्ताक्षर गर्दै उनले प्रस्तावित भवनहरूमा मन्त्रालय सञ्चालन, स्रोतसाधन व्यवस्थापन र मन्त्रालय रहने कार्यालयको भवन व्यवस्थापन गर्न निर्देशन दिएका छन् । क्षेत्रीय र जिल्ला कार्यालयहरूका प्रमुखको संयुक्त बैठकले निर्णय गरेअनुसार प्रदेशको कार्यालय तथा निवासहरूको व्यवस्थापन पूर्णरूपमा कार्यान्यवन गराउँदै फर्निचर र अन्य आवश्यक सामग्री व्यवस्थापन गराउने पत्रमा उनले हस्ताक्षर गरेका थिए । हाजिरी रजिष्टर र कार्यालय तथा निवासको व्यवस्थापन गर्ने –गराउने  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव रमेशप्रसाद शिवाकोटीले प्रदान गरेका थिए।

पदबहालीपछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सचिव पाण्डेले प्रदेश नम्बर ३ लाई नेपालकै नमूना प्रदेश बनाउने बताए । उनले प्रदेशमा रहेका सबै सरकारी कर्मचारीलाई चुस्तदुरुस्त भएर काम गर्न निर्देशन पनि दिए ।
कार्यक्रममा प्रदेश ३ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव बलदेवप्रसाद जोशी, प्रदेश ३ का प्रहरी प्रमुख एवम् प्रहरी अतिरिक्त महानिरीक्षक केशरीराज घिमिरे, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढासहित सुरक्षा निकाय एवं जिल्ला कार्यालय प्रमुख तथा कर्मचारीको सहभागिता थियो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ४ तले भवनमा २६ कोठा रहेका छन् । शुक्रबार नै बोर्ड राखेर सञ्चालन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयको पनि जिम्मेवारी सरेर आएको बताइएको छ । तत्कालीन मध्यमाञ्चल क्षेत्रीय प्रशासक पाण्डेलाई मन्त्रिपरिषद्ले माघ १० गते प्रदेश ३ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रमुखसचिव तोकेको थियो । बिहीबारको पहिलो बैठकले माघ २७ गते सभामुख चयन गर्ने निर्णय गरेको छ । सभामुख, उपसभामुख चयनपछि मुख्यमन्त्री चयन गर्ने बाटो खुल्ने संवैधानिक व्यवस्था छ ।

सातमध्ये एक मन्त्रालय सञ्चालन
७ वटा मन्त्रालय रहने प्रदेश ३ मा एउटा मन्त्रालय शुक्रबारदेखि सञ्चालनमा ल्याइएको छ । जिल्ला शिक्षा कार्यालय मकवानपुरको भवनमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय स्थापना गरी सञ्चालनमा ल्याइएको छ । शुक्रबार नै मन्त्रालयको बोर्ड राखेर काम सुरु गरिएको बताउँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव पाण्डेले बाँकी मन्त्रालय पनि चाँडै सञ्चालनमा ल्याइने बताए।

उनले पदबहाली गरेसँगै मन्त्रालय सञ्चालन, स्रोतसाधन व्यवस्थापन गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रमेशप्रसाद शिवाकोटीको संयोजकत्वमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव बलदेवप्रसाद जोशी र प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा सदस्य तथा भवन प्रविधी अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाका प्रमुख सुदीप आचार्य सदस्य सचिव रहेको कार्यदल तोकी जिम्मेवारी दिएका छन्।

बाँकी ६ वटा मन्त्रालयका लागि श्रम कार्यालय हेटौंडाको नवनिर्मित भवन, डिभिजन सहकारी कार्यालय, मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय, क्षेत्रीय वन निर्देशनालय, जिल्ला वन कार्यालय, महिला तथा बालबालिका कार्यालय र क्षेत्रीय बिउबिजन प्रयोगशालाको भवन प्रस्ताव गरिएको छ । थप गृहकार्य गरेर मन्त्रालय भवनको अन्तिम टुंगो लगाइने कार्यदलका सदस्य सचिव सुदीप आचार्यले जानकारी दिए । उनका अनुसार मन्त्रालयका लागि प्रस्तावित कार्यालय सार्ने र भवनमा रंगरोगन भइरहेको छ ।

कार्यालयहरू साँरिदै, भवनहरू सिंगारिँदै
जिल्ला समन्वय समितिको नयाँ भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राखिएपछि जिल्ला समन्वय समिति आफ्नै पुरानो भवनमा सरेको छ । त्यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालय राखिएपछि जिल्ला शिक्षा कार्यालय भने अगुवा स्रोतकेन्द्रमा सरेको छ।

संविधानअनुसार फागुन ३ गतेभित्र मुख्यमन्त्री चयन गरिसक्नुपर्ने भएकाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सञ्चालनमा ल्याइएको हो।

डिभिजन सहकारी कार्यालय र महिला तथा बालबालिका कार्यालय हेटौंडा उपमहानगरपालिकाको भवनमा, क्षेत्रीय स्वास्थ्य निर्देशनालय स्वास्थ्यको प्रशासनिक भवनमा, क्षेत्रीय वन निर्देशनालय जिल्ला भू–संरक्षण कार्यालय भवनमा सारिने भवन प्रविधी अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाका प्रमुख आचार्यले बताए।

जिल्ला वन कार्यालय र क्षेत्रीय बिउबिजन प्रयोगशालाको भवन आंशिक मात्र प्रयोगका लागि प्रस्ताव गरिएकाले ती कार्यालय यथावत सञ्चालन हुनेछन् । यसअघि नै मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयलाई प्रदेश प्रमुखको कार्यालय र मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा प्रदेशसभा सचिवालय सञ्चालनमा ल्याइसकिएको छ।

प्रकाशित: २१ माघ २०७४ ००:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App