८ वैशाख २०८१ शनिबार
राजनीति

‘शासन पद्धति’ सिक्दै जनप्रतिनिधि

फोटो क्याप्सनः स्थानीय सरकार संचालन सम्बन्धी अभिमुखिकरण कार्यक्रममा सहभागि केआईसिँह गाउँपालिकाका गाउँसभाका सदस्य र कर्मचारीहरु। तस्बिरः अरूण बम

डोटी- शीखर नगरपालिका–१ डोटीका वडाध्यक्ष खडक बहादुर शाही ‘अधिकार सम्पन्न’ स्थानीय तहमा निर्वाचित भए। जनताबाट अधिकार घरदैलोमा पुर्‍याउने विश्वासिलो प्रतिनिधिको रुपमा चुनिदा उनलाई उत्साह र अन्यौलता एकैसाथ थपियो। ऐतिहासिक भूमिका पाउँदा उनी उत्साहित थिए भने, शासन पद्धती, अधिकार क्षेत्र, कानुनी अवधारणा, नीतिगत अस्पष्टताका कारण उनी आफुले निर्वाह गर्ने भूमिका बिषयमा अन्यौल थिए।

‘न पर्याप्त ज्ञान नै थियो। न पुरापुर नीतिगत ब्यबस्था। यहि बिचमा आफुले निर्वाह गर्नुपर्ने भूमिका बिषयमा अनभिज्ञताका बिचमा पनि काम गर्नुपर्ने बाध्यता रह्यो,’ उनी भन्छन्,‘यसकारण जनताका अपेक्षा पुरा गर्न नसकिने हो की भन्ने चिन्ता पनि जागिरह्यो।’

उनको जस्तै असहजता नगरपालिकाका सबै नवनिर्वाचित जनप्रतिनिधिहरुको छ। ‘नयाँ संरचनामा मुलुक अघि बढ्यो। सोही अनुसार हामी पनि चुनियौ,’ नगर प्रमूख सीताराम जोशी भन्छन्,‘चुनिन त चुनियौ। तर, कार्यसंचालन गर्दा भने ठाउँठाउँमा कठिनाई आउने स्थिती बन्ने देखियो। कारण थिए, स्पष्ट नीतिगत ब्यबस्था नहुनु र भएकामा पनि पर्याप्त जानकारी नहुनु।’

जसका समाधानका लागि नगरपालिकाले आफै जुक्ती निकालेको छ । जसका लागि नगरपालिकाकै स्रोतमा नगर सभाका सम्पूर्ण सदस्य र कर्मचारीहरुलाई स्थानीय सरकार सञ्चालनका ऐन नियम सम्बन्धि अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ। शनीबार र आईतबार गरी दुई दिन बिज्ञमार्फत आवश्यक ज्ञानसीप र नीतिगत ब्यबस्थाबारे जानकारी लिन अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको नगरपालिकाले जनाएको छ।

‘जनताको काम गर्न र सेवा दिन पहिले आफै सक्षम बन्नुपर्छ भनेर यो अभिमुखिकरण कार्यक्रम थालेका हौ,’ नगरप्रमूख जोशीले भने,‘मेयर र उपमेयरलाई त संघ सरकारले नै तालिम दियो । तर अरु साथीहरुलाई नदिएका कारण उहाँहरुलाई पनि सिकाउन यो प्रयास गरेका छौ ।’

शिखर नगरपालिका जस्तै डोटीकै केआईसिँह गाउँपालिकाका जनप्रतिनिधीहरुले पनि सोही अभिमुखिकरण लिईरहेका छन् । शनीबारबाटै केआईसिँह गाउँपालिकाले पनि दुई दिने अभिमुखिकरण शुरु गरेको छ।

‘करिब आधा बर्ष बितिसक्दा अझै अनभिज्ञता रह्यो । नयाँ संरचना, नयाँ अधिकार, नयाँ काम कर्तव्य ब्यबस्थापन गर्न कठिनाई हुन थालेपछि पहिले आफै सिक्न यो कार्यक्रम आयोजना गरेका हौ,’ केआई सिँह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले भने,‘सेवा प्रदायक ब्यक्ति नै आफ्नो काम, कर्तब्य र अधिकारका साथै नीतिगत ब्यबस्थाबारे जानकार नहुँदा कठिनाई हुन्छ। तसर्थ यी कुराहरुबारे ज्ञान लिन आफै प्रयास थालेका हौ।’

दुबै स्थानीय तहका अभिमुखिकरण फरक–फरक ठाउँमा संचालन भैरहेका छन्। जसलाई निबृत्त भैसकेका डोटीका पूर्ब प्रमूख जिल्ला अधिकारी गोकर्ण प्रसाद शर्मा र जिल्ला समन्वय समिति डोटीका पूर्ब स्थानीय बिकास अधिकारी कृष्ण प्रसाद गौतमले सहजीकरण गरिरहेका छन्।

नेपालको शासन प्रणाली, स्थानीय तह र स्थानीय तहका काम, कर्तब्य र अधिकारबारे भएका नीतिगत ब्यबस्था, स्थानीय सरकार संचालन सम्बन्धी ब्यबहारिक दक्षता, स्रोतसाधनको परिचालन, नियमित कार्यसम्पादन लगायतका बिषयबस्तुमा अभिमुखिकरण भैरहेको छ।

 

               

 

प्रकाशित: २० माघ २०७४ १३:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App