१६ चैत्र २०८० शुक्रबार
राजनीति

ठूला पद हात पार्न दौडधूप

जनकपुरधाम – प्रदेशसभा बैठक नजिकिँदै गर्दा प्रदेश २ मा सभामुख, उपसभामुख, मुख्यमन्त्री र मन्त्रीका  आकांक्षीहरु सक्रिय भएका छन् । खासगरी संघीय समाजवादी फोरम तथा राजपाभित्र पदका आकांक्षीले दौडधूप गर्न थालेका छन् । पहिलो बैठकबाटै सभामुख चयन गर्न मिति तोकिने छ ।  सभामुख र उपसभामुख चयन भइसकेपछि मन्त्रिपरिषद् गठन प्रक्रिया अगाडि बढ्नेछ ।

प्रदेशसभामा सबैभन्दा बढी सिट जितेको संघीय फोरमले मुख्यमन्त्री र राजपाले सभामुख लिनेगरी गठबन्धन सरकार बनाउने देखिएको छ । एक सय सात सदस्य रहेको प्रदेशसभामा सरकार गठन गर्न कम्तीमा ५४ सदस्यको समर्थन आवश्यक पर्छ । फोरम र राजपा मिले बहुमत पुग्छ । प्रदेशसभामा फोरमको २९ र राजपाको २५ सिट छ ।ठूलो दलको हैसियतले फोरमले मुख्यमन्त्री पाउने भएपछि राजपाको भागमा सभामुख पर्छ । प्रदेश सरकार गठन गर्न यी दुई दलबीच अनौपचारिक छलफल चलिरहेको छ । प्रदेशसभा चुनावमा पनि दुवै दलले तालमेल गरेका थिए ।

प्रदेशमा सरकार गठन र सभामुख तथा उपसभामुख चयन विषयमा छलफल गर्न दुवै दलले माघ २० गते संसदीय दलको बैठक आह्वान गरेका छन् । फोरम संसदीय दलको बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवलगायत वरिष्ठ नेताहरु सहभागी हुनेछन् । उक्त बैठकले सरकार गठनका लागि गठबन्धन निर्माण र संसदीय दलको नेताबारे निर्णय गर्न फोरमका प्रदेश सचिव शेषनारायण यादवले बताए ।यस्तै राजपा संसदीय दलको बैठकमा अध्यक्ष मण्डलका सबै सदस्य महन्थ ठाकुर, महेन्द्र यादव, राजेन्द्र महतो, राजकिशोर यादव, शरत्सिंह भण्डारी र अनिल झा सहभागी हुनेछन् । बैठकमा संसदीय दलको नेता तथा सभामुख र मन्त्रीहरुको नाम टुंगो लगाउनेगरी छलफल अगाडि बढ्ने केन्द्रीय सदस्य परमेश्वर साहले बताए।

स्रोतको अनुसार राजपामा महोत्तरीकी सुरिता साह, बाराका जितेन्द्र सोनार र सप्तरीका नवलकिशोर साह तथा मनिष सुमनले सभामुखका लागि दौडधुप सुरु गरेका छन् । पार्टीले मुख्यमन्त्री पाए सोही पद नभए सभामुखका लागि आफ्नो नाम सिफारिस गराउन उनीहरुले शीर्षस्थ नेताको घरदैलो चहार्न थालेको एक नेताले बताए ।

बैठक पूर्वतयारीमा सचिवालय   
प्रदेशसभा पहिलो बैठक व्यवस्थित र मर्यादित बनाउन सभा सञ्चालन समितिले पूर्वतयारी नमुना अभ्यास गर्ने भएको छ । बिहीबार प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थसहितको उपस्थितिमा बस्न लागेको सचिवालय बैठकबाट सम्बद्ध सबै पक्षसँग छलफल गरी शुक्रबार प्रदेशसभा बैठकको नमुना अभ्यास गर्ने तयारी छ ।

बिहीबारको बैठकमा संसद सचिवालयबाट पठाइएको सहसचिव नेतृत्वको पाँच सदस्यीय टोली, प्रदेश प्रमुख सचिवालयका कर्मचारी तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलबाट तीनतीनजना प्रदेशसभा सदस्य सहभागी हुनेछन् । प्रदेशसभा बैठकको विधि र प्रक्रिया, मर्यादापालकको भूमिका, प्रदेश मन्त्रिपरिषद्का सदस्य तथा दलका विधायकलाई सिट व्यवस्थापनलगायतका विषयमा छलफल गरिने प्रदेशप्रमुख कायस्थले बताए ।

प्रदेश सचिवालय तथा सभाको बैठक व्यवस्थापनमा परिचालन हुने कर्मचारीलाई सम्बन्धित विषयमा प्रशिक्षित गर्न संसदीय समितिले टोली पठाएको छ । सहसचिव वंशीधर पौडेलको नेतृत्वमा आएको उक्त टोलीमा रञ्जीत यादव, राजन घिमिरेलगायत छन् । पौडेलले १५ दिन र टोलीका अन्य कर्मचारीले एक महिनासम्म जनकपुरमै बसेर स्थानीय कर्मचारीलाई बैठक सञ्चालन विधि र उनीहरुको भूमिकाबारे प्रशिक्षण दिनेछन् ।

यो प्रदेशमा फागुन १० गतेसम्म मन्त्रिपरिषद् गठन भइसक्नुपर्नेछ । यसका लागि माघ २१ गते बस्न लागेको प्रदेशसभाको प्रथम बैठकबाट सभामुखको चुनाव मिति तय हुनेछ । लगत्तै बस्ने अर्को बैठकबाट सभामुख चयन गर्नुको साथै उपसभामुखको चुनाव मिति तोक्ने र सभामुखले बैठक सञ्चालन गर्न थालेपछि मन्त्रिपरिषद् गठन प्रक्रिया अगाडि बढाउनेगरी कार्यसूची बनिरहेको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

रातारात तयार हुँदै प्रदेशसभा कक्ष
सरकारले ढिलोगरी प्रदेशको अस्थायी मुकाम तोकेका कारण माघ २१ गते बस्न लागेको प्रथम प्रदेशसभा बैठकका लागि रातारात तयारी गरिँदैछ । सहरी विकास तथा भवन डिभिजन कार्यालयले प्रदेशसभा भवनमा लाइट तथा साउन्ड व्यवस्थापन, फर्निचर र मर्मत सम्भार तथा सरसफाइको काम गरिरहेको छ ।
१ सय ५० जना बस्न मिल्नेगरी सभाहलमा नयाँ टेबुल बनाइँदैछ । रङरोगन तथा सभाहलको मर्मत कार्य फास्ट ट्र्याकबाट गरिरहेको यादवले बताए । समय अभावका कारण सबै काम एकैसाथ गर्नुपर्ने भएपछि छुट्टाछुट्टै ठेक्का लगाएर २० गतेसम्म पूरा गर्नेगरी तयारी भइरहेको उनले बताए ।

सुरुमा प्रदेशसभाको बैठक हल, सभामुख तथा उपसभामुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय तथा मन्त्रालय सबै शैक्षिक तालिम केन्द्रमै राख्ने भनिए पनि ठाउँ अभाव देखिएपछि दुई ठाउँमा व्यवस्थापन गर्न लागिएको छ । अहिले शैक्षिक तालिम केन्द्रमा प्रदेशसभाको बैठक हल, सभामुख र उपसभामुखको कार्यालय तथा निवास व्यवस्थापन गर्न लागिएको छ ।

सोही परिसरमा रहेको जिल्ला शिक्षा कार्यालयको भवनमा संसदीय दल तथा संसदीय समितिहरुको कार्यालय र छात्रावास भवनहरुमा कर्मचारी तथा सुरक्षाकर्मीको बासस्थान व्यवस्थापन गर्न लागिएको यादवले जानकारी दिए । प्रदेश प्रमुखको कार्यालय, सचिवालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मन्त्रालय तथा मन्त्रीनिवास जनकपुर चुरोट कारखानाको आवास क्षेत्रमा व्यवस्थापन गरिँदैछ । प्रदेश प्रमुखको कार्यालय र निवास प्रयोगमा आइसकेको छ भने मुख्यमन्त्रीको कार्यालय तथा मन्त्रालयका लागि आवश्यक तयारी जारी छ ।

 

प्रकाशित: १८ माघ २०७४ ०१:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App