१६ चैत्र २०८० शुक्रबार
राजनीति

प्रदेशसभा बैठक : कुन प्रदेशमा कहिले ?

प्रदेशसभा भवनका रुपमा छनोट गरिएको धनुषा, जनकपुरस्थित शैक्षिक तालिम केन्द्र तस्बिर: सुरेश यादव

काठमाडौं – संघीय संरचना अनुसारको प्रदेश संसद अन्तर्गत ७ वटै प्रदेशमा प्रथम  प्रदेशसभा बैठक आह्वान गरिएको छ। नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम सम्बन्धित प्रदेशका प्रमुखले बैठक आह्वान गरेका हुन्।

प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ। सोही अधिकारलाई टेकेर ७ वटै प्रदेशमा प्रदेश प्रमुखले दलहरूसँग समन्वय गरी बैठकको मिति तय गरेको र अधिकांश प्रदेशमा आइतबार बैठकको औपचारिक सूचना जारी गरिएको संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिए। उनका अनुसार बैठकका लागि सबै प्रदेशमा भौतिक संरचना, बैठक सञ्चालनको खाकालगायत आवश्यक तयारी भइरहेको छ।

कुन प्रदेशमा कहिले ?

हाम्रा क्षेत्रीय सम्वाददाताहरुका अनुसार प्रदेश नम्बर १ मा बैठकको मिति टुंगो लाग्न बाँकी छ। प्रदेश प्रमुख गोविन्द सुब्बा माघ २१ गते बैठक बोलाउने तयारीमा छन्। मिति टुंगो लगाउन सुब्बाले भोलि सर्वदलीय बैठक बोलाएका छन्। बैठकपछि पत्रकार सम्मेलन गरी मिति सार्वजनिक गरिने विराटनगरबाट नागरिककर्मी अजित तिवारीले जानकारी दिएका छन्। ‘२२ गते अघि नै बैठक राख्ने तयारी छ,’ उनले भने। उनका अनुसार बैठक जिल्ला समन्वय समिति मोरङको सभाहलमा बस्नेछ।

प्रदेश नम्बर २ मा माघ २१ गते बिहान ११ बजे पहिलो बैठक बस्न लागेको हाम्रा सम्वाददाता रितेश त्रिपाठीले जनाएका छन्। उनका अनुसार प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले जनकपुरस्थित शैक्षिक तालिम केन्द्रमा बस्नेगरी बैठक बोलाएका हुन्। उक्त बैठकका लागि सभाहलभित्र फर्निचर तथा सजावटको काम जारी छ। जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि) को कबर्ड हललाई स्थायी रुपमा प्रदेशसभा भवनका रुपमा प्रयोग गर्ने योजना छ। यहाँ आइतबार बैठकको औपचारिक सूचना समेत जारी गरिएको छ।

प्रदेश नम्बर ३ मा माघ १८ गते प्रदेशसभाको बैठक बस्ने भएको छ। हाम्रा सम्वाददाता अशोकसुजन श्रेष्ठका अनुसार प्रदेश प्रमुख अनुराधा कोइरालाले मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडामा बस्नेगरी बैठक आह्वान गरेकी हुन्। दिउँसो १ बजे बस्ने बैठकको तयारी भइरहेको छ। बैठकको औपचारिक जानकारी दिन यहाँ आइतबार सार्वजनिक सूचना जारी गरिएको छ।

प्रदेश नम्बर ४ मा यही माघ २२ गते प्रदेशसभाको बैठक बस्ने तय भएको छ। प्रदेश प्रमुख बाबुराम कुँवरले पोखराको नदीपुरस्थित पोखरा उपत्यका नगर विकास प्रशिक्षण केन्द्रको सभाकक्षमा बस्नेगरी बैठक आह्वान गरेको कास्कीबाट हाम्रा सम्वाददाता सन्तोष पोखरेलले जानकारी दिएका छन्। बैठक बिहान ११ बजे बस्नेछ। बैठकबारे आइतबार औपचारिक सूचनामार्फत जानकारी दिइएको छ।

प्रदेश नम्बर ५ मा प्रदेशसभाको बैठक यही माघ २१ गते बस्ने भएको छ। प्रदेश प्रमुख उमाकान्त झाले बुटवल उद्योग वाणिज्य संघको सभाहलमा बैठक आह्वान गरेको प्रदेश प्रमुख कार्यालय सचिव सनतकुमार दवाडीले जानकारी दिए। बैठक दिउँसो १ बजे बस्नेछ।

प्रदेश नम्बर ६ मा बैठकको मिति टुंगो लाग्न बाँकी छ। हाम्रा सम्वाददाता जनक केसीका अनुसार प्रदेश प्रमुख दुर्गाकेशर खनाल मिति तोक्नका लागि दलहरुसँग परामर्शमा छन्। ‘प्रदेश प्रमुख २१ वा २२ गते बैठक बोलाउने तयारीमा हुनुहुन्छ, दलहरुसँग समन्वय भइरहेको जानकारी दिनुभएको छ,’ केसीले भने। ६ नम्बरको बैठक वीरेन्द्रनगरस्थित जिल्ला समन्वय समितिको सभाहलमा बस्नेछ।

प्रदेश नम्बर ७ मा भने माघ २१ गते बैठक बस्ने भएको छ। प्रदेश प्रमुख मोहनराज मल्लले धनगढीस्थित जिल्ला समन्वय समितिको सभाहलमा प्रदेशसभा बैठक बोलाएको कैलालीबाट हाम्रा सम्वाददाता दिलबहादुर छन्त्यालले जानकारी दिए। बैठक दिउँसो १ बजेदेखि सुरु हुने बताइएको छ। 

नेपालमा नयाँ अभ्यासका रुपमा रहेको प्रदेशसभाका सम्बन्धमा संविधानको भाग १३, १४, १५ र १६ मा क्रमशः प्रदेश कार्यपालिका, प्रदेश व्यवस्थापिका, प्रदेश व्यवस्थापन कार्यविधि र प्रदेश आर्थिक कार्यप्रणालीको व्यवस्थाका साथै अन्य धारा एवम् अनुसूचीमा प्रदेशसभासँग सम्बन्धित विषय उल्लेख गरिएको छ।

संविधानको धारा १८४ उपधारा १ मा प्रदेश प्रमुखले प्रदेशसभाको बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थितिको आह्वान गर्न सक्ने उल्लेख छ। उक्त धाराकै उपधारा २ मा प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशनको प्रारम्भ भएपछि प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने उल्लेख छ।

प्रकाशित: १४ माघ २०७४ ११:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App