६ वैशाख २०८१ बिहीबार
राजनीति

शैक्षिक तालिम केन्द्रमा प्रदेशसभा बैठक

प्रदेशसभा भवनका रुपमा सिँगारिँदै जनकपुरस्थित शैक्षिक तालिम केन्द्र भवन । तस्बिर : सुरेश

जनकपुरधाम – प्रदेश नम्बर २ को प्रथम प्रदेशसभा बैठक जनकपुरस्थित शैक्षिक तालिम केन्द्रमा बस्ने भएको छ । माघ २१ गते बिहान ११ बजे बस्न लागेको उक्त बैठकका लागि सभाहलभित्र फर्निचर तथा सजावटको काम जारी छ । गत ७ गते प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेशसभा सदस्यलाई जनकपुर उद्योग वाणिज्य संघको राजर्षिजनक सभागृहमा शपथ ग्रहण गराएका थिए। 

जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि) को कबर्ड हललाई स्थायी रुपमा प्रदेशसभा भवनका रुपमा प्रयोग गर्ने सरकारको तयारी छ । जचुकालिको भवन जीर्ण रहेको र मर्मतसम्भार गर्न केही समय लाग्ने भएकाले तत्कालका लागि शैक्षिक तालिम केन्द्रलाई उपयोगमा ल्याउन लागिएको जिल्ला प्रशासन कार्यालय धनुषाका एक अधिकृतले बताए। 

उद्योग मन्त्रालयमातहत रहेको जचुकालिको निवास क्षेत्रतर्फ करिब २० बिघा जग्गा तथा त्यसमा रहेका करिब डेढ दर्जन भवन विमलेन्द्र निधि गृहमन्त्री छँदा गृहको स्वामित्वमा ल्याइएको थियो । प्रदेशसभा भवन, प्रदेश प्रमुख, सभामुख तथा मुख्यमन्त्रीको कार्यालय तथा निवास र सातवटै मन्त्रालय जचुकालिभित्रै राख्न सकिने भौतिक संरचना छ । सामान्य मर्मतसम्भार गरी उक्त संरचना प्रयोगमा ल्याउन सकिने सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख गंगाप्रसाद यादवले बताए। 

हाल सबै व्यवस्था शैक्षिक तालिम केन्द्रमा गर्न लागिएको छ । प्रदेशको अस्थायी मुकाम तोक्नुअघि सरकारले गठन गरेको प्रादेशिक राजधानीका लागि भौतिक संरचनाको अध्ययन तथा सिफारिस समितिले जनकपुरको शैक्षिक तालिम केन्द्र तथा सोही स्थानमा रहेको जिल्ला शिक्षा कार्यालयको संरचनालाई प्रदेशसभा एवं प्रदेश सरकारको कार्यालयका रुपमा उपयोग गर्न सिफारिस गरेको थियो । तालिम केन्द्रमा प्रदेशसभाको बैठक कक्ष र शिक्षा कार्यालयमा मुख्यमन्त्रीको कार्यालय राख्ने तयारी गरिँदैछ।

प्रदेशमा सातवटा मन्त्रालय कायम गरिने सम्भावनालाई ध्यानमा राखी आवश्यक तयारी अगाडि बढाइएको समितिको सदस्यसचिवसमेत रहेका भवन डिभिजन प्रमुख यादवले बताए । उनका अनुसार तालिम केन्द्र सञ्चालन रहेको भवनमा दुईवटा मन्त्रालय, तालिम केन्द्रकै पुरुष शिक्षक (प्रशिक्षार्थी) आवासमा तीनवटा मन्त्रालय र महिला शिक्षक आवासमा दुईवटा मन्त्रालय राख्ने तयारी गरिँदैछ । प्रदेशसभा कक्ष, प्रदेशसभाका सभामुखको कार्यालय तथा सभामुख निवास पनि सोही भवनमा व्यवस्थापन हुँदैछ। 

मुख्यमन्त्रीको कार्यालय तथा मुख्यमन्त्री निवास भने शैक्षिक तालिम केन्द्रकै परिसरमा रहेको जिल्ला शिक्षा कार्यालय भवनमा व्यवस्थापन गरिने भएको छ । स्थानीय स्तरबाट भएको सिफारिस र हाल भइरहेको तयारीका आधारमा प्रदेश सरकारको मातहतमा रहने सबै मन्त्रालय, प्रदेशसभा भवन तथा मुख्य मन्त्रीको कार्यालय एउटै कम्पाउन्डभित्र रहनेछन्।
प्रदेश प्रमुखको कार्यालय र निवास भने जचुकालिको निवास क्षेत्रमै व्यवस्थापन गरिसकिएको छ । प्रदेश प्रमुखको कार्यालय प्रदेश प्रहरी प्रमुखको कार्यालयअगाडि रहेको नेपाल राष्ट्रबैंकको अतिथि गृहमा राख्ने तयारी छ । प्रदेश प्रमुखको निवास पनि सोही कार्यालयको परिसरमा व्यवस्थापन गर्न लागिएको प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागाईंले बताए। 

समितिले प्रदेशसभा भवन, प्रदेश सरकारको कार्यालय तथा मन्त्रालयका लागि आवश्यक फर्निचर, लाइट, साउन्डलगायतको तयारी पूरा गर्न सरकारसँग ५५ करोड रुपैयाँ माग गरेको छ। 

आफ्नो भवनमा प्रादेशिक सरकार सञ्चालनमा आउने भएपछि शैक्षिक तालिम केन्द्रलाई ग्रामीण विकास तालिम केन्द्रमा सार्न लागिएको छ । मुजेलियास्थित ग्रामीण विकास तालिम केन्द्र परिसरमा हाल सडक डिभिजनको कार्यालय, सशस्त्र प्रहरी सीमा सुरक्षा बलको कार्यालय र ग्रामीण विकास तालिम केन्द्र सञ्चालनमा छन् । 

 

प्रकाशित: १३ माघ २०७४ ०२:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App