१६ चैत्र २०८० शुक्रबार
राजनीति

काठमाडौंमा मनाइयो भारतीय गणतन्त्र दिवस (फोटो फिचर)

काठमाडौं – भारतको ६९औं गणतन्त्र दिवसका अवसरमा शुक्रबार लैनचौरस्थित भारतीय राजदूतावासले विविध कार्यक्रमको आयोजना गरेको छ।

नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले आफ्नो देशको राष्ट्रिय झण्डा फहराए कार्यक्रमको सुरुवात गरे। लगत्तै राष्ट्रपति रामनाथ कोविन्दको सन्देश पढेर सुनाए। झण्डोत्तोलन समारोहमा एक हजार भन्दा बढीको उपस्थिती थियो।

समारोहमा काठमाडौंमा रहेको भारतको केन्द्रीय विद्यालय, मोर्डन इण्डियन स्कुल र भारतीय सांस्कृतिक केन्द्रले राष्ट्रिय गान प्रस्तुत गरेका थिए भने नेपाली सेनाको ब्याण्डले शानदार प्रस्तुत दिएको थियो।

सो अवसरमा राजदूत पुरीले ७ एकल महिला, ४ मृत सैनिकका परिवारलाई र एक अपाङ्ग सैनिकप्रति सम्मान व्यक्त गर्दै ४.१४ करोड रुपैयाँ र प्रत्येकलाई एक एक वटा कम्बल वितरण गरेका थिए। नेपाल निवासी भूपू सैनिकका लागि भारत सरकारसँग कल्याणकारी सेवा सुविधाका लागि पहल गर्ने प्रतिबद्धता राजदूत पुरीले दोहोर्याए।

समारोहमा राजदूत पुरीले नेपालका विभिन्न अस्पताल, गैर नाफामुलक संस्था र शैक्षिक संस्थालाई ३० एम्बुलेन्स र ६ बसको साँचो हस्तान्तरण गरे। नेपालमा स्वास्थ्य सेवा र शैक्षिक सेवामा दुरदराजका जनताको पहुँच पुर्याउन १९९४ पछि भारतले ६६२ एम्बुलेन्स र १३० बस उपहार दिएको छ। दूतावासले ४१ शैक्षिक संस्था र पुस्तकायललाई दुरदराजका क्षेत्रमा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्नका लागि पुस्तक अनुदान दिने घोषणा गरेको छ। साथै उत्कृष्ट विद्यार्थीलाई छात्रवृति प्रदान गरियो।

औपचारिक समारोह सकिएपछि राजदूत पुरीले गणतन्त्र दिवसलाई भव्य रुपमा मनाउन दूतावासस्थित इण्डिया हाउसमा एक स्वागत समारोहको आयोजना गरे। जहाँ उपराष्ट्रपति नन्दबहादुर पुन प्रमुख अतिथिका रुपमा उपस्थित भए। विशिष्ट अतिथिका रुपमा प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित थिए।

दूतावासका अनुसार स्वागत समारोहमा राजनीति दलका वरिष्ठ नेता, समाजका चर्चित व्यक्तित्व, भारत र नेपालका नागरिक उपस्थित थिए। समारोहमा भारतीय कलाकारले सांस्कृतिक प्रस्तुति दिएका थिए। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App