coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

७ नम्बर प्रदेशमा ६ जना निर्विरोध

डोटी- राष्ट्रिय सभा निर्वाचन अन्तर्गत ७ नम्बर प्रदेशमा ६ जना उम्मेदवार लगभग निर्विरोध निर्वाचित हुने देखिएका छन्। एकल संक्रमणिय निर्वाचन प्रणाली आकर्षित हुने खुल्ला र महिला समूहमा एउटा प्रदेशबाट तीन/तीन जना उम्मेदवार निर्वाचित हुने प्राबधान छ। सोही अनुसार दुबै समूहमा तीन/तीन जनाको मात्रै उम्मेदवारी परेको छ।

खुल्ला तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री प्रसाद पाण्डे, नेकपा एमाले अछामका अध्यक्ष शेर बहादुर कुँवर र नेकपा माओबादी केन्द्रका हरेराम चौधरीको उम्मेदवारी परेको हो, भने महिला तर्फ नेकपा एमालेका कमला ओली, एमालेकै ईन्दु कडरिया र नेपाली कांग्रेसकी तारादेबी भट्टको उम्मेदवारी परेको छ।

उनीहरुको उम्मेदबारीमाथि दाबी–बिरोध नपरे निर्विरोध निर्वाचित भएको घोषणा हुने निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए। ‘आवश्यक पदअनुसार नै उम्मेदवारी परेको छ,’ उनले भने,‘यदि उम्मेदवारी उपर दाबी–बिरोध नपरे। निर्विरोध निर्वाचित हुनुहुनेछ।’ निर्वाचित भएको घोषणा भने १४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशनका क्रममा हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

दलहरुले एकल संक्रमणिय निर्वाचन प्रणाली अन्तर्गत निर्वाचित हुने सम्भावना रहेको संख्याका आधारमा नै मनोनयन दर्ता गराएकाले निर्विरोध निर्वाचित हुने अबस्था आएको हो । ७ नम्बर प्रदेशका ५३ जना प्रदेश सांसदको ४८ का दरले दुई हजार पाँच सय ५५ र ८८ स्थानीय तहका एक सय ७६ प्रमूख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षको १८ का दरले तीन हजार एक सय ६८ गरी पाँच हजार सात सय १२ मतभार रहेको छ।

जसअनुसार एक जना सांसद निर्वाचित हुन लागि एक हजार चार सय २९ मतभार चाहिन्छ। नेपाली कांग्रेससंग कुल एक हजार आठ सय ७२ मतभार रहदा खुल्ला र महिला समूहमा एक/एकजना सांसद जिताउन मात्रै मतभार पुग्ने भएकाले सोही संख्यामा मनोनयन दर्ता गराएको उम्मेदबार एबं नेपाली कांग्रेसका केन्द्रीय सदस्य पाण्डेले बताए।

बामगठबन्धनले पनि नतिजाबारे प्रष्ट ज्ञान हुँदाहुँदै प्रक्रिया नबढाउन जितिने मतभार हेरेर मनोनयन दर्ता गराएको जनाएको छ। ‘जे छ प्रष्टै छ। किन प्रक्रिया बढाउने भनेर फिक्स उम्मेदबार दिएका हौ,’ मनोनयन दर्ताका क्रममा निर्वाचन अधिकृतको कार्यालय पुगेका नेकपा एमालेका उपाध्यक्ष भिम रावलले भने,‘यसले निर्वाचन अधिकृतको कार्यालयलाई पनि सहज हुने छ।’

बहुमतिय प्रणालीबाट निर्णय हुने दुई पदहरु अल्पसंख्यक र दलितमा भने नेपाली कांग्रेस र बाम गठबन्धनको उम्मेदबारी परेको छ। दलिततर्फ नेपाली कांग्रेसका शेरीराम पार्की र अल्पसंख्यकमा छत्रराज जोशीको उम्मेदवारी परेको छ भने, बामगठबन्धनका तर्फबाट अल्पसंख्यकमा माओवादी केन्द्रका महेश कुमार महरा र दलितमा एमालेका चक्रप्रसाद स्नेहीको उम्मेदबारी परेको छ।

बाम गठबन्धनले ६ जना सांसदको सिटमा बाँडफाँड गरेर भागबण्डा मिलाएको छ। जसअनुसार खुल्लामा एमाले र माओवादी केन्द्रले एक/एक सिटमा उम्मेदवारी दिएका छन। महिलामा दुई सिट एमालेले लिदा माओवादी केन्द्रले थप मनोनयन दर्ता गराएको छैन्। अल्पसंख्यक माओवादी केन्द्रको भागमा पर्दा दलितको सिटमा भने एमालेले मनोनयन दर्ता गराएको छ।

मनोनयन दर्ता गर्न आफ्ना उम्मेदवारसंगै बामगठबन्धनका ७ नम्बर प्रदेशका नेताहरु नेकपा एमालेका उपाध्यक्ष एबं सुदूरपश्चिम ईन्चार्ज भिम रावल र नेकपा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य एबं प्रदेश ईन्चार्ज लेखराज भट्ट सहितको टोली निर्वाचन अधिकृतको कार्यालय पुगेको थियो। नेपाली कांग्रेसका तर्फबाट भने उम्मेदवार र स्थानीय कार्यकर्ताहरुको टोली समावेश थियो।

७ नम्बर प्रदेशबाट कुल ८ जना सांसद निर्वाचित हुनेछन्। जसमा १० जनाको उम्मेदवारी परेको छ।  निर्वाचन कार्यतालिका अनुसार बिहिबार र शुक्रबार उम्मेदवारको नामावली उपर दाबी बिरोधको समय छ। १४ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेर १५ गते निर्बाचन चिन्ह प्रदान गरिने छ । माघ २४ गते मतदान हुनेछ । मतदानका लागि सदरमूकाममा रहेको पद्म पब्लिक मूक्तिनारायण माविलाई मतदान केन्द्र तोकिएको छ।

 

प्रकाशित: १० माघ २०७४ १३:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App