८ वैशाख २०८१ शनिबार
राजनीति

आजदेखि औपचारिक छलफल

फाइल फोटो

काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच पार्टी एकीकरणबारे शनिबारदेखि औपचारिक छलफल सुरु हुने भएको छ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपूर्व पार्टी एकीकरण घोषणा गरे पनि प्रगति हुन नसकिरहेका बेला दुवै दलका अध्यक्ष शुक्रबार भेटवार्ता गरी प्रक्रिया अघि बढाउन सहमत भएका हुन् । शनिबार सुरु हुने छलफलमा नेतृत्व व्वस्थापन, पार्टीको  सिद्धान्त र कार्यदिशा एवं सांगठनिक संरचनाबारे बृहत् छलफल हुनेछ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपूर्व पार्टी एकीकरण घोषणा गरे पनि यस विषयमा प्रगति हुन नसकिरहेका बेला दुवै दलका अध्यक्ष शुक्रबार भेटवार्ता गरी प्रक्रिया अघि बढाउन सहमत भएका छन्।

बालकोटस्थित ओली निवासमा दुई अध्यक्षबीच तीन घण्टासम्म वार्ता भएको थियो । वार्तामा उनीहरु दुईजनाबाहेक अरु कोही पनि सहभागी थिएन । ‘पार्टी एकताका विषयमा छलफल भएको छ, यसलाई अन्तिम रुप दिन शनिबार पुनः अध्यक्षज्यूहरुबीच थप गृहकार्य गर्नेगरी छलफल हुनेछ,’ ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने, ‘आइतबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने निर्णय भएको छ ।’ एमाले अध्यक्ष ओली उपचारपछि थाइल्यान्डबाट फर्केको भोलिपल्टै माओवादी अध्यक्ष दाहाल बालकोट पुगेका हुन्।

गत असोज १७ गते पार्टी एकीकरण गर्ने घोषणासहित दुवै पार्टीले चुनावी गठबन्धन बनाएका थिए । एकीकरणमा जानुअघि एमाले र माओवादीबीच पार्टीको सिद्धान्त टुंगो लगाउनुपर्ने चुनौती छ । यस्तै नेतृत्व व्यवस्थापनको चुनौती पनि छ । दुवै दलको वामपन्थी पृष्ठभूमि भए पनि एमाले र माओवादीबीच सिद्धान्तमा भिन्नता छ । एमालेले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) र माओवादीले माओवाद अनुसरण गर्दै आएका छन्।

एमालेको जबजले शान्तिपूर्ण रुपमा जनवादी क्रान्ति हुनेमा विश्वास गर्छ भने माओवादले बलप्रयोगमार्फत जनवादी क्रान्ति हुनेमा विश्वास गरेको छ । पार्टी एकीकरणबारे कुरा चलिरहँदा माओवादी नेता नारायणकाजी श्रेष्ठ र एमाले उमहासचिव घनश्याम भुसालले ‘आत्मनिर्भर अर्थतन्त्रसहितको  समाजवादको यात्रा’ नामक नयाँ सैद्धान्तिक मान्यता प्रस्तावको रुपमा अघि सारेका छन् । यसबारेमा पनि दुवै दलका नेताबीचमा बालकोटमा छलफल भएको स्रोतले बतायो।

एकीकरणपछि दुवै दलका नेतृत्व व्ववस्थापन विषयमा रस्साकस्सी चलेको देखिन्छ ।  एकीकरणका लागि सहज होस् भन्दै नेतृत्व व्यवस्थापन विषयमा दुवै दलका दोस्रो तहका नेताले विभिन्न मोडेल प्रस्तुत गरिरहेका छन् । पहिलो, दुई अध्यक्षमध्ये एकजना पार्टी अध्यक्ष भए अर्को नेता प्रधानमन्त्री हुने, दोस्रो, पार्टी एकीकरणपछि दुवै नेता शीर्ष स्थानमा रहनेगरी अध्यक्ष मण्डलको संरचना बनाउने र तेस्रो, एक अध्यक्ष भएमा अर्को सहअध्यक्षको भूमिकामा रहने विकल्प प्रस्ताव गरिएका छन्। 

यी विकल्पमा दुवै अध्यक्षले छलफल गरे पनि सार्वजनिक रुपमा भने केही भनेका छैनन् । दाहालले सरकार नेतृत्वको सबालमा आलोपालो गर्ने सहमति भएको सार्वजनिक गरिसकेका छन्। 

बालकोट भेटघाटमा राष्ट्रियसभा निर्वाचनको सिट बाँडफाँट र उम्मेदवार चयनसहित प्रदेशसभाका भावी मुख्यमन्त्री, सभामुखलगायतका विषयमा पनि छलफल भएको छ । ‘कार्यदलले राष्ट्रियसभा गठनका विषयमा दिएको प्रतिवेदनमा छलफल भएको छ,’ दाहालका प्रेस संयोजक मनहरि तिमल्सिनाले भने, ‘प्रदेश सरकार गठनका विषयमा पनि दुई अध्यक्षबीच छलफल भएको छ ।’ उनका अनुसार कार्यदलले टुंग्याएको राष्ट्रियसभा सिट बाँडफाँटलाई परिमार्जन पनि गर्न सकिनेबारेमा दुवै नेताबीच सहमतिसमेत भएको छ। 

गत बुधबारमात्रै दुवै पार्टीका नेता सम्मिलित कार्यदलले राष्ट्रियसभाका लागि एमालेलाई २९ र माओवादीलाई १४ सिट बाँडफाँट गरेको विषयमा पनि छलफल भएको छ । एमालेका सुवास नेम्बाङ, सुरेन्द्र पाण्डे र शंकर पोखरेल तथा माओवादीका रामबहादुर थापा, वर्षमान पुन र मातृका यादव रहेको कार्यदलले सिट बाँडफाँट गरेको थियो । दुई अध्यक्षबीचको छलफलको निष्कर्ष एकता संयोजन समितिको बैठकमा पेस गरिने बताइएको छ।

प्रकाशित: ६ माघ २०७४ ०२:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App