१६ चैत्र २०८० शुक्रबार
राजनीति

कांग्रेस बैठकमा देउवाको कडा आलोचना

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सभापति शेरबहादुर देउवाका कारण पार्टीले पराजय भोगेको आरोप लगाएका छन्। 

विधि र विधानभन्दा कोटरीबाट पार्टी सञ्चालन हुँदा अहिलेको परिणाम आएको आरोप लगाउँदै सदस्यहरुले यसको सम्पूर्ण जिम्मेवारी नेतृत्वले लिनुपर्ने बताएका छन्। 

प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समितिको बैठकमा सदस्यहरु प्रधानमन्त्रीसमेत रहेका सभापति देउवामाथि खनिएका थिए । उनीहरूले पार्टीले अघि सारेको अजेन्डालाई जनताले विश्वास नगरेको बताएका थिए। 


‘ज्योतिषीले सभापतिजीलाई सातपटक प्रधानमन्त्री बन्नुहुन्छ भनेका छन् क्यारे तर, उहाँले सरकारको नेतृत्व गर्दा पार्टीलाई फाइदा होइन सधैँ घाटा भइरहेको छ । सभापतिको ग्रहदशा बिग्रेका कारण निर्वाचनमा पराजय भोग्नुपरेको हो । यसको सम्पूर्ण जिम्मेवारी उहाँले नै लिनुपर्छ ।’
नेता रामचन्द्र पौडेल

नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला निकट केन्द्रीय सदस्यहरुले सभापति देउवाको आलोचना गरेका हुन्। उनीहरूले विधानविपरीत गठित संसदीय र कार्यसम्पादन समिति विघटन गर्न पनि माग गरेका छन्।  

नेतृत्वकै कारण जनतामा सकारात्मक प्रभाव पर्न नसकेको जनाउँदै नेता रामचन्द्र पौडेलले देउवाले सरकारको नेतृत्व गरेपिच्छे पार्टीलाई क्षतिमात्र पुगेको आरोप लगाए । ‘ज्योतिषीले सभापतिजीलाई सातपटक प्रधानमन्त्री बन्नुहुन्छ भनेका छन् क्यारे तर, उहाँले सरकारको नेतृत्व गर्दा पार्टीलाई फाइदा होइन सधंै घाटा भइरहेको छ,’ पौडेलले बैठकमा भने, ‘सभापतिको ग्रहदशा बिग्रेका कारण निर्वाचनमा पराजय भोग्नुपरेको हो । यसको सम्पूर्ण जिम्मेवारी उहाँले नै लिनुपर्छ ।’ त्यसको जबाफमा सभापति देउवाले भने, ‘पौडेलजी, मेरो ग्रहदशा बिग्रेर तपाईंले चुनाव हार्नुभएको हो ?’

संसद्को दोस्रो र तेस्रो दल चुनावी तालमेल गरेर जाने तयारीको नेतृत्वले सुइँको पनि नपाएको र त्यसपछि चुनावी रणनीति बनाउन नसकेको सदस्यहरुको गुनासो छ । निर्वाचनका क्रममा नयाँ र पुराना मतदातालाई आकर्षण र भरोसा जगाउने खालका कुनै पनि कार्यक्रम दिन नसकेको भन्दै उनीहरुले पार्टीले विगतमा पुर्‍याएको योगदानसमेत चर्चा गर्न नसकेको धारणा राखेका थिए।

‘वर्तमानमा आशा र भविष्यप्रतिको भरोसा जगाउन नसक्दा कांग्रेससँग नयाँ मतदाता टाढिन पुगे,’ केन्द्रीय सदस्य प्रदीप पौडेलले भने, ‘सरकार गठन र विघटनको खेलबाट आजित जनतालाई स्थिर सरकार र आर्थिक समृद्धिका लागि मतदान भन्ने वाम गठबन्धनको नाराले प्रभावित गर्‍यो । तर हामीले २०७४ मा के गर्ने ०८४ मा कसरी अघि बढाउने भन्ने खाकासम्म तयार गर्न सकेनौं।’ 

एमाले र माओवादीले लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावमा कांग्रेस पक्ष वा विपक्षमा नउभिनुको कारण जनतालाई बुझाउन नसकेको धारणा राख्दै सदस्यहरुले त्यसबाट भड्केका मतदातालाई प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा पेस महाभियोग प्रस्तावले झन् रुष्ट बनाएको तर्क गरेका छन् । संविधानप्रति असन्तुष्ट मधेसी, आदिवासी जनजातिका माग सम्बोधन गर्न पार्टीले गरेको प्रयास मतदातासम्म पुर्‍याउन नसक्दा पार्टीको परम्परागत मतदातासमेत भाँडिन पुगेको गुनासो केन्द्रीय सदस्यहरुको थियो। 

‘सरकारले गरेका नियुक्ति र हाम्रा कतिपय निर्णयले जनतामा कस्तो असर पारिरहेको छ भन्नेतर्फ ध्यान पुग्न सकेन,’ केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले भने, ‘पार्टीले विगतमा गरेको योगदान र वर्तमानको वास्तविकतालाई हामीले जनतामाझ लैजान सकेनाैँ।’

पार्टी नेतृत्वप्रति जनतालाई मात्र नभएर आफूहरुलाई पनि विश्वास र भरोसा नरहेको जिकिर गर्दै केन्द्रीय सदस्य पौडेलले परम्पराले होइन विधि र विधानअनुसार पार्टी चलाउन आग्रह गरे । ‘हिजो पार्टीका नेताहरुप्रति विश्वास र भरोसा थियो,’ उनले भने, ‘आज तपाईंहरुप्रति कुनै विश्वास छैन।’

केन्द्रीय समितिले समानुपातिकबाट सांसद भइसकेकालाई पुनः नदोहोर्‍याउने निर्णयलाई नेतृत्वले मिचेको आरोप लगाउँदै सदस्यहरुले त्यस्तो अधिकार कसले दियो भन्ने प्रश्न गरेका थिए। 

केन्द्रीय सदस्य धनराज गुरुङले पार्टी नेतृत्वले अझै विधि र विधानको कुरा गरिरहेको भन्दै आश्चर्य प्रकट गरे । उनले बैठकमा भने, ‘नांगै हिँड्न लाज छैन ? अझै विधि र विधानको कुरा गर्ने ? सुजाता कोइरालाबाहेक अरुलाई समानुपातिकमा नदोहो¥याउने भनेको होइन ? अब यसरी पार्टी चल्दैन।’

पार्टी निर्णयविपरित समानुपातिकका पुरानालाई नदोहो¥याउन नेता रामचन्द्र पौडेल, रामशरण महत, गुरुङ, जोशी, प्रदीपसहितका नेताहरुले आग्रह गरेका थिए । पार्टी निर्णय अक्षरशः कार्यान्वयन गर्न सभापतिलाई आग्रह गर्दै नेता पौडेलले भने, ‘पुरानालाई दोहोर्‍याउने होइन, अब कांग्रेसले नयाँलाई अवसर दिन्छ भन्ने म्यासेज दिनुपर्छ । दोहो¥याउने काम बन्द गर्नुपर्छ।’ 

बैठकमा सदस्यहरुले पार्टी विधानविपरीत गठन भएको संसदीय र कार्यसम्पादन समिति विघटन गर्नुपर्ने माग गरेका थिए । पार्टी विधि र विधानको दुहाइ दिएर संगठन कोटरीबाट चलाएको आरोप लगाउँदै सदस्यहरुले विधानभन्दा एक इन्च पनि तलमाथि नगर्न नेतृत्वलाई सचेत गराएका छन्। 

भागबन्डाका नाममा पार्टीमा लामो समय योगदान गरेकाहरु बाहिर पर्दै गएको गुनासो गर्दै जोशीले भने, ‘६०÷४०को नाममा हाम्रो होइन राम्रो र पार्टीमा लगानी गरेकाले अवसर पाउनुपर्छ ।’ उनले पार्टी अहिलेको अवस्थामा आउनुको मुख्य जिम्मेवारी सभापतिले नै लिनुपर्ने बताए । उनले भने, ‘देश र जनताको भविष्य जोडिएको कांग्रेस अहिले कमजोर बनेको छ । हामीले यसलाई बलियो बनाएर जनतामा आशा र भरोसा जगाउन सक्नुपर्छ।’

केन्द्रीय सदस्य चन्द्र भण्डारीले पार्टीको वर्तमान नेतृत्व पूर्ण रुपमा असफल भएको आरोप लगाए । ‘तपार्इंहरु सबै पूर्ण रुपमा असफल भइसक्नुभयो । अब पार्टी चलाउने अधिकार राख्नुहुन्न,’ भण्डारीले भने, ‘केही सीमित नेतालाई नजिक राखेर पार्टीलाई धनी बाउले दाइजो दिएजस्तो नगर्नुस् । यो पनि राजनीतिक भ्रष्टाचार हो।’

बैठकमा अर्जुननरसिंह केसीले पार्टी सभापतिको मात्र नभएर छाया सभापतिको पनि चाकडी गर्नुपर्ने अवस्था आएको गुनासो गरेका थिए । लोकतन्त्र भनेको मनपरितन्त्र नभएको धारणा राख्दै केसीले कोही नेताविशेषलाई मनपरी गर्न दिनका लागि राजनीतिमा नलागेको बताए । अहिलेजति पार्टीमा अपमान कहिल्यै सहनु नपरेको गुनासो उनको थियो । केसीले भने, ‘कार्यसम्पादन समिति र संसदीय समितिको सदस्य भनिएको छ तर, समानुपातिकको सूची हेर्न निर्वाचन आयोग जानुपर्‍यो।’

सरकारले नियुक्त गरेका सात प्रदेश प्रमुखमध्ये पाँच पञ्चायत पृष्ठभूमिबाट आएको बताउँदै केन्द्रीय सदस्य कल्याण गुरुङले सभापति देउवालाई लक्षित गर्दै भने, ‘तपाईंप्रति पनि मलाई शंका छ । सभापतिजस्तै म पनि महाधिवेशनबाट निर्वाचित भएर आएको हुँ । सभापतिमाथि नै शंका छ भनेपछि देउवाले गुरुङलाई समय सकिएको भन्दै बोल्न रोकेका थिए।  

बैठकमा देउवा निकट केन्द्रीय सदस्यहरुले भने सभापतिको बचाउ गर्दै पार्टीले महŒवपूर्ण जिम्मेवारी पूरा गरेको र दुई दल मिल्दा पनि पार्टीले समानुपाकिततर्फ राम्रो मत पाएको तर्क गरेका थिए । देउवा निकट केन्द्रीय सदस्यहरु महेन्द्र यादव, एनपी साउद, प्रकाशशरण महत, श्याम घिमिरेसहितका नेताले  चुनाव गराउनु देउवाको ठूलो सफलता भएको बताएका थिए।

बैठकको सुरुमै सभापति देउवाले संक्रमणकाल अन्त्य भएकोमा सबैलाई धन्यवाद दिँदै सत्ता हस्तान्तरणपछि निर्वाचनमा पार्टी पराजयका बारेका बृहत् समीक्षा गर्ने बताएका थिए । उनले राष्ट्रियसभा गठनमा केन्द्रित हुन सदस्यहरुलाई आग्रह गरे । सभापति देउवाले समीक्षा बैठक, विधान संशोधन र महासमिति बैठक बोलाउने आश्वासन दिएका छन् । राष्ट्रियसभा निर्वाचनको तयारीका विषयमा बैठकमा नेता विमलेन्द्र निधिले जानकारी गराएका थिए । बैठकमा केन्द्रीय सदस्यहरु मीनेन्द्र रिजाल, शंकर भण्डारी, कमला पन्त, दिलेन्द्रप्रसाद बडुसहितका नेताहरुले पनि आआफ्ना धारणा राखेका थिए । बैठक शुक्रबार पनि बस्नेछ ।   
 

 

प्रकाशित: ५ माघ २०७४ ०१:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App