१५ चैत्र २०८० बिहीबार
राजनीति

प्रदेश प्रमुख र राजधानी तोकिए

काठमाडौं-सरकारले लामो रस्साकस्सी र विवादबीच बुधबार प्रदेश अस्थायी केन्द्र (राजधानी) र प्रदेश प्रमुख तोकेको छ ।मन्त्रिपरिषद्को बुधबार बिहानको बैठकमा सहमति हुन नसकेपछि पुनः अपराह्न बसेको बैठकले प्रदेश अस्थायी केन्द्र र प्रमुख तोकेको हो । नेपालको राजनीतिक इतिहासमा पहिलोपटक संघीय संरचनालाई अंगीकार गर्दै प्रदेश राजधानी र प्रमुख तोकिएको हो

‘संविधानतः पाएको अधिकार प्रयोग गर्दै मन्त्रिपरिषद्ले सहमतिका आधारमा प्रदेशहरूको अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्ने काम गरेको छ’, कानुनमन्त्री यज्ञबहादुर थापाले भने, ‘यसले संघीयता कार्यान्वयनको बाटो खुलाउँदै लगेको छ, अब मुलुक संघीय संरचनामा औपचारिक रुपमा प्रवेश गरेको छ ।’
सरकारले सरकारबहिर रहेका एमाले र माओवादी केन्द्रसँग गरेको सहमति प्रयास सफल हुन नसकेपछि आफ्नो अधिकार प्रयोग गरी प्रदेश राजधानी र प्रदेश प्रमुख तोकेको हो । सरकारले  प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, प्रदेश ३ को हेटांैडा, प्रदेश ४ को पोखरा, प्रदेश ५ को बुटवल, प्रदेश ६ को सुर्खेत र प्रदेश ७ को धनगढीलाई अस्थायी राजधानी तोकेको छ ।

मन्त्रिपरिषद् प्रदेश १ को राजधानी धनकुटा तोक्ने कि विराटनगर भन्ने विषयमा विवाद भएको थियो । उद्योगमन्त्री सुनीलबहादुर थापाले धनकुटालाई प्रदेश राजधानी बनाउन जोड गरेका थिए भने उपप्रधान तथा ऊर्जामन्त्री कमल थापाले  विराटनगरलाई बनाउनुपर्ने अडान राखेपछि विवाद भएको थियो । विराटनगर राजधानी तोकिएलगत्तै धनकुटामा प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गरिएको छ ।

त्यस्तै प्रदेश ५ को राजधानी बुटवल तोक्ने कि दाङ भन्ने विषयमा पनि मन्त्रिपरिषद् विवाद भयो । स्रोतका अनुसार एमाले नेता विष्णु पौडेल, बालकृष्ण खाँडलगायतको दबाबमा प्रदेश ५ को राजधानी बुटवल तोकिएको हो । दाङमा राजधानी तोक्नुपर्ने भन्दै आन्दोलन जारी छ । मन्त्रिपरिषद् प्रशासनिक समितिले दाङलाई राजधानी बनाउन सिफारिस गरेको थियो ।प्रदेश २ को राजधानी वीरगन्ज बनाउनुपर्ने माग राखेर अनशन जारी रहेकै बखत जनकपुरलाई तोकिएको हो । कांग्रेस, राजपा र संघीय फोरमबीच भएको सहमतिअनुसार प्रदेश २ को राजधानी जनकपुर तोकिएको मन्त्रिपरिषद् स्रोतले बतायोे।

मन्त्रिपरिषद् प्रशासनिक समितिले प्रदेश ३ को राजधानी सानोठिमी भक्तपुरलाई बनाउन सिफारिस गरेको भए पनि उपप्रधानमन्त्री थापाको जोडबलमा उनकै गृहजिल्ला हेटाैडा तोकिएको छ ।
अन्तिममा सहमतिमै सबै प्रदेशको राजधानी तोकिएको खानेपानी तथा सरसफाइमन्त्री महेन्द्रराय यादवले बताए । ‘आआफ्नो स्थानलाई राजधानी बनाउन लबिङ गर्ने र अडान राख्नु स्वाभाविक हो तर सहमतिमै यो निर्णय लिइएको हो’, मन्त्री यादवले भने ।

देउवा सरकारले अस्थायी राजधानी तोके पनि धनकुटा, दाङ, वीरगन्ज र डोटीमा राजधानी माग्दै आन्दोलन जारी छ । सरकारको निर्णयलगत्तै विभिन्न ठाउँमा प्रदर्शन भएका छन् ।  दाङलाई राजधानी बनाउनुपर्ने माग राख्दै मंगलबार र बुधबार जिल्ला बन्द गरियो । धनकुटा, वीरगन्ज, डोटीमा पनि अनशनलगायत आन्दोलनका कार्यक्रम जारी छन् ।सरकारले प्रदेश अस्थायी केन्द्र तोकेर प्रदेशसभा सदस्यलाई शपथ गराउने बाटो खोलिदिएको छ । सरकारको निर्णयलगत्तै, निर्वाचन आयोगले पनि प्रदेशसभा समानुपातिक सांसदमा विजयी हुनेको नाम सार्वजनिक गर्ने घोषणा गरेको छ ।

मन्त्रिपरिषद्ले सातवटै प्रदेशको प्रमुख पनि तोकेको छ । प्रदेश १ मा डा. गोविन्द सुब्बा, प्रदेश २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश ३ मा अनुराधा कोइराला, प्रदेश ४ मा बाबुराम कुँवर, प्र्रदेश ५ उमाकान्त झा, प्रदेश ६ मा दुर्गाकेशर खनाल र प्रदेश ७ मा मोहन मल्ललाई प्रदेश प्रमुख तोकिएको छ । एमाले र माओवादीको सहमतिमा प्रदेश प्रमुख तोक्ने प्रयास असफल भएपछि सरकारले एकलौटी रुपमा जिम्मेवारी तोकेको हो ।

‘एमाले र माओवादीसँग सहमतिका आधारमा प्रदेश प्रमुख तोक्ने प्रयास गरेका थियौं तर त्यो सम्भवः नभएपछि सरकार आफैंले तोकेको हो’, कानुनमन्त्री थापाले भने । सरकार प्रमुखमा  कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपालबीच भागबन्डा भएको छ । कांग्रेसको कोटाबाट सुब्बा, कोइराला, कुँवर, खनाल र मल्ल परेका हुन । राजपा कोटाबाट प्रमुख तोकिएका झा सो पार्टी अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरका सम्धी हुन् । कायस्थ संघीय समाजवादी फोरमको सिफारिसमा प्रमुख तोकिएका हुन् । उनलाई फोरमले प्रतिनिधिसभा समानुपातिकतर्फको उम्मेदवार बनाएको छ ।

प्रकाशित: ४ माघ २०७४ ०२:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App