८ वैशाख २०८१ शनिबार
राजनीति

प्रदेशसभा समानुपातिकतर्फ विजयी घोषणा

काठमाडौं– निर्वाचन आयोगले प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फको मतपरिणामअनुसार विजयी उम्मेदवारको नाम घोषणा गरेको छ ।

सातवटै प्रदेशमा २ सय २० जना विजयी उम्मेदवारको नामवली आयोगले बिहीबार सार्वजनिक गरेको हो । प्रदेशसभाका समानुपातिकतर्फका निर्वाचित उम्मेदवारलाई आआफ्नो राजनीतिक दलसँग समन्वय गरी माघ ५ मा शुक्रबार प्रमाणपत्र दिने तयारी आयोगको छ ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको अध्यक्षतामा बुधबार बसेको आयोग बैठकले सातवटै प्रदेशबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचितको नामवली टुंगो लगाएको थियो ।संविधानको धारा १७६ अनुसार प्रदेशसभा सदस्य निर्वाचनमा सात प्रदेशमा समानुपातिकतर्फबाट २ सय २० जना उम्मेदवार निर्वाचित हुने व्यवस्था छ । आयोग बैठकले दलहरुले प्राप्त गरेको मतलाई सेन्टलग विधिबाट सिटमा रुपान्तरण गरी सिट सुनिश्चित गरेको हो ।

दलहरूले बन्दसूचीमार्फत आयोगसमक्ष पठाएका उम्मेदवारलाई प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० को उपदफा (७) बमोजिम निर्वाचित भएको घोषणा गरेको आयोगका प्रवक्ता नवराज ढकालले बताए । उनले भने, ‘आयोगले ऐनको दफा ६० को उपदफा (८) बमोजिम निर्वाचित उम्मेदवारको नामवली सम्बन्धित प्रदेश प्रमुखसमक्ष पठाउने, प्रमाणपत्र प्रदान गर्ने, सम्बन्धित राजनीतिक दललाई जानकारी गराउने र  निर्वाचितको नामवली राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ ।’
 

प्रकाशित: ४ माघ २०७४ ०१:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App