६ वैशाख २०८१ बिहीबार
राजनीति

पराजितलाई उम्मेदवार नबाउन कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसका नेताहरुले राष्ट्रियसभा निर्वाचनमा प्रतिनिधिसभामा पारजित नेताहरुलाई  उम्मेदवार नबनाउन आग्रह गरेका छन् । निर्वाचन परिणामलाई लिएर पार्टी नेता तथा कार्यकर्तामा निराशा छाइरहेका बेला पराजितहरुलाई अवसर दिँदा पार्टीमा थप असन्तुष्टि बढ्ने जनाउँदै नेताहरुले अवसर नपाएका र पुरानालाई उम्मेदवार बनाउनुपर्नेमा जोड दिएका हुन् ।

‘निर्वाचित केन्द्रीय सदस्य जसले अवसर पाएका छैनन् उनीहरुलाई पार्टीले प्राथमिकतामा राखेर राष्ट्रियसभा उम्मेदवार बनाउनुपर्छ,’ केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले भने, ‘पार्टीमा लामो समय योगदान गरेका तर अवसर नपाएका जिल्ला सभापति र पूर्वसभापतिहरुलाई उम्मेदवार बनाउनुपर्छ ।’

प्रतिनिधिसभामा पराजित पार्टीका आधा दर्जन नेताहरु राष्ट्रियसभाको उम्मेदवार बन्न सक्रिय रहेको भन्दै रामचन्द्र पौडेल निकट युवा केन्द्रीय सदस्यहरुले त्यसप्रति असन्तुष्टि जनाउँदै आएका छन् । उनीहरुले महाधिवेशनबाट निर्वाचित नौ केन्द्रीय सदस्य प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिक सूचीमा नपरेको भन्दै उनीहरुलाई पहिलो प्रथामिकतामा राख्नुपर्ने माग गरेका छन् ।केन्द्रीय सदस्यहरु कुलबहादुर गुरुङ, गुरुराज घिमिरे, सरिता प्रसाईं, कल्याण गुरुङ, सुरेन्द्रराज पाण्डे, कमला पन्त, धनराज गुरुङ रत्ना शेरचन र बद्री पाण्डे प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै सूचीमा परेका छैनन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान ११ बजे बस्ने केन्द्रीय समिति बैठकमा उनीहरुले राष्ट्रियसभाको उम्मेदवार केन्द्रीय समितिबाटै चयन गर्नुपर्नेमा जोड दिनेछन् । विधानविपरीत गठन भएको संसदीय समिति विघटनको माग उठाउँदै आएका एक दर्जन केन्द्रीय सदस्यले पार्टीलाई विधि र विधानअनुसार अघि बढाउन नेतृत्वलाई दबाब दिनेछन् । ‘विधानविपरीत गठन भएको संसदीय समितिले राष्ट्रियसभाको उम्मेदवार छनोट गर्न सक्दैन,’ जोशीले भने, ‘विधानअनुसार समिति गठन गरेर पार्टीलाई विधिसम्मत अघि बढाउनुपर्छ ।’

प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि पहिलोपटक केन्द्रीय समिति बैठक बस्न लागे पनि निर्वाचनको समीक्षा भने नहुने एक नेताले जानकारी दिए । ‘पार्टीका शीर्ष नेताहरुले अहिलेसम्मको वस्तुस्थितिको जानकारी गराउनुहुन्छ,’ सभापति निकट एक नेताले भने, ‘राष्ट्रियसभा निर्वाचन र सत्ता हस्तान्तरणपछि मात्र बृहत् बैठक बस्ने सम्भावना छ ।’
 

प्रकाशित: ४ माघ २०७४ ०१:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App