coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेस भ्रातृ संगठनमा विवाद चुलियो

काठमाडौं- नेपाली कांग्रेसका प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल र नेपाल महिला संघभित्रको आन्तरिक विवाद तीव्र बन्न पुगेको छ ।

यी संगठनका पदाधिकारीहरु स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा भ्रातृ संगठन परिचालन नभएको भन्दै एकअर्कामाथि दोष थुपार्न सक्रिय छन् ।महाधिवेशन भएको एक वर्ष बढी हुँदासमेत माउ पार्टीभित्रको गुटगत तानातानले केन्द्रीय समितिलाई पूर्णता दिन पाउन नसकेको प्रमुख तीन भ्रातृ संगठनमा निर्वाचनपछि आन्तरिक विवाद सडकमा आइपुगेको हो ।

नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले संगठनलाई चलायमान बनाउन नसकेको आरोप लगाउँदै असन्तुष्ट पक्षले समानान्तर र छुट्टै कार्यक्रम गर्न थालेपछि संघभित्रको विवाद तीव्र बन्न पुगेको छ ।
पार्टी नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला निकट नेविसंघका नेताहरुले राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा समानान्तर कार्यक्रम सञ्चालनपछि विवाद सतहमा आएको छ ।

सिटौला निकट संघका नेताहरुले अध्यक्षसँगको परामर्शबिना नै कार्यक्रम राखेको जनाउँदै अनुशासन समितिले उपाध्यक्ष रामप्रसाद अधिकारीलाई स्पष्टीकरण सोधेको छ । अनुशासन समिति संयोजक अम्बिका चलाउनेले स्पष्टीकरण सोधेलगत्तै अधिकारी निकट मानिने राजेश रौनियारले पनि अध्यक्ष महरलाई स्पष्टीकरण सोधेपछि संघभित्रको विवाद उत्कर्षमा पुगेको हो ।अध्यक्ष महरले चलाउने संयोजकत्वमा र महामन्त्री कुन्दन काफ्लेले रौनियारको संयोजकत्वमा महामन्त्री अनुशासन समिति गठन गरेका थिए । पौडेल निकट संघका नेताहरुले भने दुवैलाई अस्वीकार गर्दै आएका छन् ।

संघकी उपाध्यक्ष उर्मिला थपलियाले दुवै अनुशासन समिति विघटन गरेर नयाँ बनाउनुपर्ने बताइन् ।  ‘दुवै समिति विधि र विधानअनुसार गठन भएका छन्,’ उनले भनिन्, ‘त्यसलाई तत्काल भंग गरेर नयाँ अनुशासन समिति गठन गर्नुपर्छ ।’

संघका उपाध्यक्ष अधिकारीले संगठनलाई चलायमान बनाउन अध्यक्षको परामर्शमा कार्यक्रम राखे पनि आफूलाई स्पष्टीकरण सोधिएको दाबी गरे । ‘प्रदेशको निर्णयमा कार्यक्रम गर्न पाउने नियमावलीले अधिकार दिएको छ । कार्यक्रम गरेर संगठनलाई चलायमान बनाउन पनि नपाइने हुन्छ ?’ उनले भने, ‘अध्यक्षजीले स्पष्टीकरण सोध्नुभएको छ । योभन्दा अघि बढ्नुभयो भने उहाँ (अध्यक्ष) लाई नै अनुशासन समितिबाट कारबाही गरेर संघको नेतृत्व सम्हाल्छु ।’

मुलुकमा तीन ठूला निर्वाचन हुँदा पनि अध्यक्षको नालायकीपनले नेविसंघको उपस्थिति नदेखिएको बताउँदै अधिकारीले भने, ‘संगठन परिचालनको कुरा त टाढैको भयो, उहाँले आफ्नै जिल्लामा सूर्यलाई भोट मागेर पार्टीलाई हराउन लाग्नुभयो भनेर जिल्ला सभापतिले कारबाहीका लागि लेखेर पठाउनुभएको छ ।’
उनीहरुले बुधबार धादिङमा प्रदेश नम्बर तीनको प्रशिक्षण कार्यक्रम राखेका छन् ।तर, उक्त कार्यक्रममा सभापति देउवा र नेता पौडेल पक्षीय संघका नेताकार्यकर्ता भने सहभागी नहुने भएका छन् ।
केन्द्रीय समितिसँग परामर्श नगरी प्रशिक्षण कार्यक्रम राखिएको बताउँदै संघका अध्यक्ष महरले भने, ‘संगठनले सरकारसँग विभिन्न माग राखेर आन्दोलन जारी राखेकाले धादिङको कार्यक्रममा केन्द्रीय समितिका कोही पनि जानुहुन्न ।’

त्यस्तै, नेता पौडेल पक्षीय संघका नेताहरुले ‘बलियो कांग्रेसका लागि सशक्त नेविसंघ’ भन्ने नारासहित छुट्टै कार्यक्रम चलाउँदै आएका छन् । अध्यक्ष महरले संगठनलाई मनोमानी ढंगबाट अघि बढाएको आरोप लगाउँदै उनीहरुले राजधानी र अन्यत्र पनि समानान्तर कार्यक्रम चलाउँदै आएका छन् ।

राष्ट्रिय मेलमिलाप दिवसका दिन नेविसंघको आयोजनामा एउटै समयमा राजधानीमा समानान्तर कार्यक्रम गरेका उनीहरुले पुस २८ गते पनि काठमाडौंको धुलो काम गर्न आग्रहसहित काठमाडौं महानगरपालिकामा धर्ना दिएका थिए । सोही दिन केन्द्रीय समितिले विद्यार्थीलाई निःशुल्क स्वास्थ्य बिमा, बेरोजगार भत्ता, प्रमाणपत्र धितो राखी सहुलियमा ऋणसहितका सातबुँदे माग पूरा गर्न देशैभरिका जिल्ला प्रशासन कार्यालयमा नेविसंघले संकलन गरेको हस्ताक्षरसहित ज्ञापनपत्र बुझाएको थियो ।

संघका अध्यक्ष महरले महामन्त्री, सहमहामन्त्रीसहित केन्द्रीय सदस्य पनि मनोमानी ढंगले मनोनीत गरेको दुवै पक्षको आरोप छ । संगठनमा परामर्श नगरी महाधिवेशनमा विभिन्न पदमा प्रतिस्पर्धा गरेर पराजित भएकालाई अध्यक्षले एकपक्षीय ढंगबाट मनोनीत गरेको उनीहरुको गुनासो छ । अध्यक्षलाई दुई उपाध्यक्ष, एकएक महामन्त्री र सहमहामन्त्रीसहित २३ केन्द्रीय सदस्य मनोनीत गर्न पाउने अधिकार छ । अध्यक्ष महरले दुईदुई उपाध्यक्ष र सहमहामन्त्रीका साथै केही केन्द्रीय सदस्यबाहेक अधिकांश पदमा मनोनीत गरिसकेका छन् ।

संघ एउटा आन्दोलन भएको जनाउँदै अध्यक्ष महरले भने, ‘संगठनभित्र असामान्य अवस्था छैन । केही दिनमा सबै विषय समाधान हुन्छन् ।’त्यस्तै, गुटगत सन्तुलन नमिल्दा महाधिवेशन भएको एक वर्ष बढी हुँदासमेत तरुण दलको केन्द्रीय समिति गठन हुन सकेको छैन । पार्टीभित्र चार समूहको अस्तित्व स्वीकार गर्दै सभापति देउवा, नेता पौडेल, सिटौला र खुमबहादुर खड्कालाई एकएक पदाधिकारी बाँडफाँट गर्दै २०७३ मंसिर १ गते महाधिवेशन सम्पन्न भएको थियो ।

बाँकी पदाधिकारी र सदस्य एक साताभित्र चयन गर्ने पार्टी केन्द्रीय निर्देशन समिति संयोजक बालकृष्ण खाँणले जानकारी गराए पनि १४ महिना हुँदासमेत समिति विस्तार हुन सकेको छैन । जसले गर्दा अध्यक्षले मनोनीत गर्ने दुई सचिवसहित १६ केन्द्रीय सदस्य मात्र होइन महाधिवेशनबाटै चयन हुनुपर्ने खुला २३, एक महिलासहित प्रदेशबाट २८, महिला ७, आदिवासी जनजाति र मधेसीबाट ४–४, दलित र अल्पसंख्यकबाट ३–३, सहिद परिवार, थारू र मुस्लिमबाट एकएकजना केन्द्रीय सदस्यसमेत चयन हुन सकेको छैन ।

पार्टी भगिनी संगठन महिला संघको अहिलेसम्म विधानकै टुंगो लाग्न सकेको छैन । संघकी महासचिव धना खतिवडाले विधान निर्माणसहितका काम केही पनि अघि नबढेको बताइन् । ‘राष्ट्रियसभा निर्वाचन सकियोस्, त्यसपछि संगठनभित्रको काम पनि अघि बढ्छ,’ खतिवडाले भनिन् ।

प्रकाशित: ३ माघ २०७४ ०१:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App