१५ चैत्र २०८० बिहीबार
राजनीति

कम्तीमा दुई मुख्यमन्त्री पाउनुपर्ने माओवादीको माग

काठमाडौं– एमाले–माओवादी केन्द्र नेतृत्वको वाम गठबन्धनको संयुक्त कार्यदलको बैठकमा माओवादीले कम्तीमा २ मुख्यमन्त्री पाउनुपर्ने माग गरेको छ ।

दोस्रोपटक बसेको संयुक्त कार्यदल बैठकमा विषय प्रवेश गराउँदै माओवादीले वाम गठबन्धनले बहुमत प्राप्त ६ प्रदेशमध्ये कम्तीमा २ प्रदेशमा मुख्यमन्त्री पाउनुपर्ने माग अघि सारेको हो । राष्ट्रियसभा उम्मेदवारको हकमा भने प्रतिनिधिसभा निर्वाचनको मतभारलाई आधार मानिने लगभग टुंगिएको छ ।

आइतबार दुवै पार्टीका पक्षवाट पेश भएका अनौपचारिक प्रस्तावहरू भने सार्वजनिक गरिएको छैन । तर, माओवादीले कम्तीमा २ मुख्यमन्त्री माग अघि सारेपछि एमालेले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर मात्रै निर्णय लिइने भन्दै बैठक माघ ३ सम्मका लागि स्थगित गरिएको छ ।

माओवादीबाट कार्यदलका सदस्य वर्षमान पुनले राष्ट्रियसभा र प्रदेशसभाका बारेमा आ–आफ्ना पक्षबाट प्रस्ताव अघि सार्ने कार्य आइतबार भएको जानकारी दिए । ‘आजको बैठकमा प्रदेशको मुख्यमन्त्री र सभामुखबारे के हुनसक्छ ? त्यसमा प्रारम्भिक छलफल ग¥यौं,’ पुनले बैठकपछि भने, ‘राष्ट्रियसभाका सिटबारेमा आ–आफ्ना प्रस्ताव अगाडि राखेका छौं, छलफल जारी नै छ ।’ उनका अनुसार राष्ट्रियसभाको हकमा भने उम्मेदवार चयनको निर्धारित मापदण्ड र ७ वटै प्रदेशको मतभारलाई आधार मान्ने भन्दै बैठकमा हिसाबकिताब गरिएको छ  ।

उता, गठबन्धनको मुख्य सहयोगी माओवादी केन्द्रले कम्तीमा २ मुख्यमन्त्रीको माग अघि सारेपछि एमालेले भने त्यसमा थप आन्तरिक छलफल गरेर निर्णय दिने बताएको छ । ‘दुवैतिरबाट आएका प्रस्तावबारे एकअर्काका अध्यक्षसँग सरसल्लाह गरेर ३ गतेभित्र मुख्य विषय टुंगोमा पुर्याउने छौं,’ अर्का सदस्य सुवासचन्द्र नेम्बाङले बैठकपछि भने । थाइल्याण्डमा उपचाररत अध्यक्ष ओली माघ २ गते स्वदेश फर्कने र त्यसपछि ओलीसँग सरसल्लाह गरेर माघ ३ गतेको बैठकमा उपस्थिती हुने एमालेको प्रतिबद्धता छ  ।

एमाले र माओवादी नेतृत्वको वाम गठबन्धन प्रदेश नम्बर २ बाहेकका ७ मध्ये ६ वटा प्रदेशमा बहुमत प्राप्त अवस्थामा रहेका छन् ।  प्रदेश नम्बर २ मा भने मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमको मधेसी गठबन्धन बहुमतको अवस्थामा छन । पार्टी एकीकरण प्रक्रियाअनुसार अघि बढेका दुवै दलले राष्ट्रियसभा सिट, मुख्यमन्त्री र सभामुखका बारेमा टुंगोमा पु¥याउने भन्दै उक्त कार्यदल बनाएका थिए ।

नेम्वाङ नेतृत्वको उक्त कार्यदलमा एमालेबाट सुरेन्द्र पाण्डे र शंकर पोखरेल छन् भने माओवादीवाट पुनसहित रामबहादुर थापा र मातृका यादव सदस्य छन् । गत शुक्रबार पहिलोपटक बसेको बैठकले सिट बाँडफाँटवारे आधार तय गरेको थियो, त्यसलगत्तै आइतबार बसेको बैठकमा दुवै दलले आ–आफ्ना प्रस्ताव अघि सारेका हुन्

बैठकमा भएको निर्णायानुसार तत्काल प्रदेश मुख्यमन्त्री र प्रदेश सभामुखका बारेमा टुंग्याउन सम्भव नभएमा माघ ३ भित्र कम्तीमा राष्ट्रियसभा उम्मेदवारको सिट संख्या भने टुंगाउनेमा दुवै सहमत भएका छन् । ‘३ गतेभित्र राष्ट्रियसभा सदस्यको सिट बाँडफाँट गरिसक्ने छौं,’ पुनले भने । उनका अनुसार यसबीचमा एमाले र माओवादी दुवैले आन्तरिक छलफल गरी माघ ३ को बैठकको तयारी गर्नेछन्, जहाँ धेरैजसो विषयलाई टुंग्याउने छ । उक्त बैठक एमाले संसदीय दलको कार्यालयमा बसेको थियो  ।

प्रकाशित: १ माघ २०७४ ०१:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App