९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

एमालेको संकल्प यात्राः विवादित ठाउँ छलेर संकल्प यात्रा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संकल्प यात्राको टोलीसँग भेट्नेगरि कास्की आउँदैछन्। विहीबार र शुक्रबार कास्कीका दुई फरक ठाउँमा ओलीले यात्राको टोलीसँग भेट गर्नेछन्।

नेकपा एमालेले जारी राखेको ‘बैतडी झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’मा निस्केको टोलीलाई पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भेटघाट सहित सम्बोधन पनि गर्नेछन्।

एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङका अनुसार ओलीले विहीबार अपराह्न पोखराको हेमजामा र शुक्रबार विहान पोखरा–३० तालचोकमा यात्रा टोलीसँग भेटघाट र संक्षिप्त सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। विहीबार पर्वत हुँदै कास्की प्रवेश गर्ने संकल्प यात्रामा सहभागीलाई कास्कीको पश्चिम सीमा क्षेत्र नयाँपुल र अन्नपूर्ण गाउँपालिकाको नागडाँडामा छुट्टाछुट्टै कार्यक्रम गरेर स्वागत गरिने उनले बताए।

विहीबार पोखरा आएको संकल्प यात्राको टोली शुक्रबार विहान पोखराको जिरो किलोमिटरबाट प्रस्थान गर्नेछ भने सो टोलीलाई पोखराको अमरसिंहचोकमा स्वागत गर्ने उनले बताए। तालचोकको कार्यक्रम समापनपछि संकल्प यात्राको टोली रुपा गाउँपालिकाको तालवेसी, पिपलेबजार हुँदै लमजुङ जाने र त्यहाँ स्वागत गर्ने कार्यक्रम तय भएको उनले जानकारी दिए।

कास्कीमा विवादित ठाउँ छलेर संकल्प यात्रा

एमालेले थालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा पुष्पलाल मध्यपहाडी लोकमार्गमा केन्द्रीत छ। संकल्प यात्राको मुख्य उद्देश्य मध्येको एक मध्यपहाडी लोकमार्गमा देखिएका समस्या बुझ्ने र त्यसको समाधानका लागि प्रयास गर्ने हो। समस्या उत्पन्न भएका ठाउँका स्थानियसँग छलफल गरेर निकास निकाल्ने पनि यात्राको उद्देश्य हो। तर, कास्कीमा भने विवादित ठाउँ छलेर संकल्प यात्रा अगाडि बढाउने गरी कार्यतालिका बनाइएको छ।  

मध्यपहाडी लोकमार्ग लैजाने एलाईटमेन्टबारे पोखरा–१६ बाटुलेचौरदेखि अर्मलासम्मका स्थानिय आन्दोलित छन्। हालको एलाईटमेन्टप्रति असहमति जनाएका उनीहरुले नयाँ एलाईटमेन्ट बनाउन दवाब दिदै आएका छन्। एमालेको संकल्प यात्रा टोलीलाई सो क्षेत्रमा नलैजाने गरी कार्यतालिका बनाइएको हो।

तर एमाले कास्कीका अध्यक्ष गुरुङ सजिलोका लागि मात्र सो क्षेत्र नलगिएको बताउँछन्। ‘विवादित ठाउँमा गएर उनीहरुको समस्या सुन्ने र समाधानका लागि पहल गर्ने त हाम्रो संकल्प यात्राको उद्देश्य नै हो,’ उनले भने, ‘त्यसमा क्षेत्रमै गएर कार्यक्रम नगरेपनि समय मिलाएर त्यहाँका स्थानियसँग हाम्रो अध्यक्ष केपी शर्मा ओलीले भेटघाट र छलफल गर्नुहुन्छ।’ तर छलफलको समय भने तय नभइसकेको उनको भनाई छ।

प्रकाशित: १९ मंसिर २०८० ०८:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App