coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

एकता प्रभावित हुनेगरी निजी धारणा सार्वजनिक नगर्न एमाले निर्देशन

काठमाडौं- नेकपा एमालेले पार्टी एकीकरणलाई असहज हुनेगरी नीति, नेतृत्व र एकताका अन्य पक्षका बारेमा निजी धारणासार्वजनिक गर्न नेता–कार्यकर्तालाई रोक लगाएको छ । एमाले स्थायी कमिटीको बैठकपछि जारी विज्ञप्तिमा पार्टी एकताका लागि असहज तुल्याउनेगरी कुनै पनि धारणा सार्वजनिक नगर्न निर्देशन दिएको उल्लेख छ ।
‘एकीकरणलाई असहज तुल्याउने गरी सार्वजनिक सञ्चार माध्यमबाट नीति, नेतृत्व र एकताका अन्य पक्षका बारेमा आफ्नो निजी धारणा चर्चामा नल्याउन पनि आम पार्टी पंक्तिलाई निर्देशित गर्दछ,’ बैठकपछि जारी सचिव प्रदीप ज्ञवालीको विज्ञप्तिमा उल्लेख छ । ओली निवास बालकोटमा भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको विषयमा भएका प्रगतिबारे ‘ब्रिफिङ’ गरेका थिए। उनले पार्टी एकता हुनेमा ढुक्क हुन आग्रह गरेका थिए। यस अघि आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र ओलीबीच भेट भएको थियो।
दुई नेताको भेटमा भएको कुराकानीबारे ओलीले बैठकमा जानकारी गराएका थिए। ‘हिजो हाम्रो भेट भयो। पार्टी एकताबारे कुरा भयो । साथीहरु, ढुक्क हुनुस्, पार्टी एकता एक हुन्छ, दुई हुन्छ, तीन हुन्छ’, ओलीलाई उद्धृत गर्दै एमाले सचिव योगेश भट्टराईले भने, ‘एकताबारे अध्यक्ष दाहाल अत्यन्त सकारात्मक हुनुहुन्छ र तयारी गरिरहनुभएको छ।’
मंगलबार पार्टी एकता संयोजन समितिको बैठकले राजनीतिक विषय र संगठनात्मक विषय टुंगो लगाउन कार्यदल बनाउने र त्यसैअनुसार एकता प्रक्रियाले गति लिनेगरी अघि बढ्ने निर्णय एमालेले गरेको छ। ‘पार्टी संगठनात्मक स्वरुप र सिद्धान्तका बारेमा दुई छुट्टाछुट्टै कार्यदल गठन हुन्छन्,’ भट्टराईले भने ।
पार्टीका सबै कमिटीलाई पार्टी एकताबारे सकारात्मक सन्देश दिनेगरी काम गर्न समेत एमालेले सर्कुलर गर्ने भएको छ। बैठकमा ओलीले पदीय बाँडफाँटबारे कुनै सहमति नभएको बताएका थिए । आइतबार साँझ एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच पार्टी एकीकरणको विषयमा भएको वार्ता पछि एमाले स्थायी कमिटी बैठक बसेको हो ।
असोज १७ गते नेकपा एमाले र नेकपा माओवादी–केन्द्रबीचमा चुनावी तालमेल भएको थियो। निर्वाचनपछि पार्टी एकता गर्ने भनिए पनि त्यसले गति लिन नसकिरहेको अवस्थामा एमालेको स्थायी कमिटी बैठक बसेको हो।
एमालेले प्रतिनिधिसभाको समानुपातिक परिणाम निर्वाचन आयोगले नियतवश घोषणा नगरेको आरोप लगाएको छ। त्यसैगरी प्रदेशको अस्थायी राजधानी तोक्ने विषयमा चासो नदिई प्रदेश प्रमुख तोक्ने र प्रदेश सांसदलाई राजधानीमा शपथ ग्रहण गराउने सरकारी तयारीप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको एमालेले जनाएको छ ।  
बैठकले चुनाव भएको एक महिना बितिसक्दा पनि त्यसको परिणाम घोषणा नगरीआयोगले सरकार गठन प्रक्रिया अवरुद्ध पारेको निष्कर्ष निकालेको छ । ‘संविधानको अपव्याख्या गर्दै वर्तमान सरकार जसरी आफ्नो आयु लम्ब्याउने र नयाँ सरकार गठनको ढोका थुन्न उद्यत छ यो संविधानको भावना र मर्मविपरीतको विषय हो,’ विज्ञप्तिमा भनिएको छ ।
एमाले स्रोतका अनुसार परिणाम घोषणा नगरे जनदबाब दिनुपर्ने विचार नेताहरुले बैठकमा राखेका थिए। स्थानीय तह तथा प्रदेशसभाका जनप्रतिनिधिलाई काठमाडौंमा उतारेर जनदबाब दिनेसम्मका कार्यक्रम ल्याउन सकिनेगरी बैठकमा छलफल भएको स्रोतले जनाएको छ।
‘संसद्को निर्वाचन भएपछि नयाँ सरकार बनाउन्ने विश्वव्यापी नियम होतर यहाँ संवैधानिक जटिलता देखाउन खोजिएको छ’, एमालेले भनेको छ,’ सरकार गठनका लागि सहज वातावरण बनाउन सरकार र निर्वाचन आयोगलाई अनुरोध गर्छौं।’

प्रकाशित: २५ पुस २०७४ ०३:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App