२९ असार २०७७ सोमबार
राजनीति

काठमाडौंमै प्रदेशसभाको बैठक गर्ने तयारी

काठमाडौं- अस्थायी राजधानी तोक्दा विवाद बढ्ने देखिएपछि सरकारले काठमाडौंमै सात प्रदेशसभाका सदस्यको शपथ ग्रहण गराउने तयारी गरेको छ । सरकारले काठमाडौंका सात छुट्टाछुट्टै ठाउँमा प्रदेशसभाका सदस्यलाई शपथ ग्रहण गराउने तयारी गरेको छ ।
शपथ ग्रहणपछि प्रदेशसभाको पहिलो बैठक पनि काठमाडौंमै बस्ने भएको छ । प्रदेशसभाको पहिलो बैठकले प्रदेशको राजधानी तोक्ने निर्णय गर्ने सरकारको भनाइ छ । वाणिज्यमन्त्री मीन विश्वकर्माले अस्थायी राजधानी तोक्ने विषयमा राजनीतिक सहमति नभए काठमाडौंमै सातवटा प्रदेशका प्रदेशसभाका सदस्यलाई शपथ खुवाउने तयारी सरकारले अघि बढाएको बताए । ‘प्रदेशको राजधानी तोक्ने जिम्मा प्रदेशसभाको हो । सरकारलेसातवटै प्रदेशसभाका सदस्यलाई काठमाडौंमै शपथ खुवाउने तयारी गरेको हो’, उनले भने । सिँचाइमन्त्री सञ्जय गौतमले भने, ‘प्रदेशसभाको पहिलो बैठक र प्रदेशसभाका सदस्यलाई शपथ खुवाउने काम काठमाडौंमा हुनेछ ।’
प्रदेशसभाका सदस्यलाई शपथ खुवाउन तथा प्रदेशसभाको बैठक आह्वान गर्न प्रदेशप्रमुखको मनोनयन भने आगामी मन्त्रिपरिषद् बैठकबाट गर्ने तयारी सरकारले अघि बढाएको छ । सरकारले प्रदेशको अस्थायी राजधानी तोक्न केही दिनअघि एउटा कार्यदल बनाएको थियो । कार्यदलले प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को भक्तपुरको सानो ठिमी, ४ को पोेखरा, ५ को दाङ, ६ को सुर्खेत र ७ को दिपायललाई अस्थायी मुकाम बनाउन सिफारिस गरेको थियो । सिफारिस कार्यान्वयन गर्ने तयारी गरेको सरकार विवाद हुने स्थिति देखिएपछि पछि हटेको हो ।
अस्थायी राजधानी तोक्ने विषयमा एमाले र माओवादी केन्द्रले सरकारलाई सहयोग नगरेको युवा तथा खेलुकद मन्त्री राजेन्द्र केसीले बताए । उनले भने, ‘प्रदेश राजधानी तोेक्न सरकारले  राजनीतिक सहमति जुटाउने प्रयास ग¥यो । सहमति नजुटेपछि सरकार प्रदेशसभाको अस्थायी राजधानी तोक्दैन ।’ एमाले र मााओवादीले सहमति दिएमा अस्थायी राजधानी तोकिने सम्भावना कायमै रहेको उनले बताए ।

प्रकाशित: २४ पुस २०७४ ०९:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App