१५ चैत्र २०८० बिहीबार
राजनीति

दोस्रो पुस्ताका एमाले नेताबीच घोचपेच

काठमाडौं- पार्टी एकताका विभिन्न विषयमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नता मौन रहेको अवस्थामा दोस्रो पुस्ताका नेताबाट संगठनात्मक संरचना, नेतृत्व बाँडफाँट तथा सिद्धान्तका बारेमा फरकफरक धारणा सार्वजनिक भएका छन् । यसले यसले नेकपा एमालेभित्र समेत अन्योल जन्माएको छ ।

एमालेमा एकै व्यक्तिले पार्टी अध्यक्ष, संसदीय दलको नेता तथा प्रधानमन्त्री हुनुपर्छ भन्नेदेखि शीर्ष नेतृत्व तहमा रहेका नेताले राजनीतिबाट सन्न्यास लिनुपर्छ भन्नेजस्ता अभिव्यक्ति आएका छन् ।

चुनावपछि सम्पन्न दुई स्थायी कमिटी बैठकले पार्टी एकताको विषय अघि बढाउन एकता संयोजन समिति सक्रिय बनाउने निर्णय गरेको छ । तर समितिको बैठक एकपटक पनि हुन सकेको छैन ।
एमालेमा एकै व्यक्तिले पार्टी अध्यक्ष, संसदीय दलको नेता तथा प्रधानमन्त्री हुनुपर्छ भन्नेदेखि शीर्ष नेतृत्व तहमा रहेका नेताले राजनीतिबाट सन्न्यास लिनुपर्छ भन्नेजस्ता अभिव्यक्ति आएका छन् । आगामी दिनमा पार्टीले लिने सैद्धान्तिक विषयबारे पनि चर्चा हुन थालेको छ ।
संगठन संरचना र नेतृत्व व्यवस्थापन
नेकपा एमालेभित्र माओवादीसँग एकीकरणपछि हुने पार्टी संगठन संरचना, नेतृत्व व्यवस्थापनलगायतका विषयमा नेताहरुले फरकफरक धारणा सार्वजनिक गर्दै आएका छन् ।
चुनाव सकिनेबित्तिकै एमाले महासचिव ईश्वर पोखरेलले नेतृत्व बहुकेन्द्रित हुँदा विगतमा समस्या देखिएको भन्दै केन्द्रीकृत बनाउनुपर्ने धारणा सार्वजनिक गरेका थिए । उनले एकै व्यक्ति पार्टी अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्री हुनुपर्ने धारणा सार्वजनिक गरेका थिए । ठूलो पार्टीको हैसियतले एमालेले ती जिम्मेवारी प्राप्त गर्नुपर्ने उनको तर्क थियो । संयोजन समितिमा सदस्य रहेका पोखरेलको अभिव्यक्तिले ठूलै प्रतिक्रिया उत्पन्न गरेको थियो ।
स्थायी कमिटी सदस्य शंकर पोखरेलले दुई सहअध्यक्षको अवधारणा अघि सारेका छन् । ओलीनिकट नेता पोखरेलले एकता महाधिवेशनअघि बहुनेतृत्वमा जाने धारणा सार्वजनिक गरेका छन् ।
प्रचार विभाग प्रमुख रहेका एमाले सचिव योगेश भट्टराईले एमाले र माओवादीका शीर्ष नेताहरुले सन्न्यास लिएर नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्ने आइतबार बताए । भट्टराईको यो भनाइको व्यापक आलोचना भयो । एमाले पोलिटब्युरो सदस्य विष्णु रिमाल र भट्टराईबीच सामाजिक सञ्जाल ट्विटरमा वादविवाद भयो । ट्विटरमा रिमालले चुनाव लड्दा जित्नका लागि ओली चाहिने भनेर भट्टराईलाई कटाक्ष गरेका थिए ।
महासचिव पोखरेल, शंकर पोखरेल र रिमाल ओली प्यानलबाट निर्वाचित भएका हुन् भने सचिव भट्टराई माधवकुमार नेपाल प्यानलबाट निर्वाचित भएका हुन् ।
सिद्धान्तको बहस
एमालेभित्र एकीकृत पार्टीले अपनाउनुपर्ने सैद्धान्तिक विषयमा पनि बहस सुरु भएको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रको एक्काईसौैं शताब्दीको जनवाद र एमालेको जनताको बहुदलीय जनवाद खासै फरक नभएको बताएका छन् । पार्टीका उपमहासचिव घनश्याम भुसालको भने फरक तर्क छ । समाजको चरित्र परिवर्तन भइसकेकाले पार्टीले पनि सोहीअनुसार आफूलाई बदल्नुपर्ने उनको भनाइ छ ।
अहिलेको सन्दर्भमा माओवादीको माओवाद र एमालेको जबजको ‘च्याप्टर क्लोज’ भएको तर्क उनको छ । उनको यो तर्कको ओलीनिकट नेताहरुबाट चर्को विरोध भएको छ । केन्द्रीय सदस्य सूर्य थापाले फेसबुकमा च्याप्टर क्लोज–जबजको ! यो के भन्ने खोजेका होला ? भन्दै कटाक्ष गरेका छन् । विवादमा उत्रिएका नेताहरु एमालेको गत महाधिवेशनमा प्रतिस्पर्धी थिए । थापा ओलीको प्यानलबाट केन्द्रीय सदस्यमा र  भुसाल माधवकुमार नेपालको प्यानलबाट उपमहासचिवमा निर्वाचित भएका हुन् ।
आआफ्नै स्वार्थ
२०२५ सालबाट फरकफरक धारमा रहँदै आएका दुवै पार्टीबीच हुन लागेको एकता ऐतिहासिक हुने दुवै दलले बताउँदै आएका छन् । सशस्त्र संघर्ष गरेर आएको नेकपा माओवादी केन्द्र र संसदीय राजनीतिबाट आएको एमालेबीचको एकीकरणपछि एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहाल कुन भूमिकामा रहने, अन्य नेताको भूमिका के हुने भन्ने प्रस्ट भइसकेको छैन ।
‘यो ठूलो घटना हो । पार्टीहरुमा उथलपुथलको अवस्था हो । त्यसैले सबै विषय आफूलाई केन्द्रमा राखेर आएका छन्’, एमालेका एक नेताले भने, ‘अहिले एमालेका नेताबाट आएका धारणा नयाँ बन्ने पार्टीमा आफूलाई केन्द्रमा राख्नलाई आएका हुन् ।’
अहिले एमालेभित्र दुवै समूह एक अर्कोसँग सशंकित छन् । दुवै समूह पार्टी एकता भएको अवस्थामा आफूलाई सुरक्षित कसरी बनाउने भन्ने दाउमा छन् । ओली पक्षले पार्टी एकीकरण हुँदा नेपाल पक्ष माओवादीसँग मिलेर प्रतिस्पर्धामा आउन सक्ने ठानेको छ ।
महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएपछि ओली पार्टीभित्र निकै शक्तिशाली भएका छन् । प्रतिनिधिसभा चुनावमा पराजित भएपछि उपाध्यक्ष वामदेव गौतम ओली पक्षसँग असन्तुष्ट भए पनि अहिलेकै अवस्थामा पार्टीभित्रको प्रतिपक्ष संस्थापन पक्षलाई चुनौती दिनसक्ने अवस्थामा छैन ।

प्रकाशित: २० पुस २०७४ ०४:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App