७ वैशाख २०८१ शुक्रबार
राजनीति

काम नदिएको भन्दै युवासंघ अध्यक्षले कुटे एमाले नेता

 जाजरकोट– जाजरकोटमा एमालेको भातृसंगठन युवासंघ नेपालका कार्यकर्ताहरूले एमालेकै नेता कुटेका छन्। सडक निर्माणको विषयमा विवाद हुँदा एमाले जाजरकोटका नेता एवम् भेरी नगरपालिका वडा नम्वर ७ का वडाध्यक्ष चन्दबहादुर शाही र उनका छोरा महेन्द्रबहादुर शाहीलाई युवा संघका कार्यकर्ताहरुले कुटपिट गरी गम्भीर घाइते बनाएका हुन् ।

युवा संघका जिल्ला अध्यक्ष दिपेन्द्र शाहीको समूहले वडा अध्यक्ष शाही र उनका छोरा माथि शनिबार साँझ आक्रमण गरी गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी भावेश रिमालले जानकारी दिए।     

उनीहरूको टाउको र अनुहारमा गम्भीर चोट लागेको चन्द्रबहादुरका भाइ गंगाबहादुर शाहीले बताए ।  शाही र उनका छोरालाई आक्रमण गर्नु अघि पेस्तोलबाट ३ राउण्ड फाइरिङ्ग समेत भएको स्थानीय जीतबहादुर चन्दले बताए ।  घाइतलाई प्राथमिक उपचारपछि कोहलपुर मेडिकल कलेजमा  शनिवार राति नै लगिएको गंगा शाहीले बताए । उनले  वडाध्यक्ष शाही गम्भीर अवस्थामा रहेको समेत बताए।  

स्याउलीबजार देखि  पुन्माको सरस्वती मावि  हुँदै पातिहाल्ना सडक निर्माणको विषयमा विवाद हुँदा उनीहरूबीच झगडा भएको बताइएको छ । सडक निर्माण कामको जिम्मा दिपेन्द्रले आफूले पाउनु पर्ने दावी गरेको भएपनि वडा अध्यक्ष शाहीले सडक निर्माण काम डिलबहादुर शाहीलाई  दिएपछि उनीहरु बीच विवाद भएको स्थानीयवासीको भनाइ छ ।  सडक निर्माणको काम आफूलाई नदिएको भन्दै वडाध्यक्ष शाहीमाथि आक्रमण भएको प्रहरीको भनाइ छ। 

वडाध्यक्ष शाहीलाई युवासंघ जाजरकोटका अध्यक्ष दिपेन्द्र शाही, अन्य युवाहरू सुशील शाही, बुद्धिमान शाही, मानबहादुर शाही, सूर्य विक, यज्ञ शाही, देवबहादुर शाही लगायत ३० जनाले आक्रमण गरेको प्रहरी प्रमुख रिमालले जानकारी दिए । उनीहरूको खोजी भइरहेको रिमालले बताए। 

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनबाट शाही एमालेबाट वडा अध्यक्ष बनेका थिए । वडाध्यक्ष शाही र  युवा संघका अध्यक्ष शाहीकाबीचमा स्थानीय तहको निर्वाचनकै बेला विवाद भएको स्थानीय एमाले कार्यकर्ताहरू बताउँछन् । वडाध्यक्ष शाही माधव नेपाल पक्षका हुन भने युवा संघका अध्यक्ष शाही केपी ओली पक्षका हुन्।

प्रकाशित: १६ पुस २०७४ ०८:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App