coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

हुलाक सेवा विभाग टेन्डर प्रकरण, अख्तियार र सतर्कता केन्द्रमा उजुरी

काठमाडौं- हुलाक सेवा विभागको ५० लाख रुपैयाँको टेन्डर आफूलाई पार्न गुन्डा प्रयोग गरी अन्य प्रतिस्पर्धीलाई टेन्डर दर्तामा अवरोध पु¥याएको र कुटपिट गरेको भन्दै छानबिन माग राखेर कृष्ण कर्पोरेसन प्रालिविरुद्ध महानगरीय प्रहरी वृत्त कमलपोखरीमा जाहेरी दर्ता भएको छ ।
मंगलबार विभागले तोकेको समय मध्याह्न १२ बजेभित्र डिल्लीबजारमा रहेको कार्यालयमा टेन्डर दर्ता गर्न जाँदा सो कर्पोरेसनका कर्मचारीले आफ्नो टेन्डर दर्ता गरेर अन्य प्रतिस्पर्धी कम्पनीका प्रतिनिधिलाई कार्यालय प्रवेश गर्न नदिई कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका बारकोड नेपालका हेमेश्वर मल्लले कृष्ण कर्पोरेसनका प्रमुख रवि अग्रवाल, कामदार नवीन र प्रकाशकुमार श्रेष्ठविरुद्ध वृत्तमा जाहेरी दिएका हुन् ।
जाहेरीपछि वृत्तले अग्रवाललाई बोलाएर छलफल गरेको छ । तर कुटपिटमा संलग्न भनिएका अन्य २ लाई भने प्रहरीले पक्राउ गरेको छैन । ‘प्रहरीले अग्रवाललाई बोलाएर छलफल गराउँदा उनले हामीले हैन भने तर कुट्ने उनकै कम्पनीका कर्मचारी थिए,’ मल्लले भने, ‘कुट्नेलाई चिन्दिनँ भनेर उनले प्रहरीलाई समेत ढाँटे ।’
बिहान १० बजेबाटै टेन्डर दर्ताका लागि विभाग पुगेका अन्य कम्पनीका प्रतिनिधिलाई कृष्ण कर्पोरेसनका कर्मचारीले कार्यालय प्रवेशमा अवरोध पु¥याउने,  लखेट्ने, कुटपिट गर्ने र मोबाइल खोस्ने गर्दासमेत विभागका सुरक्षागार्ड र कर्मचारीमाथि मौन बसेर  सघाएको आरोप लागेको छ ।
प्रहरीले विभाग पुगेपछि अवरोध गर्ने भागेपछि सिलबन्दी बोलपत्र दर्ता गर्न गएका अन्यलाई विभागका कर्मचारीले समय सकिएको भन्दै फर्काएका थिए । पछि विभागले एकल सिलबन्दीकर्ताको करिब ५४ लाखको बोलपत्र खोलेको थियो ।
बार कोडले टेन्डर प्रक्रियाबाट आफूलाई जानाजान बाहिर राख्ने काम भएको भन्दै हुलाक सेवा विभाग, राष्ट्रिय सतर्कता केन्द्र, सार्वजनिक खरिद अनुगमन कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिन माग गर्दै निवेदन दर्ता गरेको छ ।
विभागका निमित्ति महानिर्देशक राजन पौडेलले टेन्डर दर्ताका लागि तोकिएको १२ बजेको समयपछि विभागको गेटमा होहल्ला भएपछि प्रहरीमा जानकारी गराएको र सेटिङमा टेन्डर दर्ता नगरिएको दाबी गरेका छन् ।
उनले नागरिकलाई पठाएको प्रस्टीकरण पत्रमा दर्ता भएको बोलपत्रको प्राविधिकलगायत पक्ष मूल्यांकन गर्न बाँकी रहेको र टेन्डर स्वीकृत नगरिएको जानकारी गराएका छन् ।
दर्ता पुस्तिका बन्द गरेपछि बार कोड नेपाल बोलपत्र दर्ता गर्न आएकाले दर्ता गर्न नसकिएको दाबी गर्दै उनले बोलपत्र दर्तामा अवरोध भएको विषयमा तोकिएको समयभित्र विभागलाई जानकारी नआएको र समय सकिएपछि केही व्यक्ति कार्यालय प्रमुखको कार्यकक्षमा आएर गुनासो गरेको दाबी पौडेलको छ ।

प्रकाशित: १३ पुस २०७४ ०२:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App