coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कमजोरी छोप्ने बहाना बनाउँदै जनप्रतिनिधि

झापाको बिर्तामोडस्थित भद्रपुर रोडमा बगिरहेको ढलको पानी । यसले सहरमा दुर्गन्ध बढाएको छ ।

झापा- चुनावलगत्तै नगरपालिकाको भवनमै आयोजित शपथग्रहण समारोहमा झापा बिर्तामोडका जनप्रतिनिधिले सामूहिक रूपमा वाचा गर्दै भनेका थिए, ‘अबको केही महिनाभित्रै जनप्रतिनिधि भएको आभास दिनेगरी काम गर्नेछौं ।’ नगरप्रमुख ध्रुवकुमार शिवाकोटी, उपप्रमुख पवित्रादेवी महतारा र सबै वडाध्यक्षको यस्तो साझा प्रतिबद्धता व्यवहारमा भने कतै देखापरेको छैन ।

उल्टै पूर्वकै ठूलो सहरमा गणना हुन थालेको बिर्तामोडमा बेथितिको ग्राफचाहिँ उच्च हुँदै गएको छ । जनप्रतिनिधि आएको लामो समय  बितिसक्दासमेत विकासखर्चतर्फ एक पैसा पनि बजेट निकासा नहुँदा उनीहरूको कार्यदक्षताको आलोचना हुन थालेको छ । बिर्तामोडको सबैभन्दा व्यस्त रहने भद्रपुर रोडमा हिउँदमै सडकमाथिबाट ढल बगिरहेको छ । ढलको फोहोर सडकबाटै बग्न थालेपछि दुर्गन्ध फैलिएको हप्तौं भइसकेको छ । पैदलयात्रु नाक थुनेर सडकमा हिँडछन् । त्यही बाटोबाट दैनिकजसो बिर्तामोडका मेयर र उपमेयर नगरपालिका कार्यालय आवतजावत गर्छन् । दुर्गन्धले सडक नजिकैका सटरमा दिनभर व्यापार गर्न समेत मुस्किल परिरहेको व्यापारीहरु बताउँछन् । स्थानीय व्यापारी भूमि भण्डारीका अनुसार ढलको गन्धले बसिनसक्नु भएको छ । पटकपटक नगरपालिकामा जानकारी गराउँदासमेत सुनुवाइ भएको छैन ।

‘चुनाव जितेपछि कायापलट गर्छु भन्नेहरूले ६ महिनामा सिन्का भाँचेनन्’, बिर्तामोडको भद्रपुर रोडका व्यवसायी भण्डारीले भने ‘आँखैअघिको समस्या पनि देखेको नदेख्यै गरिरहेका छन् ।’  उनका अनुसार स्थानीय तहका प्रतिनिधिहरू नयाँनयाँ बहाना देखाउँदै काम गर्न नसकिएको बताइरहेका छन् । बाढी, चाडपर्व अनि चुनावजस्ता विषय अघि सारेर उनीहरू आफ्नो सुस्तता ढाकछोप गर्ने प्रयास गरिरहेका छन् ।

जनप्रतिनिधिहरूले जिम्मेवारी सम्हालेको आधा वर्ष बित्नै लागेको छ । तर, यसबीचमा एउटै पनि देखिने र भोगिने काम नभएको भन्दै नगरवासी असन्तोष प्रकट गरिरहेका छन् । करिब दुई दशकको लामो रिक्ततापछि जनप्रतिनिधिहरू स्थानीय तहमा आउँदा ‘अभिभावक फर्केको’ जत्तिकै उत्साह प्रकट गरेका सर्वसाधारण उनीहरूको ६ महिने कार्यकालबाट आशावादी हुन सकेका छैनन् । यो बिर्तामोड एक्लो नगरपालिकाको मात्रै समस्या होइन, जिल्लाका अधिकांश स्थानीय तहका जनप्रतिनिधि विकास निर्माणका काम अघि बढाउन कुहिराको कागझैं अलमलमा परेपछि सबैतिर असन्तोषको पारो उक्लिँदै गएको हो ।

सर्वसाधारणको असन्तोष मनोगतमात्रै छैन । केही यस्ता वस्तुगत आधार छन्, जसको बलमा उनीहरू आफ्ना जनप्रतिनिधिले यसबीचमा केही नगरेको ठहरमा पुगेका हुन् । झापाको बिर्तामोड जति ठूलो छ, उत्तिकै धेरै अव्यवस्थित पनि छ । सहरको सबैभन्दा ठूलो समस्याका रूपमा रहेको फोहोर र ढल व्यवस्थापनलाई नै मुख्य मुद्दा बनाएर उम्मेदवारहरूले चुनावी प्रतिस्पर्धा गरेका थिए । तर, त्यही दुइटा समस्या समाधान त परको कुरा, त्यसको व्यवस्थापनमा सामान्य चासो पनि दिइएको छैन ।

सहरको  फोहोर उठाएर सडकछेउमा थुपार्ने गरिएको छ । चारआलीदेखि बिर्तामोडसम्मको राजमार्ग क्षेत्रमा अहिले पनि फोहोरको डंगुर देख्न सकिन्छ । ६० महिने कार्यकालको पहिलो ७ महिना बित्न लाग्दासमेत बिर्तामोडका जनप्रतिनिधिले फोहोर विसर्जन गर्ने ठाउँ फेला पारेका छैनन् । फोहोरको पीडाले जनप्रतिनिधिहरू आफै पनि सताइएका छन् । ४ नम्बर वडाका  वडाध्यक्ष कुलप्रसाद संग्रौला छातीको ‘इन्फेक्सन’ बाट पीडित भए । चिकित्सकले धुलोको असरले यस्तो भएको बताए । उनले पटकपटक नगरमा कुरा पु¥याउँदा समेत सुनुवाइ नभएको बताए । भद्रपुर रोडको दायाँबायाँ ढल थुनिएर सडकमा बगेको स्वीकार्दै वडाध्यक्ष संग्रौलाले भने, ‘सडक विभागले चासो नदिँदा सास्ती खेप्न बाध्य हुनुपरेको छ ।’ नगर प्रमुख  शिवाकोटीले भने आफूहरू वर्षायाममा निर्वाचित भएर आएको र बीचमा चुनाव परेकाले चाहे जसरी काम गर्न नसकेको बताए । उनले काम गर्न नपाएको बताए पनि पहिलो नगरसभा पनि हुन सकेको छैन ।  उनले चाँडै नगरसभा बसेर काम सुरु गर्ने बताएका छन् ।

सर्वसाधारणमा असन्तोषको बीउ रोप्ने काम भने स्वयम् जनप्रतिनिधिहरूले नै गरेका हुन् । जसरी पनि चुनाव जित्ने ध्येयले सम्भव–असम्भव योजना देखाएर मतदाताको मत बटुलेका उनीहरू यतिबेला आएर ‘स्रोत साधनको सीमितता, कानुनी जटिलता’ देखाइरहेका छन् । जबकि उनीहरूले नै जगाइदिएको विकासे महŒवाकांक्षाले सर्वसाधारणलाई भने अधीर बनाइदिएको छ ।

निर्वाचित भएर आएको सय दिनपछि उपलब्धि सार्वजनिक गर्ने क्रममा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले ‘अपेक्षाअनुसार काम गर्न नसकेको’ स्वीकार गरेका थिए । तर, सात महिनापछिको अवस्था पनि उस्तै छ । उनको नेतृत्वको टिमले पहिलो बैठकबाटै बाढीले क्षति गरेको ठाउँमा मर्मतसम्भार गर्ने र सडक व्यवस्थित पार्ने निर्णय गरेको थियो । तर, पूर्वपश्चिम राजमार्गबाहेक नगरका कुनै पनि सडक अहिले सद्दे छैनन् । बर्खाभरि हिलाम्य सडकमा अहिले धुलोको साम्राज्य छ । यसले जनस्वास्थ्यमा प्रतिकूल असर पारिरहेको छ ।  

धुलाबारीलाई चन्द्रगढीसँग जोड्ने सडक केही महिनाअघिसम्म कालोपत्रे थियो । तर, भत्केर खाल्डाखुल्डीले भरिएपछि सडकमा आवतजावत गर्न सास्तीदायक थियो ।  मेचीनगर र  भद्रपुर नगरपालिकाका हजारौं मतदाताको पहिलो आवश्यकता र प्राथमिकतामा रहेको यो सडकलाई कसैले दुई महिना र कसैले तीन महिनाभित्र बनाउने घोषणा गरे । धुलाबारीबाट ज्यामिरगढी हुँदै चन्द्रगढी विमानस्थल जोड्ने र मेची अञ्चल अस्पताल , मेची बहुमुखी क्याम्पस तथा पूर्वोत्तर झापाका हजारौं नागरिकलाई सदरमुकामसँग जोड्ने यो बाटो बनाउने होइन, नगरपालिका आफैंले भत्काएर हिँडिनसक्नु बनाएको छ । ‘कालोपत्रे भत्केका कारण खाल्डा पुर्न बालुवा हालेर रोलर लगाएको हो’, मेचीनगरकी कार्यपालिका सदस्य कुसुम चौधरीले भनिन् ‘तर, अहिले त्यही ठूलो समस्या भएको छ । व्यस्त रहने सडकमा धुलो उडेर नगरवासीलाई हैरान पारेको छ ।’

नगरवासीले पटकपटक धुलोको समस्या समाधान गर्न भन्दै बाटोमा गाडी चल्न दिएनन् । त्यसबेला सबै जनप्रतिनिधिले सडक दिनहुँ भिजाउने सहमतिमा बाटो खोलेका थिए । तर, चुनावभरि चलेको पानी हाल्ने काम मतदान सकिएको दिनदेखि बन्द छ । लगातारको धुलोले सर्वसाधारण बिरामी परेका छन् । ‘यो सडक क्षेत्रका बासिन्दामा एलर्जी, छातीको संक्रमण, श्वासप्रश्वासको समस्या उच्च भएको छ’, धुलाबारीका स्वास्थ्यकर्मी चन्द्रनारायण सिंहले भने, ‘अधिकांश बालबालिका र वृद्धवृद्धा बढी पीडित छन् । यो सबै धुलो धुँवाकै कारणले हो ।’ समस्या यतिधेरै उच्च हुँदा पनि मेचीनगर नगरपालिका भने बजेट नभएको, नगरसभा हुन नसकेको भनेर मौन छ । गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकामा त राजनीतिक लडाइले बैठक पनि अनियमित छ । नेतृत्व एउटा दलको र कार्यपालिकामा बहुमत अर्को दलको भएका कारण यी दुई निकायमा कुनै काम अघि नबढेका हुन् । गौरादहमा प्रमुख कांग्रेसका छन्, बहुमत एमालेको छ । त्यस्तै गौरीगञ्जमा अध्यक्ष राप्रपाका छन्, बहुमत कांग्रेसको छ । यसले नियमित बैठक नै पनि हुन नसकेको ती निकायका कर्मचारीको भनाइ छ ।

कतै कामै नगर्ने, कतै बैठक पनि आयोजना नगर्ने जनप्रतिनिधिको तालले सर्वसाधारणलाई भने आक्रोशित  तुल्याइरहेको छ । ‘हाम्रा जनप्रतिनिधिमा शक्ति प्राप्तिका लागि जे पनि बोल्ने र गर्ने क्षमता मात्रै रहेछ’, मेचीनगरका बासिन्दा गोविन्द बराल भन्छन्, ‘तर, जिम्मेवारी लिएपछि राम्ररी काम गर्ने, जनतालाई आशावादी बनाउने क्षमता रहेनछ । आउँदो समयमा यसलाई उनीहरूले गलत प्रमाणित गरिदिए हुन्थ्यो ।’

प्रकाशित: १० पुस २०७४ ०२:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App