coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘म समानुपातिकमा पर्छु ?’

काठमाडौं- विभिन्न दलका समानुपातिकतर्फका ९ जना उम्मेदवार सोमबार निर्वाचन आयोगको समानुपातिक एकाइमा पुगे । उनीहरू आफू सांसद बन्न पाइन्छ या पाइँदैन भन्ने जिज्ञासा लिएर त्यहाँ पुगेका थिए । एकाइका कर्मचारीसँग उनीहरूले एकएक गरी सोधे, ‘समानुपातिकमा म पर्छु कि पर्दिनँ ? महिला नै चाहिने हो र ? क्रमसंख्या तलमाथि गर्न पाइन्छ कि पाइँदैन ?’
समानुपातिकतर्फको मतगणना भएको एक साता हुन लाग्दा पनि दलहरूले पाउने सिटसंख्या आयोगले सार्वजनिक गर्न सकेको छैन । एकाइका कर्मचारीका अनुसार यसरी सोध्न जानेमध्ये धेरैजसो पुरुष थिए । आयोगका एक कर्मचारीले भने, ‘समानुपातिक सांसदमा हामी पर्छौं कि पर्दैनौं ? आफन्त पर्छन् कि पर्दैनन् भन्न आउँछन् । सोमबार मात्रै ९ जना आए ।
कानुनतः समानुपातिकमा ३३ प्रतिशत महिला पु¥याउनुपर्ने बाध्यता छ । त्यस्तै जनसंख्याका आधारमा विभिन्न जातजातिको क्लस्टरअनुसार समानुपातिक प्रतिनिधित्व गराउनुपर्नेछ । ‘पार्टीका चिनिने नेता आउँदैनन् । बीचका र समानुपातिकमा नाम नआउने खालका नेतामात्र सोध्न आउँछन्,’ समानुपातिक एकाइका एक कर्मचारीले हाँस्दै भने । कानुनअनुसार क्रमसंख्या र क्लस्टर मिच्न नपाइने जबाफ दिएर पठाउने गरेको उनले बताए । व्यक्तिगत रुपमा सोध्न आएकालाई कानुन र विधिबारे बताइदिने गरेको जानकारी उनले दिए । केही उम्मेदवार त समानुपातिक निर्वाचन प्रणाली नै नबुझेको भन्दै  सोध्न पुगेका छन् ।
निर्वाचन आयोगका अनुसार समानुपातिक प्रतिनिधि छनोटमा यसअघिको संविधानसभा निर्वाचनमा ‘मोडिफाई सेन्टलग’ विधि प्रयोग गरिएको थियो । यसपटक ‘सेन्टलग’ विधि मात्र प्रयोग गरिएको छ । संविधानसभामा पहिलो भाजक १ दशमलव ४ थियो । यसपटक पहिलो भाजक १ छ ।
समानुपातिकमा दलहरूले ३३ प्रतिशत महिला अनिवार्य पु¥याउनुपर्ने भएकाले अधिकांश महिला निर्वाचित हुने देखिएको छ । एमालेले समानुपातिकमा पाएको ४१ सिटमध्ये ३९ महिला पठाउनुपर्नेछ । माओवादीले पाउने १७ सिटमा १५ महिला पठाउनुपर्नेछ । त्यसैगरी कांग्रेसले ४० सिटमा १९ महिला पठाउनुपर्नेछ ।
कसको कति सिट ?
प्रतिनिधिसभा र प्रदेशसभा चुनाव सकिएको दुई साता बितिसकेको छ । तर दलहरूको आन्तरिक विवादका कारण निर्वाचन आयोगले समानुपातिकतर्फको परिणाम सार्वजनिक गर्न सकेको छैन ।
अब प्रतिनिधिसभामा समानुपातिकबाट १० दल सहभागी हुन पाउने भएका छन् । प्रत्यक्षमा १ मात्र सिट जितेका ५ दल र राष्ट्रिय दल बन्ने ५ दल सहभागी हुनेछन् ।
प्रत्यक्ष र समानुपातिक गरी एमालेले पहिलो स्थान लिएको छ । प्रतिनिधिसभामा एमालेले प्रत्यक्षतर्फ ८० सिट जितेको छ भने समानुपातिकतर्फ ४१ सिट ल्याउने देखिएको छ । समानुपातिकतर्फको आधिकारिक नजिता भने आयोगले सार्वजनिक गरिसकेको छैन ।
समानुपातिक प्रणालीमा देशको भूभागलाई एक निर्वाचन क्षेत्र मानिन्छ । त्यसअन्तर्गत मतदाताले राजनीतिक दललाई मत दिन पाउँछन् । दलले ल्याएको कुल सदर मतमध्ये निर्वाचन आयोगले ‘सेन्ट लग’ सूत्रका माध्यमबाट दलको सिट संख्या निर्धारण गर्नेछ ।
प्रत्यक्षमा ३६ सिट जितेको कांग्रेसले समानुपातिकतर्फ ४० सिट ल्याउने देखिएको छ । त्यसैगरी राष्ट्रिय जनता पार्टीले प्रत्यक्षमा ११ सिट जितेको छ भने समानुपातिकमा ६ सिट ल्याउने देखिन्छ । प्रत्यक्षमा १० सिट जितेको संघीय समाजवादी फोरमले पनि समानुपातिकमा ६ सिट ल्याउने देखिन्छ ।
प्रतिनिधिसभामा राष्ट्रिय पार्टीका रुपमा यी पाँच दलले मात्र प्रतिनिधित्व गर्न पाउने छन् । बाँकी प्रत्यक्षतर्फ एक सिट मात्र जितेका दलहरूले सामान्य दलको हैसियतले प्रतिनिधित्व गर्नेछन् । एक सिट मात्र प्राप्त गर्ने दलहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, मजदुर किसान पार्टी र एक स्वतन्त्र छन् ।
प्रदेश १ मा सबैभन्दा धेरै एमालेले प्रत्यक्षमा ३६ सिट जितेको छ । यस्तै समानुपातिकमा १५ सिट जित्ने देखिन्छ । प्रत्यक्षमा १० सिट जितेको माओवादी केन्द्रले समानुपातिकमा ५ सिट ल्याउने देखिन्छ । कांग्रेसले प्रत्यक्षमा ८ सिट ल्याएको छ । यस्तै समानुपातिकमा १३ सिट आउने देखिएको छ ।
प्रत्यक्षमा नजिते पनि प्रदेशसभामा समानुपातिकबाट जित्ने दलमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र विवेकशील साझा पार्टी पनि छन् । समानुपातिकबाट प्रदेश ३ मा विवेकशील साझाले ३ सिट ल्याउने देखिएको छ । प्रदेश १ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १ सिट प्राप्त गर्ने देखिन्छ ।

प्रकाशित: ६ पुस २०७४ ०२:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App