७ वैशाख २०८१ शुक्रबार
राजनीति

मुद्दा सम्बोधनमा मधेसी दलको चासो

लहान- प्रदेश २ मा प्रादेशिक सरकार निर्माणका लागि प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३ गरी १ सय ७ सदस्यीय प्रदेशसभाको बहुमत ५४ सिट हो । हालसम्मको चुनावी परिणामअनुसार कुनै एउटा दलको स्पष्ट बहुमत पुगेको छैन । तर, फोरम–राजपा गठबन्धनको भने ठीक ५४ सिट पुगेको छ । यो गठबन्धन कायम रहेमा सरकार गठन गर्न चाहिने सामान्य बहुमत पुग्छ ।  तर, प्रादेशिक सरकार गठनभन्दा पनि केन्द्रीय सत्ता समीकरणमा ‘मधेस मुद्दा’ लाई ठाउँ दिलाउने सकस भने कायमै छ ।

‘सरकार लेफ्टको बनोस् कि राइटको, मधेसको मुद्दा सम्बोधन गर्ने हुनुप¥यो । मुद्दा सम्बोधन नभएसम्म हामी कुनै पनि सरकारमा सहभागी हुन्नौं ।’‍- राजेन्द्र महतो, राजपा नेता

आफूहरुको प्राथमिकता सरकार होइन, ‘मुद्दा’ हो भन्दै आएका मधेसी दलका नेताका लागि निर्माण हुन लागेको केन्द्रीय सत्ता समीकरण सकसपूर्ण बनेको छ । स्पष्ट बहुमत प्राप्त वाम गठबन्धनले मधेसी गठबन्धनलाई सत्ता समीकरणको हिस्सेदारका रुपमा आमन्त्रण नगरे पनि मधेसी नेताहरु चासो व्यक्त गरिरहेका छन् । केन्द्रीय सत्ता समीकरणमा चासो राख्नुको कारण खुलाउँदै मधेसी गठबन्धनका एक नेताले भने, ‘मधेस मुद्दा सम्बोधन गर्ने समीकरण बनोस् भन्ने हाम्रो चाहना हो ।’  
राजपा नेता राजेन्द्र महतोले नागरिकसँग भने, ‘सरकार लेफ्टको बनोस् कि राइटको, मधेसको मुद्दा सम्बोधन गर्ने हुनुप¥यो ।’ संविधान संशोधनमार्फत मधेसको समस्या सम्बोधन गरिदिनेसँग सत्ता समीकरण गर्न तयार रहेको महतोले बताए । ‘मुद्दा सम्बोधन नभएसम्म हामी कुनै पनि सरकारमा सहभागी हुन्नौं’, उनले भने, ‘हाम्रा लागि कांग्रेस, एमाले, माओवादी केन्द्र, तीनवटै उस्तै हुन् । तिनवटै मिलेर मधेसको अहितमा बनाएको संविधान तिनवटै पार्टी मिलेर सच्याउनुपर्छ ।’

मधेसी नेताका माग सम्बोधन गर्न कांग्रेस–माओवादी गठबन्धन सरकारले गत भदौ ५ गते संविधान संशोधन विधेयक संसद्मा प्रस्तुत ग¥यो । सो विधेयक पारित हुन दुईतिहाइ मत चाहिन्थ्यो, पुगेन । विधेयक फेल भएपछि सोही विषयलाई राजपाले चुनावी मुद्दा बनाएको थियो ।

एमालेप्रति मधेसी दलको भरोसा
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वाम गठबन्धन संविधान संशोधनमा सकारात्मक हुने आश गरेका छन् । उनले भने, ‘संविधान संशोधन हाम्रो माग हो, हामी छोड्दैनौं । एमाले र माओवादी केन्द्रले पनि अहिलेको ताजा जनादेशको सम्मानका लागि पहिलेको अडान त्याग्छन् । संविधान संशोधनका लागि दुईतिहाइ नभई हुन्न, एमालेबिना दुईतिहाइ मत पुग्न सम्भव छैन ।’ एमालेले भने पहिलेको भन्दा फरक धारणा व्यक्त गरिसकेको छैन । एमाले अध्यक्ष केपी ओलीले संविधान संशोधनलाई राष्ट्रघाती भन्दै आएका छन् ।
संविधान संशोधन प्रयास गर्ने कांग्रेस मधेसी आधार क्षेत्रमै पछाडि परेको छ । संशोधनप्रति सकारात्मक माओवादी केन्द्र भने वाम गठबन्धन बनाएर एमालेसँग मिलेको छ । हाल माओवादीले संशोधनको नारा बिसाएको छ ।
‘पहिलाको कुरा छाडौं,’ समाजवादी फोरमका अध्यक्ष यादवले भने, ‘अब एमालेकै प्रयासमा संविधान संशोधन हुनेछ ।’ संशोधनको नामै सुन्न नचाहने एमाले मान्ला त भने जिज्ञासामा यादवले भने, ‘पहिला राणाले, राजाले सत्ता छाड्लान भनेर कसैले सोेचेका थिए ? तर राणा र राजाले सत्ता छाडे ।’

मधेस मामिलाका विश्लेषक भने यादवको भनाइप्रति आश्वस्त देखिँदैनन् । मधेस मामिलाका विश्लेषक तुलानारायण साहकाअनुसार वाम गठबन्धनले सहजै सरकार निर्माण गर्न सक्छ, सरकार निर्माणका लागि मधेसी दलको समर्थन आवश्यक पर्दैन । यसैकारण मधेसी दलप्रति वाम गठबन्धनको धारणा सार्वजनिक नभएको अनुमान उनको छ । ‘मधेसी दलका नेताहरु हाम्रो माग सम्बोधन गरे सत्ता समीकरणमा समर्थन जनाउँछौं भन्दै हिँडेका छन्’, साहले भने, ‘संविधान संशोधनका लागि एमालेको सहमति हिजो पनि निर्विकल्प थियो, आज पनि छ । एमाले बिना संविधान संशोधन सम्भवै छैन । संविधान संशोधनमा अन्य दलभन्दा एमालेको धारणा नआई मधेसी दल बढ्दा उत्साही हुनुहुँदैन ।’

‘प्रदेश २ मा प्रादेशिक सरकार गठनको बाटो मधेसी दललाई सहज छ तर मधेसको अजेन्डा सम्बोधनको बाटो जटिल र पेचिलो छ’, उनले थपे ।

प्रकाशित: ३ पुस २०७४ ०३:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App