६ वैशाख २०८१ बिहीबार
राजनीति

सत्ता हस्तान्तरण गर्न आतुर छु : देउवा

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश तत्काल स्वीकृत गरिदिन राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् । राष्ट्रपतिलाई भेट्न बिहीबार शीतलनिवास पुगेका देउवाले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश स्वीकृत नहुँदा सत्ता हस्तान्तरणमा समेत अन्योल भइरहेको भन्दै स्वीकृत गरिदिन आग्रह गरेका हुन् ।
राष्ट्रियसभा गठन नभएसम्म निर्वाचनले पूर्णता नपाउने संवैधानिक व्यवस्था रहेको जिकिर देउवाले राष्ट्रपतिसँग गरेका छन् । ‘राष्ट्रियसभा गठन नभएसम्म निर्वाचन प्रक्रियाले पूर्णता पाउँदैन,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै उनका प्रेस संयोजक गोविन्द परियारले भने, ‘राष्ट्रियसभा गठन नभईकन सत्ता हस्तान्तरण कठिन भयो, अध्यादेश स्वीकृत गरेर बाटो खोलिदिनुस् । छिट्टो सत्ता हस्तान्तरणका लागि म आतुर छु ।’
राष्ट्रपति भण्डारीले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशमा दलीय सहमति नजुट्दा स्वीकृत गर्न कठिन भएको जानकारी प्रधानमन्त्रीलाई गराउँदै छिट्टै निष्कर्षमा पुग्ने आश्वासन दिएकी छिन् । ‘राष्ट्रिसभा गठनसम्बन्धी अध्यादेश विषयमा सरकार प्रमुख र राष्ट्र प्रमुखबीच छलफल भए पनि कुनै निष्कर्षमा राष्ट्रपति र राष्ट्रपतिको कार्यालय पुगिसकेको छैन,’ राष्ट्रपतिका एक सहयोगीले भने, ‘आन्तरिक छलफल जारी छ, छिट्टै टुंगोमा पुग्छौं ।’
राष्ट्रपति भण्डारीले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश स्वीकृत गर्दा वा नगर्दा सरकार गठनदेखि अन्य प्रक्रिया अघि बढाउन आइपर्ने बाधाका विषयमा विभिन्न पक्षसँग छलफल जारी राखेकी छिन् ।  
राष्ट्र प्रमुख र सरकार प्रमुखबीच भएको नियमित भेटबारे जानकारी दिँंदै राष्ट्रपतिका जनसम्पर्क स्वकीय सचिव जीवछ साहले राष्ट्रियसभा गठसम्बन्धी अध्यादेश, नयाँ सरकार गठनसहितका समसामयिक विषयमा छलफल भएको बताए ।
संविधानको धारा ८४ (८) र धारा ५५ अनुसार राष्ट्रियसभा गठन नभएसम्म नयाँ सरकार गठनको बाटो नखुल्ने र प्रतिनिधिसभातर्फ समानुपातिक सांसद छनोटमा पनि समस्या हुने संवैधानिक व्यवस्था छ ।
भेटमा प्रधानमन्त्री देउवाले नयाँ संविधानको व्यवस्थाअनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन शान्तिपूर्ण ढंगबाट सम्पन्न भएको, प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको र केही दिनभित्रै समानुपातिकतर्फको मतगणना पनि सम्पन्न हुने जानकारी राष्ट्रपतिलाई गराएका थिए ।
राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएपछि नयाँ संविधान कार्यान्वयमा महŒवपूर्ण योगदान पुगेको भन्दै यसका लागि प्रधानमन्त्री देउवासहित मन्त्रिपरिषद्का अन्य सदस्य, राजनीतिक दल, सुरक्षा निकाय, निजामती कर्मचारी सबैलाई धन्यवाद दिइन् । समयमै निर्वाचन सम्पन्न गरेर प्रधानमन्त्री देउवाले मुलुकमा जारी संंक्रमणकाल अन्त्यमा महŒवपूर्ण योगदान गरेको भन्दै राष्ट्रपतिले  प्रशंसा गरेकी थिइन् ।
निर्वाचनसँगै मुलुक राजनीतिक स्थिरता र आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने विश्वास व्यक्त गर्दै राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालले जारी गरेको विज्ञप्तिमा सम्पन्न निर्वाचनबाट मुलुकमा राजनीतिक स्थिरता र सामाजिक आर्थिक रुपान्तरणसहित समृद्धि हासिल गर्ने जनआकांक्षा पूरा गर्न सबै राजनीतिक दलबीच सहमति र सहकार्यमा राष्ट्रपतिले जोड दिएको उल्लेख छ ।
राष्ट्रपति भण्डारी बिहीबारै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन बुझेकी छिन् ।

प्रकाशित: २९ मंसिर २०७४ ०२:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App