९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

गाडी नहुँदा अटोमै हिँड्न बाध्य प्रदेशका मन्त्री

गाडी बिग्रिएपछि अटोमा मन्त्री र उनका सुरक्षाकर्मी।

मन्त्रालयमा एउटा मात्रै गाडी छ। त्यो पनि पुरानो भएकोले कति बेला बिग्रिन्छ र दुःख दिन्छ थाहै हुन्न। यस्तै समस्याका बीच काम गर्न बाध्य छन् बागमती प्रदेशका एक मन्त्री। आफूलाई दिइएको स्कोरपियो गाडी पनि बिग्रिरहने समस्या भएपछि बागमतीका मन्त्री रामकृष्ण चित्राकार कहिले हिँडेरै त कहिले अटोको साहारामा काम गर्न बाध्य छन्।

उनले नेतृत्व गरिरहेको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयलाई एउटा मात्रै गाडी दिइएको छ। त्यो पनि पुरानो अनि घरीघरी दुःख दिरहने अवस्थाको। बुधबार बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकमा सहभागी हुन जाने क्रममा उनले प्रयोग गर्दै आएको बागमती प्रदेश ३००१ झ ००७७ नम्बरको स्कोरपियो बिग्रिएपछि उनी हिँडेरै बैठकमा गए। उनी पुग्दा केहीबेर ढिला भैसकेको थियो। फर्किंदा पनि सबै मन्त्रीहरु आ–आफ्नो गाडी लिएर हिँडेपछि उनी आफ्नो सुरक्षाकर्मी र स्वकीय सचिवसँग हिँड्दै उपमहानगरपालिका छेउमा आएर अटो चढेर मन्त्रालय पुगे। ‘मन्त्रालयमा मैले चढ्ने स्कोरपियो गाडी मात्रै हो। त्यो पनि पुरानो भैसकेको छ, यो गाडीले निकै दुःख दिइरहन्छ’, मन्त्री चित्राकारले गुनासो गर्दै भने, ‘मन्त्रालयको महाशाखा प्रमुख पनि पैदल हिँडेरै काम चलाइरहनुभएको छ। पहिले मन्त्रालयमा भएका गाडीहरु मुख्यमन्त्री कार्यालयमा तानिएको छ।’

गाडी अभाव र पुरानो भएको विषयमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल र मुख्य सचिव घनश्याम उपाध्यायलाई पटक पटक जानकारी गराउँदा पनि कुनै सुनुवाई नभएको उनको भनाई छ। ‘भएको एउटा गाडी पनि बिग्रिरहने, मन्त्रालयमा अरु गाडी नहुँदा धेरै समस्या झेल्नुपरेको छ। महत्वपूर्ण कार्यक्रम र बैठकमा जाँदा धेरै पटक हिँडेरै काम चलाएको छु’, मन्त्री चित्राकार थप्छन्, ‘लामो समय जिम्मेवारीविहीन (विना विभागीय) काम गर्नुपरेको र पछि मन्त्रालय फुटाएर जिम्मेवारी दिइएको भएर हो कि नाम मात्रको मन्त्री जस्तो भएको छु।’

यसअघि मन्त्रालयमा रहेको ४ वटा गाडी मुख्यमन्त्री कार्यालय लगायतको स्थानमा प्रयोग भैरहेको बताइएको छ। ९३ दिन विना विभागीय मन्त्रीको रुपमा रहेका चित्राकारले बागमती प्रदेशको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयलाई फुटाएर संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय बनाएपछि उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका थिए।  

प्रकाशित: २२ कार्तिक २०८० १२:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App