१६ चैत्र २०८० शुक्रबार
राजनीति

म हारे पनि बाम गठबन्धन जितमा खुशी छुः बामदेव

एमाले नेता बामदेव गाैतम

काठमाडौं—नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले आफू हारे पनि गठबन्धनले जितेकामा खुशी व्यक्त गर्दै काँधमा काँध मिलाएर अघि बढ्ने बताएका छन्।

बर्दिया प्रतिनिधिसभा क्षेत्र नं १ बाट पराजीत भएपछि उपाध्यक्ष गौतमले एक विज्ञप्ति जारी गरी गठबन्धनको एउटा प्रमुख सूत्रधारको हैसियतले गठबन्धनले प्राप्त गरेको अपार सफलताबाट ज्यादै हर्षित भएको उल्लेख गरेका छन्।

आफू व्यक्तिगत रुपमा पराजीत हुन परे पनि पार्टी र समग्र वाम गठबन्धनले हासिल गरेको अद्वितीय विजयले आफ्नो पराजयबाट रत्तिभर पनि निराशाबोध भएको छैन भन्दै उनले जनताले वाम गठबन्धनप्रति देखाएको यो अगाढ प्यार र विश्वासले अत्यन्त उत्साहित बनाएको बताएका छन्।

'यो गठबन्धन क्रमशः पार्टी एकतामा रुपान्तरण हुँदै माजवाद निर्माणको महत्वपूर्ण अध्यायमा मुलुक प्रवेश गर्ने कुरामा म विश्वस्त छु। यस विषयमा आफूले प्रस्तुत गर्नुपर्ने भूमिका र जिम्मेवारीमा म सधैँ, उत्तिकै र अझ ऊर्जाका साथ लागिपर्ने विश्वास पनि दिलाउन चाहन्छु', विज्ञप्तिमा भनिएको छ।

एमाले उपाध्यक्ष गौतमले आगामी दिनमा राष्ट्र, राष्ट्रियता र जनताको हितमा सक्रिय रहने प्रतिबद्धता जनाउँदै बर्दिया क्षेत्र नं १ का मतदाता एवं सम्पूर्ण जनतालाई मत दिएकामा आभार व्यक्त गरेका छन्।

गठबन्धनले प्राप्त गरेको अपार विजयले हामी सबैको काँधमा धेरै जिम्मेवारी र चुनौती थपेको उल्लेख गर्दै उपाध्यक्ष गौतमले नेपाली जनताले वाम गठबन्धनप्रति देखाएको अतुलनीय विश्वासलाई रत्तिभर पनि निराश हुन नदिने बताए।

प्रकाशित: २५ मंसिर २०७४ ००:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App