१५ चैत्र २०८० बिहीबार
राजनीति

इलाममा वाम बर्चस्व

इलामका वाम गठबन्धनबाट विजयी उम्मेदवारहरू । तस्बिर : भीम चापागाईं

इलाम – इलामका प्रतिनिधिसभा तथा प्रदेशसभाका सबै निर्वाचन क्षेत्रमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवार फराकिलो मतान्तरले विजयी भएका छन्। जिल्लाका निर्वाचन क्षेत्र हुँदा एउटामा लगातार ३ पटक जितेको कांग्रेसका उम्मेदवार दुई क्षेत्र कायम भएपछिको निर्वाचनमा फराकिलो मतान्तरले पराजित भएका हुन्। 

क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल पाँचौंपटक विजयी भए । खनाल १७ हजार १ सय ६८ मतान्तरले विजयी भएका हुन्। खनालले ३६ हजार ८ सय ५ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भूपेन्द्र कट्टेलले १९ हजार ६ सय ३७ मत ल्याए । 

गृहजिल्ला इलाम नै भएका पूर्वप्रधानमन्त्री खनालले यसअघि त्यही क्षेत्रबाट ४ पटक चुनाव जितेका छन् भने एकपटक पराजित भएका छन् । खनालले २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा त्यही क्षेत्रबाट कांग्रेस जिल्ला सभापति हिमालय कर्माचार्यलाई र २०६४ मा कांग्रेसकै बेनुपराज प्रसाईंलाई पराजित गरे । खनाल ०५६ को निर्वाचनमा चाहिँ प्रसाईंसँगै पराजित भएका थिए । २०५१ र ०४८ सालका दुवै निर्वाचनमा खनालले कांग्रेसका तोयानाथ भट्टराईलाई इलाम क्षेत्र १ बाट पराजित गरेका थिए । 

खनाल २०६७ साल माघ २३ गते देशको ३७औं प्रधामन्त्री भएका थिए । त्यसअघि उनले कृषिमन्त्री भूमिुधार तथा वन, सञ्चारमन्त्रीलगायतको कार्यभार सम्हालिसकेका छन् । खनाल इलामको साविक साखेजुङ गाविस–४ मा पिता पुंगनाथ र माता मधुमाता खनालको कोखबाट २००६ साल चैत ६ मा १३औं सन्तान (जन्तरे)का रूपमा जन्मिएका हुन् । 

जिल्लाको क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ ३६ हजार ५ सय १७ मत ल्याएर चौथोपटक विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशव थापाले २६ हजार ८ सय ६५ मत ल्याएका छन् । नेम्बाङ र थापाबीचको मतान्तर ९ हजार ६ सय ५२ छ । गृहजिल्ला इलाम नै भएका  नेम्बाङले यही क्षेत्रबाट लगातार ३ पटक चुनाव जितेका थिए । उनले २०७० सालको संविधानसभा निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसका भेषराज आचार्यलाई पराजित गरे । २०६४ सालमा नेम्बाङले कांग्रेसका केशव थापा र  ०५६ मा कांग्रेसकै तत्कालीन शिक्षामन्त्री कुलबहादुर गुरुङलाई पराजित गरेका थिए ।

इलाम सदरमुकामकै हाकिमटोलमा २००९ साल फागुन २८ मा भएको हो । रामबहादुर र अपिन्द्रकुमारी नेम्बाङको कोखबाट जम्मिएका नेम्बाङ २०४८ र ०५२ सालमा राष्ट्रियसभाको सदस्य भएका थिए । उनी ०५१ कानुन, न्याय तथा संसदीय व्यवस्था, सामन्य प्रशासन र स्थानीय विकास मन्त्री भएका थिए ।  

प्रदेशसभातर्फ इलाम क्षेत्र नम्बर १ (क) मा नेकपा एमालेकी खिनु लङ्वा लिम्बू १८ हजार ८ सय ८६ मतसहित विजयी भएकी छिन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवेन्द्र राईले ९ हजार ३ सय २७ मत ल्याए । प्रदेशसभातर्फ इलाम क्षेत्र नम्बर १ (ख) मा नेकपा एमालेकै काजीमान कागते १७ हजार ९ सय ८६ मतसहित विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दुर्गाकुमार बरालले १० हजार २१ मत ल्याए । 

प्रदेशसभातर्फ  नै क्षेत्र नम्बर २ को (क) नेकपा एमालेका रामबहादुर मगर १९ हजार ८ सय ३८ मत ल्याएर विजयी भए । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १६ हजार २ सय ८६ मत ल्याएका छन् । प्रदेशसभातर्फ  नै क्षेत्र नम्बर २ को (ख) मा नेकपा माओवादीका धिरेन शर्मा १४ हजार ७ सय १६ मत ल्याएर विजयी भए । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ११ हजार ६५ मत ल्याएका छन् ।  शुक्रबार अपराह्न ३ बजे सुरु मतगणना आइतबार बिहान १० बजे सकिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सबै विजयी उम्मेदवारलाई प्रमाणपत्र वितरण गरेको छ । समानुपातिकतर्फको मतगणना आइतबार साँझ सुरु भएको छ । 

विगतमा इलाम 

२०४८ सालको निर्वाचनमा इलाम क्षेत्र नम्बर १ बाट एमालेका झलनाथ खनालले कांग्रेसका तोयानाथ भट्टराईलाई र क्षेत्र २ बाट एमालेकै मणिकुमार लिम्बूले कांग्रेसका कुलबहादुर गुरुङलाई पराजित गरेका थिए । २०५१ सालमा एमालेका खनालले उनै भट्टराई र क्षेत्र २ मा चाहिँ गुरुङले उनै लिम्बूलाई पराजित गरे । क्षेत्र ३ मा एमालेका पदम भण्डारीले कांग्रेसका केशव थापालाई हराएका थिए।

०५६ को निर्वाचनमा क्षेत्र १ बाट कांग्रेसका बेनुपराज प्रसाईंले एमालेका झलनाथ खनाललाई, २ बाट एमालेका सुवास नेम्बाङले कांग्रेसका कुलबहादुर गुरुङलाई र ३ बाट कांग्रेसका केशव थापाले एमालेका अगम बान्तवालाई पराजित गरे । २०६४ सालमा क्षेत्र १ बाट एमालेका खनालले कांग्रेसका उनै प्रसाईंलाई, २ बाट नेम्बाङले कांग्रेसका केशव थापालाई र ३ बाट कुलबहादुर गुरुङले एमालेका धर्म उप्रेतीलाई पराजित गरे । ०७० सालमा क्षेत्र १ बाट एमालेका खनालले कांग्रेसका हिमालय कर्माचार्यलाई, २ बाट एमालेका नेम्बाङले कांग्रेसका भेषराज आचार्यलाई र ३ बाट केशव थापाले एमालेका टेकहादुर राईलाई पराजित गरेका थिए । 

२०५४ सालको स्थानीय निकाय निर्वाचनमा जिल्लाका ४८ गाउँ विकास समिति र १ नगरपालिकामध्ये एमालेले १ नगरपालिकासहित ४५ गाविसमा कब्जा जमाएको थियो । भर्खरै (गत असार १४) सम्पन्न स्थानीय तह निर्वाचनमा जिल्लाका १० स्थानीय तहमध्ये एमालेले ७ मा प्रमुख र ९ वटामा उपप्रमुख जितेको छ । कांग्रेसले ३ स्थानीय तहमा प्रमुख र एउटामा उपप्रमुखमै चित्त बुझाएको छ। 

प्रकाशित: २४ मंसिर २०७४ १०:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App