८ वैशाख २०८१ शनिबार
राजनीति

खोटाङमा वाम गठबन्धनको 'क्लीन स्वीप'

खोटाङमा विजयी वाम गठबन्धनका उम्मेद्वारहरु बायाँबाट क्रमशः राजन राई, बिशाल भट्टराई र रामकुमार राई। तस्बिर: दमन राई

खोटाङ– खोटाङमा वाम गठबन्धनले लालकिल्ला कायम राखेको छ। प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको शनिबार साँझ घोषित अन्तिम नतिजा अनुशार एक वटा प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा सदस्यमा एमाले–माओबादी गठबन्धनका उम्मेद्वार विजयी भएका छन्।

प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धन (एमाले)का उम्मेद्वार बिशाल भट्टराई, प्रदेशसभा (क) मा एमालेका उम्मेद्वार राजन राई र प्रदेशसभा (ख) मा माओबादी केन्द्रका उम्मेद्वार रामकुमार राई कांग्रेस उम्मेद्वारलाई पछि पार्दै विजयी भएका हुन्।

२०४६ साल यता भएका पाँच वटा संसदीय निर्वाचनका आधारमा वाम (एमाले–माओबादी)को गढजस्तै देखिएको खोटाङमा वाम गठबन्धनले लालकिल्ला सुरक्षित गर्न सफल भएको हो।

प्रतिनिधिसभा सदस्यमा कांग्रेसकी उम्मेद्वार सरस्वती बजिमयलाई १३ हजार ७६५ मतले पछि पार्दै वाम गठबन्धनका साझा उम्मेद्वार भट्टराई बिजयी भएका हुन् । खोटाङका कुल मतदाता १ लाख २५ हजार १०८ मध्ये ७१ हजार ३११ मत खसेकामा भट्टराईले ३५ हजार ३७७ मत र बजिमयले २१ हजार ६१२ मत पाएकी छन्।

२०३८ सालमा अनेरास्ववियु पाँचौंबाट राजनीति सुरु गरेका भट्टराई र बजिय दुबै पुर्वसभाषद हुन्। भारी मतले विजयी भट्टराईको यो दोश्रो जित हो। बर्तमान एमाले बैकल्पिक केन्द्रीय सदस्य रहेका भट्टराई जिल्लामा भविष्य बोकेका र आशा लाग्दा नेताकारुपमा परिचित छन् । २०६४ सालको संबिधानसभाको पहिलो निर्वाचनमा पराजित उम्मेद्वार भट्टराई २०७० सालको निर्वाचनमा बिजयी भएका थिए । पराजित बजिमय पनि २०७० सालमा समानुपातिक सभाषद बनेकी थिइन्।

यस्तै, वाम गठबन्धनका उम्मेद्वार राजन १८ हजार ९३३ मत ल्याएर प्रदेशसभा सदस्यमा बिजयी भएका हुन् । निकटतम प्रतिद्धन्द्धी कांग्रेसका उम्मेद्वार सुवासकुमार पोखरेलले १३ हजार ४११ मत पाएको मूख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । राई र पोखरेलको मतान्तर ५ हजार ५२२ मत छ।

२०३९ सालदेखि अनेरास्वबियुबाट राजनितीमा होमिएका विजयी राई सफल गीतकार पनि हुन् । २०६४ साल र २०७० सालको संबिधानसभा निर्वाचनमा पाएको टिकटबाट बञ्चित हुनपुगेका राईले यसपल्ट प्रदेशसभामा बाजी मारेका हुन् । दुई–दुई पटक उम्मेद्वार पाउने निश्चित भएपछि आफ्नो चुनावी पोष्टर तयार पारेका राईले अन्तिममा टिकट नपाएपछि दुधकोसीमा पोष्टर बगाएका थिए । हाल एमालेका बैकल्पिक केन्द्रीय सदस्य रहेका राईका ‘जीन्दगी यो फूलैफूलको थुंगो हुँदैन’, ‘ऐठन होला–होला जस्तो लाग्यो’ चर्चित गीत हुन् । सालिन स्वभावका राजनले २०६२÷०६३ सालको जनआन्दोलनका क्रममा सात विद्यार्थी संगठनको नेतृत्व गर्दै राजाको ‘कु’ बिरुद्ध औंला ठड्याएका थिए।

प्रदेशसभा (ख)मा वाम गठबन्धनका रामकुमारले १८,३७२ मत ल्याउँदा कांग्रेसका उम्मेद्वार बिष्णुकुमारले १२,२३९ मत पाएका छन् । २०६४ सालको संबिधानसभाको पहिलो निर्वाचनमा सांसदमा बिजयी भएका राई पुःन प्रदेशसभा (ख) मा दोहोरिने अवशर पाएका हुन् । २०४१ सालमा मालेको विद्यार्थी संगठनबाट राजनितीमा सुरु गरेका राई खम्बूवान राष्ट्रिय मोर्चा, खम्बूवान र माओबादीनिकट लिम्बूवान मुक्ती मोर्चा मिलाएर बनेको किराती राष्ट्रिय मुक्तीमोर्चा हुँदै हाल माओबादी केन्द्रका पोलिटव्यूरो सदस्यको भूमीकामा छन्।

पार्टीभित्र सोझा र इमान्दार नेताको परिचय बनाएका राईसँग बहुदल आउनअघि २५ दिन जेलनेल भोगेको, जनयुद्ध कालमा बन्दुक बोकेर बिग्रेड कमिसार लगायत बनेको अनुभव छ । किराती मुक्ती मोर्चाबाट अलग्गिएपछि २०५९ सालमा बनेको किरात वर्कर्स पाटीका केन्द्रीय सदस्य बनेका राई २०६० सालमा पुःन किरात वर्कर्स पार्टी र माओबादीको एकता भएपछि सगरमाथा–जनकपुर व्यूरो सचिवालय सदस्य बनेका थिए । २०५६ सालमा सेनासँग भएको भिडन्तमा घाईते भएका उनले विभिन्न समयमा खोटाङ, भोजपुर, संखुवासभा, उदयपुरको इन्चार्जको जिम्मेवारी सम्हालि सकेका छन्।

यस्तो छ विगत
२०४६ सालमा बहुदल स्थापना भए यता पाँच वटा संसदीय निर्वाचन भए । २०४६ सालमा बहुदल स्थापना भए यता भएका ती निर्वाचन मध्ये २०४८ सालको पहिलो आम निर्वाचनमा खोटाङमा एमालेका टंक राई, कुलप्रसाद शर्मा फुयाँल र अशोक राई विजयी भए । यस्तै, २०५१ को मध्यावधि निर्वाचनमा एमालेकै टंक राई र अशोक राई विजयी भए । एमालेमा आएको फुटका कारण २०५६ सालको संसदीय निर्वाचनमा क्षेत्र नम्बर १ बाट कांग्रेसका सर्वधन राई र क्षेत्र नम्बर २ बाट कांग्रेसकै शिवकुमार बस्नेत विजयी भएका थिए।

सो निर्वाचनमा क्षेत्र नम्बर १ मा एमालेका कर्ण घलेले १२ हजार ८१४, मालेका गणेश राईले ६ हजार १४३ मत ल्याउँदा कांग्रेसका सर्वधन राईले १७ हजार २१६ मत ल्याएर विजयी भएका थिए । यस्तै, क्षेत्र नम्बर २ मा एमालेका बिशाल भट्टराईले १० हजार ५१३, मालेका हरि रोकाले ८ हजार ३१२ र कांग्रेसका शिवकुमार बस्नेतले १७ हजार ४२२ मत ल्याएका थिए।

२०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा आएपछि तत्कालिन नेकपा माओबादीका रामकुमार राई र समिता कार्की तथा २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा एमालेका बिशाल भट्टराई र पाँचकर्ण राईले बाजी मारेका थिए।
 

 

प्रकाशित: २४ मंसिर २०७४ ०४:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App