coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

ओखलढुंगामा वाम गठबन्धनको ‘क्लीन स्वीप’

खोटाङ– ओखलढुंगामा वाम गठबन्धनले ‘क्लीन स्वीप’को इतिहास रचेको छ ।  एक प्रतिनिधिसभा र दुई वटै प्रदेशसभा सदस्यमा वाम गठबन्धनका उम्मेद्वार विजयी भएको छ । प्रतिनिधिसभामा वाम गठबन्धन (एमाले) का उम्मेद्वार यज्ञराज सुनुवार, प्रदेशसभा (क) मा वाम गठबन्धन (एमाले) का उम्मेद्वार अम्बीरबाबु गुरुङ र प्रदेशसभा (ख) मा वाम गठबन्धन (माओबादी केन्द्र)का मोहन खड्का विजयी भएका हुन् । 

सुनुवार कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेद्वार रामहरि खतिवडाभन्दा ५ हजार २५३ मत बढी पाएर विजयी भएका हुन् । शनिबार बिहान घोषित अन्तिम मत परिणाम अनुसार वाम गठबन्धनका सुनुवारले ३२ हजार ५८० मत र कांग्रेसका खतिवडाले २७ हजार ३२७ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। जिल्लामा दुबै उम्मेद्वार उत्तिकै प्रभावशाली र लोकप्रिय नेताका रुपमा परिचित छन् । प्रभावका हिसावले कडा टक्कर हुने अनुमान विपरित सुनुवार भारी मतान्तरले प्रतिनिधिसभा सदस्यका लागि आफ्नो सिट सुरक्षित गरेका छन् । 

विद्यार्थी राजनीतिबाट पार्टीको राजनीतिमा होमिएका विजयी सुनुवार एमाले केन्द्रीय सदस्य तथा ओखलढुंगा इञ्चार्ज हुन् । अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा ठाकुर गैरेसँग पराजित भएपछि जिल्लाको राजनीतिमा छिरेका सुनुवारले ओखलढुंगाको इतिहासमा २०७० सालमा एमालेको पहिलो किल्ला गाडेको श्रेय कमाएका छन् । २०६४ सालमा सम्पन्न संविधानसभाको पहिलो निर्वाचनमा पराजय व्यहोरेका सुनुवारले २०७० को निर्वाचनमा कांग्रेसका बालकृष्ण दाहाललाई पछि पार्दै एमालेलाई पहिलो विजय दिलाएका थिए। 

यस्तै, प्रदेशसभा (क) मा कांग्रेसका उम्मेद्वार मित्रसेन दाहालभन्दा ७ हजार २ मत मत बढी ल्याएर गुरुङ विजयी भएका हुन् । शुक्रबार राती घोषित नतिजा अनुसार वाम गठबन्धनका गुरुङले १८ हजार ९०८ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी दाहालले ११ हजार ९०६ पाएको मुख्य निर्वाचन अधिकृतको कर्यालयले जनाएको छ । पहिलोपटक रुम्जाटारमा कम्युनिष्टलाई जिताएर चर्चामा आएका गुरुङ बढी सामाजिक कामबाट परिचित छन् । २०५६ सालको प्रतिनिधीसभा सदस्यको निर्वाचनमा नेकपा मालेको तर्फबाट क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका गुरुङ पुनः ८ वर्षपछि चुनावी मैदानमा आएका हुन्। 

प्रदेशसभा (ख) मा वाम गठबन्धनका खड्काले कांग्रेसका प्रदिप सुनुवारभन्दा १,७७४ मत बढी ल्याएका छन् । खड्काले १५,४८५ मत पाउँदा कांग्रेसका उम्मेद्वार प्रदिपले १३,७११ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सो क्षेत्रमा कांग्रेसका आधिकारिक उम्मेद्वारले बागी उम्मेद्वारको सामना गर्नु परेको थियो । फरक क्षेत्रका उम्मेद्वारलाई ल्याएर उम्मेद्वार बनाएको असन्तुष्टीमा कांग्रेसका युवा नेता ज्ञानेन्द्र रुम्दालीले प्रदिपविरुद्ध बागी उम्मेद्वारी दिएका थिए । रुम्दालीले १,८५८ मत काटेका छन् । मत परिणाम हेर्दा रुम्दालीले काटेको मतले प्रदिपलाई प्रत्यक्ष असर पुगेको देखिएको छ। रुम्दालीले फरक क्षेत्रका नेतालाई फरक क्षेत्रको टिकट दिएको विरोधमा २०६४ सालको निर्वाचनमा पनि आधिकारिक उम्मेद्वार बालाराज कार्की विरुद्ध उम्मेद्वारी दिएका थिए। 

प्रकाशित: २४ मंसिर २०७४ ०४:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App