८ वैशाख २०८१ शनिबार
राजनीति

काँग्रेस नेता केसीसँग युरोपेली प्रतिनिधिमण्डल भेट

काठमाडौँ – नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीसँग युरोपेली संघको निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डलले आज उनकै निवास गोंगबुमा शिष्टाचार भेट गर्‍यो। 

युरोपेली सांसद नीना गिलले नेतृत्व गरेको चार सदस्यीय प्रतिनिधिमण्डलले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन पर्यवेक्षणको सिलसिलामा सरोकारवाला पक्षसँगको भेटघाट गर्ने क्रममा पूर्वमन्त्री एवं काँग्रेस नेता केसीसँग भेटेको हो। 

यसअघि सो प्रतिनिधिमण्डलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आजै भेट गरेको र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट्ने कार्यक्रम रहेको सो प्रतिनिधिमण्डलमा संलग्न सोनी राजभण्डारीले जानकारी दिए। 

सो अवसरमा प्रतिनिधिमण्डल प्रमुख गीलले समावेशी प्रजातन्त्र, मानवअधिकार र नेपालको पछिल्लो राजनीतिक स्थितिबारे जिज्ञासा राख्दै संसदीय मूलधारमा आइसकेको वाम गठबन्धन र नेपाली काँग्रेस पार्टीबीचको भिन्नताका बारेमा जानकारी मागेका थिए। 

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा निर्वाचन आचारसंहिता पालना भए÷नभएको विषयमा ध्यानाकर्षण गर्दै गिलले निर्वाचनपछि चुनावी परिणाम र नेपालको भावी मार्गचित्रबारे जिज्ञासा राखे। 

काँग्रेस नेता केसीले निर्वाचन आयोगलाई साधनस्रोत सम्पन्न गरी अझ जवाफदेही र विश्वसनीय बनाउनुपर्नेमा जोड दिँदै प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना हुन नसकेको तथा सिद्धान्त र निष्ठाको राजनीति समाप्त हुन लागेको भनी चिन्ता व्यक्त गरे। 

उनले संसदीय व्यवस्था स्वीकार गरी निर्वाचन प्रक्रियामा समावेश भएको नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले संवैधानिक व्यवस्था विपरीत अहिले राष्ट्रपतीय प्रणालीको वकालत गर्न थाल्नु राजनीतिक बेइमानी हो भने। 

काँग्रेस नेता केसीले वाम गठबन्धनसमेतको सक्रिय सहभागितामा ल्याइएको विद्यमान संविधानलाई कार्यान्वयन लानुपर्ने समयमा नेतृत्व तहबाटै राष्ट्रपतीय प्रणाली कायम गर्ने र आगामी ५० वर्षसम्म एकछत्र शासन गर्ने भनाइ आउन थाल्नु नेपाल र नेपालीको लागि दुर्भाग्य भएको पनि बताए। 

लोकतन्त्र, मानवअधिकार, वाक् स्वतन्त्रताजस्ता विषयमा काँग्रेसले कहिल्यै कसैसँग सम्झौता नगर्ने स्पष्ट गर्दै उनले भने – “संक्रमणकालीन अवस्थाको अन्त्यसँगै विकास र समृद्धिका पक्षमा काँग्रेसले घोषणापत्र ल्याएको छ। देशभित्र लगानी अनुकूल वातावरण बनाउँदै स्वदेशी र विदेशी पूँजी आकर्षण गरी आमजनताको जीवनस्तर सुधार गर्न काँग्रेस संकल्पित छ।” 

प्रकाशित: २० मंसिर २०७४ १०:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App