१० आश्विन २०७७ शनिबार
राजनीति

'काम नगरे नेता फेरौं, भोट हाल्न नछोडौं'

जयबहादुर चेपाङ

चितवन—चितवनको शक्तिखोर बजार नपुग्दै गैरीबारी चोकमा एउटा सामान्य चिया पसल छ। सो पसलमा मिठो जेरी पनि बन्ने गर्छ। निर्वाचनको मौन अवधि सुरु भएको दिन मंगलबार बिहान सो पसल पुग्दा मान्छेहरु कोही थिएनन्। पसल मालिक जयबहादुर प्रजा अर्थात चेपाङ भन्दै थिए ‘हेर्नु न आज चीनी नभएर न चीया पकाउन पाइयो। न जेरी बनाउन।’

चेपाङहरु सिमान्तकृत वर्गमा पर्ने नेपालका अल्पसंख्याक आदिवासी समुदाय हुन्। यो जातिको मुख्य बसोबास चितवन, मकवानपुर, धादिङ र गोरखाको पहाडी क्षेत्रमा छ। शिक्षा र अन्य सुविधा उपलब्ध नभएका कारण चेपाङहरु अन्य समुदायभन्दा पछाडि छन्। निर्वाचनको माहोलले देश दुनियाँ ढाकेका बेलामा यो अल्पसंख्यक चेपाङ समुदायले के सोच्दै छ? यो प्रश्नले जयबहादुर पहिला फिस्स हाँसे।

‘केही भएकै छैन भन्ने हैन। भएको छ नि। यसो हेर्दा धेरै थोक भएको छ। तर नेताले गर्छु भनेको बाचा कसम थोरै पनि पुरा हुँदैन। कुरो बिग्रेको यहीँ हो। त्यसैले जनतालाई रिस उठेको हो। नेताले गलत गरे भनेर हामीले भोटै नदिने हुँदैन। बरु काम गर्ने खोजेर भोट हाल्ने हो’ उनले भने।

‘उमेर भएदेखि भोट हाल्दै आएको हो। अब पनि हाल्ने नि किन नहाल्ने’ प्रश्न भुँइमा खस्न नपाउँदै जयबहादुरले भने। चुनावको चर्चामा पस्नुभन्दा पहिले नाम उमेर सोध्दा जयबहादुरले रमाइलो गरी आफ्नो उमेर भनेका थिए ‘तीन मुरी छ पाथी।’ मुरीमा २० पाथी हुन्छ। उनको उमेर ६६ पाथी अर्थात ६६ वर्ष पुगेको रहेछ। अहिलेसम्म कति चुनाब भयो कति पटक मत हालियो उनले सम्झन सकेनन्।

‘जे होस चुनाब हुँदा सवै जाग्छन्। भोट माग्दै आउँछन्। त्यसैले दिउँ दिउँ लाग्छ। लाइन मै बसेर भोट हाल्ने गर्छु’ जयबहादुरले भने। छाप्रैमा भए पनि होटल राखेर चिया र जुलेबी अर्थात जेरी बेच्ने चेपाङहरु निकै कमै भेटिन्छन्। प्राय चेपाङहरु पहाडको पाखा पखेरोमा बस्छन्। खोरीया फाँडेर मकै रोप्छन्। आफ्नो खेतको उब्जनीले लामो समयसम्म खान पुग्ने चेपाङहरु अति नै कम छन्।

पढेका लेखेका धेरै नभएका कारण चेपाङहरु सरकारी होस वा निजी जागिर खाने पनि कमै छन्। न त कमाउन भन्दै अलि टाढा वा विदेश नै जानेहरु प्रशस्तै छन्। आफ्नै पाखा पखेरामा मिहेनत मजदुरी गर्ने र सके कन्दमुल, सिस्नो आएर छाक टार्नेहरु धेरै नै छन्। आफ्नो जीवनमा धेरै चुनाब देखेका जयबहादुरले चेपाङको अवस्था भने खासै फेरिएको देखेका छैनन्।

‘चुनाबका बेला त नेताले के के भन्छन् भन्छन्। उनीहरुले भनेका कुरा पूरा हुने भए त सुखसयलले भरिपूर्ण नै भइन्थ्यो। तर चुनाब जितेपछि नेताहरु मन्तरी (मन्त्री) हुन्छ। हामी भने मुन्तीरको मुन्तीरै छौं’ जयबहादुरले भने। अघिल्लो पटक स्थानीय तहको निर्वाचन हुँदा चेपाङ समुदायका थुप्रै उम्मेदवार थिए। जितेका पनि थिए। त्यति बेला उनी धेरै नै खुसी भएका थिए।

अहिले उम्मेदवारको भिडमा उनले कोही चेपाङ भेटेनन्। त्यसो त चितवनका कुल ९५ जना उम्मेदवारमध्ये एकजना चेपाङ उम्मेदवार थिए। तर ती उनको क्षेत्रका थिएनन्। त्यसैले जयबहादुरले भेट्न पाएनन्। समयसँगै चेपाङहरु पनि टाठाबाठा हुँदै आएका छन्। तर चुनाबमा भने किन कम उठ्छन भनेर जयबहादुरले गम खाँदैछन्।

‘केही नभएको पनि हैन। यही शक्तिखोरमा चेपाङलाई पढाउन भनेर छात्राबास खुलेको छ। गाउँ गाउँमा बाटो पुगेको छ। देश त पहिलाको भन्दा फेरिएको छ। तर चेपाङ खासै फेरिएको भने छैन। केही टाठा भएका भने छन्। धेरै नै टाठा भएको भए त चुनाबमा पनि उठ्दा हुन्’ उनले भने। चुनाबमा उठ्दा धेरै पैसा खर्च हुन्छ भन्ने पनि नसुनेका हैनन्।

‘अब पैसा खर्च गर्नुपर्छ भन्ने पनि सुनेको हो। पैसा नभएर चेपाङ नउठेको पो कोही झै पनि लाग्छ। तर पैसा पैसा भन्छन् नेताले खै कहाँ खर्च गरेका छन त पैसा ? पैसाले गर्दा फलानोले चुनाब जित्यो भन्छन्। गरिबलाई पैसा बाड्यो भन्छन्। हामी जस्तो गरिब कोही छैन। तर यत्रो चुनाब भयो कहिल्यै हामीले नेताले दिएको पैसो भेटेको छैन’ जयबहादुरले भने।

गरिबको नाममा देशमा राजनीति धेरै भए पनि खास गरिबहरुको अवस्था नफेरिएको देख्दा उनी दिक्क छन्। आफ्नै पसल अगाडि केही बेर घोरिदा केही न केही फेरिँदै गएको देख्छन्। ‘पहिला बाटो बिजुली, थिएन। गाडी आउँदैन थियो। अहिले त धेरै फेरियो’ पसलबाटै देखेको परिवर्तन बताए उनले।

देश फेरिँदै गएको देख्दा मत हाल्ने जाँगर चल्ने गरेको उनले बताए।

‘केही भएकै छैन भन्ने हैन। भएको छ नि। यसो हेर्दा धेरै थोक भएको छ। तर नेताले गर्छु भनेको बाचा कसम थोरै पनि पुरा हुँदैन। कुरो बिग्रेको यहीँ हो। त्यसैले जनतालाई रिस उठेको हो। नेताले गलत गरे भनेर हामीले भोटै नदिने हुँदैन। बरु काम गर्ने खोजेर भोट हाल्ने हो’ उनले भने। लामो समयदेखि मत हाल्दै आए पनि सधै एकै पार्टीलाई मत नदिएको उनले सुनाए।

प्रकाशित: २० मंसिर २०७४ ११:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App