८ वैशाख २०८१ शनिबार
राजनीति

उच्च सुरक्षासहित तयारी पूरा

पश्चिमेली ब्युरो

नेपालगन्ज- दोस्रो चरणमा निर्वाचन हुने ५, ६ र ७ नम्बर प्रदेशका जिल्लामा उच्च सुरक्षा सतर्कतकासाथ तयारी अन्तिम चरणमा पुगेको छ । मंगलबार साँझसम्म सबै निर्वाचनस्थलमा बलियो सुरक्षासाथ मतदान सामग्री र कर्मचारी पुगेका छन् ।

दोस्रो चरणको निर्वाचन हुने ६ नम्बर प्रदेशका तीन जिल्ला सुर्खेत, दैलेख र सल्यानमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको सुर्खेतस्थित क्षेत्रीय प्रशासन कार्यालयले जनाएको छ । तीन जिल्लाका छ सय ३९ मतदान केन्द्रमा कर्मचारी, निर्वाचन सामग्री र सुरक्षाकर्मी पुगेर मतदाता परिचयपत्र वितरणको काम सुरु भएको क्षेत्रीय प्रशासक सुरेश प्रधानले जानकारी दिए । ‘निर्वाचनलाई स्वच्छ, भयरहित र शान्तिपूर्ण बनाउनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ,’ क्षेत्रीय प्रशासक सुरेश प्रधानले भने, ‘तीनवटै जिल्लाका सबै मतदानस्थलमा कर्मचारी, निर्वाचन सामग्री र सुरक्षाकर्मी पुगेर आफ्नो काम सुरु गरिसकेका छन् ।’

निर्वाचन सुरक्षाका लागि करिब १२ हजार सुरक्षाकर्मी परिचालन गरिएका छन् । तीन तहको सुरक्षा घेरा बनाएर नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान र म्यादी प्रहरी खटाइएको छ ।

क्षेत्रीय प्रशासक प्रधानका अनुसार ६ नम्बर प्रदेशका तीन र ५ नम्बर प्रदेशका चार जिल्लाका लागि नेपाली सेनाका दुई हेलिकोप्टर र तीनवटै सुरक्षा अंगका उद्धार टोलीलाई सुर्खेत विमानस्थलमा राखिएको छ । ‘कुनै घटना भइहाले तत्कालै थप बल पठाउनका लागि सेना, सशस्त्र र प्रहरीको छुट्टाछट्टै उद्धार टोली र दुईवटा हेलिकोप्टरको व्यवस्था गरेका छौं,’ उनले भने, ‘यसका साथै १० देखि २० मिनेटभित्र पुग्न सक्नेगरी सेनाको बम डिस्पोज टोली पनि ठाउँठाउँमा खटिएको छ ।’

६ नम्बर प्रदेशका तीन सय ८५ मतदानस्थलमध्ये ९५ मतदानस्थल अति संवेदनशील छन् । सल्यानका ७०, सुर्खेतका २० र दैलेखका पाँच मतदानस्थललाई अति संवेदनशील मानिएको छ । ‘भौगोलिक विकटता, विप्लव माओवादीको प्रभाव क्षेत्र र दलहरूको तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएका ठाउँलाई सुरक्षाका हिसाबले अति संवेदनशील मनेर सोहीअनुसारको रणनीति तय गरेका छौं,’ उनले भने, ‘समग्रमा शान्तिपूर्ण र भयरहित निर्वाचन सम्पन्न गर्न हामी सक्षम छौं ।’

७ नम्बर प्रदेशका सबै मतदान केन्द्रमा सुरक्षाकर्मीसहित निर्वाचन सामग्री र कर्मचारी पुगिसकेका छन् । दोस्रो चरणअन्तर्गत प्रदेश ७ मा कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र अछाममा निर्वाचन हुँदैछ । पाँच जिल्लामा करिब २० हजार सुरक्षाकर्मी परिचालन गरिएको सुदुरपश्चिका क्षेत्रीय प्रशासक लक्ष्मीराम पौडेलले बताए । ‘शान्तीपूर्ण र सौहार्दपूर्ण वातावरणमा मतदान सम्पन्न गराउन कडा सुरक्षा व्यवस्था गरिएको छ,’ उनले भने, ‘निर्वाचनको सम्पूर्ण तयार पनि भइसकेको छ ।’

पाँच जिल्लका छ सय ८४ मतदानस्थलमा एक हजार तीन सय २९ मतदान केन्द्र रहेका छन् । यीमध्ये दुई सय ४२ मतदानस्थल संवेदनशील रहेका क्षेत्रीय सुरक्षा समन्वय समितिले जनाएको छ ।

मतदान केन्द्र र मतदानस्थलमा तीन घेरामा सुरक्षाकर्मी परिचालन गरिएको छ । मतदानस्थलमा म्यादी प्रहरी र नेपाल प्रहरी खटाइएको छ भने मतदानस्थल वरिपरि सशस्त्र प्रहरी राखिएको छ । केही दूरीमा नेपाली सेना परिचलान गरिएको छ । यसैगरी आवश्यक परेका ठाउँमा परिचालनका लागी रिर्जव फोर्सको समेत व्यवस्था गरिएको क्षेत्रीय प्रशासक पौडेलले बताए । बिभिन्न ठाउँमा नेपाली सेना र सशस्त्र प्रहरीले अस्थायी शिविर स्थापना गरेका छन् ।

७ नम्बर प्रदेशअन्तर्गत पर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा सुरक्षा व्यवस्था कडा पारिएको छ । देउवा सोमबारदेखि डडेल्धुरा सदरमुकाममा छन् । निर्वाचन अवधिभर कुनै अप्रिय घटना नहोस् भन्दै जिल्ला सदरमुकाम आउने सम्पूर्ण नाकामा प्रहरीले चेकजाँचमा कडाइ गरेकोे । गाउँमा पनि सुरक्षा व्यवस्था चुस्त पारिएको प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले बताए ।  भारतसँग जोडिएका सीमाना र नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ता बढी भएका स्थानमा सुरक्षा संयन्त्रलाई एकीकृत रूपमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

डडेल्धुरामा ७७ मतदानस्थल र एक सय १७ मतदान केन्द्र छन् । निर्वाचनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी करिब साढे दुई हजार सुरक्षाकर्मी खटिएका छन् । सुरक्षाको संबेदनशीलताको आधारमा जिल्लाका विभिन्न मतदानस्थलमा मोबाइल सुरक्षा तथा बम डिस्पोजल टोलीसमेत परिचालन गरिएको छ।

५ नम्बर प्रदेशअन्तर्गत पर्ने रुपन्देहीमा निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न विशेष सुरक्षा रणनीति तयार गरी सुरक्षाका सबै प्रबन्ध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मतदानस्थल, उम्मेदवार र मतदाताको सुरक्षाका लागि जिल्लामा म्यादी, नेपाल प्रहरी, सशस्त्र, सेना, राष्ट्रिय अनुसन्धान विभागका झण्डै पाँच हजार सुरक्षाकर्मी खटिइसकेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताए । रुपन्देही प्रहरीले पाँच दिनअघि बुटवल नजिकै भारतबाट भित्र्याइएको विस्फोटक पदार्थ लोड गरिएका दुई सय ५० थान इलेक्ट्रिकल डेटोनेटर बरामद गरेको थियो । बुटवल क्षेत्रबाट ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद भएपछि रुपन्देहीका सबै निर्वाचनस्थललाई संवेदनशीलको सूचीमा राखेर सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी प्रमुख एसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।

५ नम्बर प्रदेशको बाँके प्रहरीले निर्वाचनलाई ध्यानमा राखी सुरक्षा व्यवस्था बलियो बनाएको छ । सीमानाकाका साथै मतदानस्थल र राजमार्गमा सुरक्षा कडाइ गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रशासनका अनुसार सोमबार राति १२ बजेदेखि नेपाल–भारत सीमानाका बन्द गरिएको छ । मतदान हुनुभन्दा ७२ घण्टाअघि नाका बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए । उनका अनुसार सोमबार दिउँसो बाँके प्रहरीले सीमा क्षेत्रमा कुकुरको प्रयोग गरी आवतजावत गर्ने सवारीसाधन जाँचमा कडाइ गरेको थियो ।

प्रजिअ केसीले शान्तिपूर्ण र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न जिल्लाको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको बताए । ‘मतदान केन्द्रको अवस्था हेरेर हामीले पर्याप्त मात्रामा सुरक्षाकर्मी परिचालन गरेका छौँ,’ उनले नागरिकसँग भने, ‘मतदान केन्द्रको भित्री सुरक्षा जिम्मा नेपाल प्रहरी र म्यादी प्रहरीलाई दिइएको छ भने बाहिरी क्षेत्रको सुरक्षा जिम्मा सशस्त्र प्रहरी र नेपाली सेनाले लिएको छ ।’ यसका साथै ठाउँठाउँमा राष्ट्रिय अनुसन्धानका कर्मचारी पनि परिचालित हुनेछन् । ‘सबै मतदान केन्द्रमा सुरक्षाकर्मी पुगिसकेका छन्,’ प्रजिअ केसीले भने ।

जिल्ला सुरक्षा समितिले जिल्लाका एक सय एकवटा मतदान स्थललाई अति संवेदनशीलको सूचीमा राखेको छ । ‘राजनीतिक दलबीच विचित्र प्रतिस्पर्धा हुने, दुर्गम, सीमाक्षेत्र, विवाद भइरहने ठाउँका हिसाबले ती स्थानलाई अति संवेदनशीलको सूचीमा राखिएको हो,’ प्रजिअ केसीले भने, ‘त्यस्ता स्थानको शान्ति, सुरक्षामा विशेष सावधानी अपनाइएको छ ।’

बाँकेमा कुनै पनि व्यक्ति, समूहले मतदातामा डर, त्रास र धम्की दिन नसक्ने बताउँदै प्रजिअ केसीले उम्मेदवार र मतदाताको सुरक्षा व्यवस्था वलियो पारिएको दाबी गरे । ‘बाँकेमा कसैले पनि अपराधिक क्रियाकलाप गर्न सक्दैन, यहाँको सुरक्षा व्यवस्था अत्यन्तै चुस्त पारेका छौँ, ढुक्क भएर मतदान गर्न सक्नुहुन्छ,’ केसीले भने । मौन अवधिको समयमा मतदातालाई प्रभावित पार्ने काम कसैले गरेमा कानुनको बर्खिलाप हुने निर्वाचन आचारसंहिता अनुगमन समिति सदस्यसमेत रहेका प्रजिअ केसीले बताए । ‘उम्मेदवारहरू आफै जिम्मेवार हुनुहुन्छ, त्यस्तो कार्य उहाँहरूले पक्कै पनि गर्नुहुनेछैन,’ उनले भने ।

कपिलवस्तुमा दुई सय सय ३३ मतदानस्थलमध्ये एक सय ५३ मतदानस्थल अतिसंवेशनशीलकाो सूचीमा छन् । जिल्लामा चार दिनयता सातवटा बम विष्फोटका घटना भएका छन् । प्रमुख जिल्ला अधिकारी मदन भुजेलले निर्वाचनका लागि भरपर्दो सुरक्ष मिलाइएको र बम विस्फोट गराउने समूहको खोजी भइरहेको बताए ।

उनका अनुसार निर्वाचनमा म्यादी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी पाँच हजार तीन सय ४१ सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

हवाई गस्ती गरिने

मतदानको दिन निर्वाचन सुरक्षाका लागि हवाई गस्तीसमेत गर्ने प्रबन्ध मिलाइएको छ । सुदरपश्चिम क्षेत्रीय प्रशासक पौडेलले कुनै पनि मतदानस्थलमा कुनै हिंसात्मक घटना भए वा कहिँकतै सुरक्षाकर्मी आवश्यक परे हेलिकोप्टरबाट तुरुन्त पठाउने प्रबन्ध मिलाइएको बताए ।

मंगलबार क्षेत्रीय सुरक्षा समितिका  संयोजकसमेत रहेका क्षेत्रीय प्रशासक, निमित्त पृतनापति, नेपाल प्रहरीका एआइजी र सशस्त्र प्रहरी बलका डिआइजीको टोलीले पाँचवटै जिल्लाका केही दुर्गम मतदान केन्द्रमा पुगेर सुक्षा व्यवस्थाबारे जानकारी लिएका थिए ।

७ नम्बर प्रदेशका प्रहरी प्रमुख एआइजी माधव नेपालका अनुसार निर्वाचन सुरक्षाका लागि तालिमप्राप्त कुकुर पनि परिचालन गरिएको छ । प्रदेश नम्बर ७ मा सबैभन्दा संवेदनशील जिल्ला कैलाली मानिएको छ भने दोस्रोमा कञ्चनपुर मनिएको छ ।

नाकाहरु सुनसान

निर्वाचन सुरक्षालाई ध्यान दिएर पश्चिम तराईका भारतसँग जोडिएका सीमानाका बन्द गरिएका छन् । सोमबार राति १२ बजेदेखि सबै नाका बन्द गरिएको सम्बन्धित जिल्ला सुरक्षा समितिले जनाएका छन् ।

रुपन्देहीसँग जोडिएको प्रमुख नाका बेलहियासहित अन्य सहायक नाका ७२ घण्टाका लागि सिल गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताए । नेपाल–भारत सीमा जोडिएका जिल्लाका साढे ५९ किलोमिटर दूरी सबै बन्द गरी सुरक्षा व्यवस्था कडा पारिएको उनले जानकारी दिए । उनका अनुसार एम्बुलेन्स, पर्यटक तथा अत्यावश्यक अवस्थामा बाहेक अहिले रुपन्देहीका सीमानाका बन्द छन् ।

सुदूरपश्चिम तराईका कैलाली र कञ्चनपुरका खुला सिमा बन्द गरिएका छन् । बन्द गरिएका सिमामा सशस्त्र प्रहरीले कडाइ गरिरहेको छ । सयौंको संख्यामा आहोरदोहोर भइरहने धनगढीको मुख्य नाका गौरीफन्टा र महेन्द्रनगरको मुख्य नाका बनवासा सुनसान छ । सोमबार साँझ ५ बजेदेखि आकस्मिकबाहेक सम्पूर्ण सवारी आवागमन बन्द गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए । ‘बिरामी तथा अत्यावश्यककाममा जानुपर्दा प्रशासनको सिफारिसमा जान दिने गरिए पनि अरुको आवतजावत पूर्णरुपमा निषेध गरिएको छ,’ उनले भने ।

त्रिनगर–गौरीफन्टा, खक्रौलालगायत सबै नाका बन्द गरिएका छन् । खुला सीमाका कारण निर्वाचनमा कुनै असुरक्षा नहोस् र आपराधिक क्रियाकलाप नहोस् भनेर दुई देशका समकक्षी सुरक्षा अधिकारीबीचको सहमतिले ७२ घन्टा नाका बन्द गरिएको प्रजिअ रिजालको भनाइ छ । उनका अनुसार निर्वाचनको सुरक्षालाई लिएर नाकामा दुई देशका सृुरक्षाकर्मीले संयुक्त गस्ती गर्ने, शंकास्पद व्यक्तिका बारेमा सूचना आदानप्रदान गर्ने र आपराधिक गतिविधि रोक्न समन्वय गर्ने सहमति भएको थियो ।

एक सय एक किलोमिटर क्षेत्र भारतसँग खुला सीमाना जोडिएको कैलालीमा २३ वटा नाका छन् ।

 

(दिलबहादुर छत्याल– धनगढी, नगेन्द्र उपाध्याय– सुर्खेत, अर्जुन ओली– नेपालगन्ज, पुस्कर भण्डारी– डडेल्धुरा, रेखा भुसाल– भैरहवा र किरणमान बज्राचार्य– कपिलवस्तु)

प्रकाशित: २० मंसिर २०७४ ०२:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App